जनकपुरधाम : मधेस प्रदेशका सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रदेशसभा सदस्यहरूमध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण रोकिएको छ। मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरूले नेपाली भाषामा शपथ लिएका छन्। ४९ प्रदेशसभा सदस्यहरूले मातृभाषामा शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ। बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन्।
बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन्। मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सात जना प्रदेशसभा सदस्यहरूले भोजपुरी भाषामा शपथ लिएका हुन्। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन। थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन्।
मगही र हिन्दी भाषामा २/२ जनाले शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन। उर्दु भाषामा विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन्।
नवनिर्वाचित प्रदेशसभा सदस्य माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा गर्न बाँकी रहेकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ।