Thursday 20th of June 2024

चुरे अभियन्ताको हत्या मुद्दा : पेसी तोक्ने, न्याय नदिने ?

0 Shares

विजयकुमार सिंह

ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरकी चन्द्रकला देवी महतोलाई दिलीप नाम सुन्नेबित्तिकै छटपटी हुन्छ। २०७६ साल पुस २५ गतेको घटना सम्झन्छिन् र गहभरी आँसु पार्दै प्रश्न गर्छिन्, ‘मेरो छोरा दिलीपको आत्माले कहिले शान्ति पाउँछ ? अनि हामीले अब न्याय पाउँदैनौं ?’

छोरोको सम्झनामा जतिखेर पनि एकान्तमा टोलाइरहन्छिन्। त्यो समय मिर्मिरेमै २४ वर्षीय ओमप्रकाश(दिलीप) महतोको हत्या भएको घटना उनको मानसपटलमा अझै ताजै छ। विभिन्न समयमा दिलीपले बोलेका एक–एक शब्द उनको मनमस्तिष्कमा खेलिरहेको हुन्छ। भन्छिन्, ‘छोराको तिनै शब्दहरूले मन पोलिरहन्छ।’

दिलीपको त्यस समयमा क्रसर उद्योग सञ्चालकको संलग्नतामा हत्या भएको थियो। उनी पर्यावरण अभियान्ता थिए। घरनजिकै रहेको खोलामा भइरहेको अबैध उत्खनन रोक्न जाँदा उनको कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो। चुरे दोहन रोक्नुपर्ने, अबैध उत्खनन् र क्रसर उद्योग बन्द गर्नेपर्ने उनको चोटिलो आवाज नै उनको मृत्युको कारण बन्यो। आमा चन्द्रकला भन्छिन्, ‘मेरो छोराको त्यो कुराले उनीहरूलाई घाटा हुने भएकाले हत्या गरे। सरकार धेरै फेरियो तर, न्याय पाएनौं।’

घटनामा संलग्नको कारबाही गरी पाउँ भनेर तीन वर्षअघि पीडित परिवारले दायर गरेको मुद्दामा १८ पटक पेसी चढ्यो। तर, ९ पटक सुनुवाइ स्थगित भयो। बाँकी ९ पटकको पेसीमा खाली साक्षी बुझ्ने र बकपत्रको नाममा मुद्दालाई लम्ब्याउने र अल्झ्याउने प्रपञ्चले आफूहरू आजित भइसकेको दिलीपकी बहिनी लक्ष्मी बताउँछिन्। उक्त मुद्दामा पछिल्लो पटक गत मंसिर २९ गते धनुषा जिल्ला अदालतका न्यायधीश भीष्मराज प्रसाईंले ‘घटना विवरण कागज गर्ने कृष्णकुमार महतोको बकपत्र भएको नदेखिँदा निजलाई उपस्थित गराई बुझ्नू’ भनेर आदेश दिएका छन्। ठ्याक्कै यही आदेश गत जेठ २४ मा पनि न्यायाधीश परशुराम भट्टराईले गरेका थिए। घटना विवरण कागज गर्ने एक साक्षीको बकपत्र गराउन नसकेको अदालतले सात महिनापछि फेरि उही आदेश गरेको छ।

‘सात महिनाअघि नै भएको आदेशअनुसार अदालतले बकपत्र नगराएर फेरि त्यही आदेश दिनु लाचारीपन हैन र ? यो मुद्दालाई अल्झाउन खोजेको हो भन्ने प्रस्ट बुझिन्छ नि’, आक्रोश पोख्दै मृतककी बहिनी लक्ष्मी भन्छिन् ‘कम्तीमा हाम्रो न्यायका लागि न्यायालय त एक्टिभ हुनुपर्ने हो। तर, खोई, अदालतले मुद्दा समयमै फैसला गर्न किन नचाहेको हो ? हामी जस्तालाई बुझ्न धेरै गाह्रो छ।’

दिलीपको हत्यापछि उनलाई पर्यावरण सहिद घोषणा गरी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धनुषाको ढल्केबरस्थित सडकमा प्रदर्शन गर्दै विद्यार्थीहरू। तस्बिर : राजकरण महतो 

दिलीपको हत्या भएको एक महिनासम्मको अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उद्योग सञ्चालक विपिनलगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो। अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिमजीवित रहेसम्म कैद सजाय माग गरिएको छ।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए। तर, यसअघि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र जितेन्द्रलाई मात्रै मुद्दाको फैसला नहोउन्जेलसम्म थुनामा राख्न आदेश भई उनीहरू कारागारमा छन्। रोशन, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन्।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद साधारण तारेखमा बसे हुने गरी २०७७ असोज २६ मा जिल्ला अदालतबाट अनुमति पाई उनले निष्फिक्री पुनः क्रसर सञ्चालनमा ल्याएका छन्। दिलीप हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्नसमेत माग गरिएको छ। गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न माग गरिएको थियो।

तर, पीडित परिवारलाई न्याय दिनुको साटो क्रसर उद्योगको पक्षमा ३१ चैत २०७७ मा न्यायाधीशद्वय लेखनाथ घिमिरे र रमेश ढकालले कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू र नगराउनू  भनेर दिलीपका परिवारका नाममा अन्तरिम आदेश जारी गरे। पीडित परिवारलाई दुःख दिने मनसायले पीडक तर्फबाट दायर भएको मुद्दामा आदेश गर्न अदालतले रत्तिभर ढिलाइ गरेन। तर, छोरो गुमाएको एक परिवारले न्यायका लागि न्यायालयमा भौतारी रहँदा पनि उनीहरूको मुद्दा लम्ब्याउने खेलमा अदालत लिप्त रहेको ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानका सचिव फुलगेन मगही बताउँछन्। ‘

५० लाख बढी ऋण, कर्जामै चल्छ परिवार

बुढेसकालमा बलियो सहारा हुन्छ भन्ने आशमा छोरा दिलीपलाई रामजीवनले इन्जिनियर पढाइरहेका थिए। ‘सहारा हुन्छ सोचेको थिएँ, ऋण गरेरै भए पनि छोरालाई इन्जिनियर बनाएर पैसा कमाउन जापान पठाउने चाहना थियो’, दिलीपलाई सम्झिँदै रामजीवन भन्छन्, ‘सोचेको सपना त तुहियो–तुहियो, छोरोलाई पापीहरूले खोसेर बुढेसकालमा मलाई बेसहारा बनाइदियो। अहिले हाम्रो पूरा परिवारनै बेसाहारा भइसकेको छ।’

दिलीपको हत्यापछि उनको परिवार झनझन् ऋणको भारीले थिचिँदै गएको छ। ‘दिलीप र अरू भाइबहिनीको पढाइमै २० लाख जति ऋण भइसकेको थियो। छोराछोरीको पढाइ अहिले पनि चलिरहेको छ। भर्खरै एउटी छोरीको विवाहमा १५ लाख ऋण थपियो।’

खाने लाउनेदेखि सबै घरव्यवहार ऋण कर्जामै चलिरहेको चन्द्रकला सुनाउँछिन्। श्रीमान् दमका रोगी छन्। ‘हेर्दाहेर्दै बेहोस भइहाल्नुहुन्छ। साउनमा आईसीयूमा उपचार भएको थियो। अहिले ५० लाखभन्दा बढी ऋण भइसकेको छ’, बिलौना गर्दै चन्द्रकला भन्छिन्, ‘मेरो राजा छोरोले कसको के बिगारेको थियो ? दुश्मनहरूले छोरा खोसेर हामीलाई बर्बाद बनायो। हे भगवान् ! हामी कसरी बाँच्ने ? हाम्रो परिवार कसरी चल्छ ? कहाँबाट त्यत्रो ऋण तिर्नु ?’ हत्या हुनुभन्दा केही दिन अघिमात्र दिलीप भारतको भोपालबाट मेकानिकल इन्जिनियरिङको परीक्षा सकाएर गाउँ आएका थिए।

यसरी भएको थियो दिलीपको हत्या

धनुषाको श्रीपुर गाउँमा औरही खोला छ। सो खोलाबाट क्रसरवालाले अबैध रूपमा नदी जन्य सामग्री झिक्दै आएका थिए। ठूला खाल्टो बनाएर खनिएको खोलामा वर्षायाममा बाढी आउँदा धार परिवर्तन गरी किसानको उब्जाउ जमिन कटान गर्ने गथ्र्यो। त्यस अघिदेखि नै दिलीपले किसानको जमिन बचाउँन नदी दोहोनविरुद्ध आवाज उठाउँदै आएका थिए।

  •     ३ वर्षअघि पीडित परिवारले दायर गरेको मुद्दामा १८ पटक पेसी चढ्यो। तर, ९ पटक सुनुवाइ स्थगित भयो।
  •     पीडित परिवारलाई न्याय दिनुको साटो ३१ चैत २०७७ मा उद्योग चलाउनु भन्दै क्रसर उद्योगको पक्षमा फैसला।
  •     अझै छ्याप्छ्याप्ती भेटिन्छन् अवैध क्रसर उद्योग।
  •     पीडित परिवारले आश्वासन मात्रै पाए, पाएनन् न्याय।

एकाबिहानै घरनजिकैको खोलामा स्काभेटर प्रयोग गरेर खोला खनिँदै थियो। टिपरमा राखेर बालुवा गिट्टी क्रसरमा दुवानी भइरहेको थियो। क्रसर डनका नामले चिनिने विपिन महतोले खोला खनेर नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा लगिरहेका थिए। स्काभेटर र टिपरको आवाज सुनेर साथी रोशन यादवसँगै दिलीप पनि खोला उत्खनन रोक्न गएका थिए। त्यसै समय दिलीपलाई विपिनले मुक्का हाने। दिलीपसँग विपिनको भनाभन् भएपछि टिपरबाट लिभर निकालेर उनको कोखमा घोचेर घाइते बनाए। पछि हातखुट्टा समातेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर दिलीपको निर्मम हत्या गरेको घटनालाई प्रत्यक्ष देखेकाले बताउँछन्।

उच्चस्तरीय छानबिन नहुँदा दोषी उम्कने डर

दिलीपको हत्यामा सम्लग्न रहेको आरोपमा तीन जना पुर्पपक्षमा जेल चलान भएका छन्। घटनाको उच्चस्तरीय छानबिन नभएकोमा अझै न्याय नपाएको दिलीपको परिवारको गुनासो छ। बुबा रामजीवन छोराको हत्यामा सम्लग्न सबै कानुनी दायरामा नआएको बताउँछन्। उनले सात जनाउपर किटानी जाहेरी दिएको बताए। त्यसमध्ये तीन जना मात्रै जेलमा छन्। भन्छन्, ‘चार जनालाई अदालतले धरौटीमा छोडेको छ।’

धरौटीमा छुट्नेहरूमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव र क्रसरका मिस्त्री शत्रुधन यादव छन्। क्रसरधनी बिपिनका दाजु बिनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दै किटानी जाहेरी दिएका थिए। उनलाई पनि प्रहरीले छोडेको पीडित परिवारको आरोप छ। घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने उनीहरूको माग छ।

‘सरकार सहिद घोषणाको मागमा गम्भीर भएन’

तीन वर्षअघि दिलीप हत्याको घटनाले देशव्यापी चर्चा बटुल्यो। घटनाको विरोधमा तराई–मधेसदेखि संघीय राजधानीसम्म आन्दोलन चर्कियो। दोषीलाई कारबाही र दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणाको माग गर्दै देशव्यापी प्रदर्शनहरू भए। दिलीपको घरमा समवेदना व्यक्त गर्न मेयरदेखि मन्त्रीसम्मको लर्को लाग्यो। सबैले न्याय दिलाउने वाचा गरे।

कांग्रेस नेता शशांक कोइरालासम्मले पर्यावरण सहिद घोषणा गराउन संसद्मा पहल गर्ने प्रतिबद्धता जनाएका थिए। दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग अझै जनस्तरबाट उठिरहेको छ। तर, उक्त मागलाई तीनै तहको सरकारले बेवास्ता गरेको दिलीपकी बहिनी संगमको गुनासो छ। न्याय दिलाउने वाचा गरेका नेताहरूले पनि आफ्नो कर्तव्य निर्वाह नगरेको उनले दुखेसो पोखिन्। दिलीपलाई सरकारले प्रथम पर्यावरण सहिद घोषणा नगरेसम्म आन्दोलन जारी रहने पिछडावर्ग ओबिसी महासभाका केन्द्रीय अध्यक्ष रामकुमार महतो बताउँछन्।

प्रदेश सरकारले पूरा गरेनन् आश्वासन

दिलीपको हत्यापछि समवेदना व्यक्त गर्न प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव उनको श्रीपुरस्थित घर पुगेका थिए। पीडित परिवारको अवस्था बुझेपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले परिवारबाट एक जनालाई जागिर दिने अश्वासन दिए।

मुख्यमन्त्रीले आर्थिक सहयोग गर्ने आफ्नो वाचा पूरा गरे। सहयोग गर्ने घोषणा गरेको केही दिन नबित्दै प्रदेश सरकारको निर्णयबाट दिलीपको परिवारलाई घरमै पुगेर मुख्यमन्त्री कार्यालयको सचिवमार्फत पाँच लाखको चेक हस्तान्तरण गरियो। तर, पीडित परिवारबाट एकजनालाई रोजगारी दिने आश्वासन तीन वर्षसम्म पूरा गरेनन्।

दिलीपलाई पर्यावरण सहिद घोषणाका लागि पहल गर्न पनि प्रदेश सरकारले खासै चासो नलिएको दिलीपकी बहिनी लक्ष्मी बताउँछिन्। ‘सहिद घोषणाका लागि केन्द्र सरकारलाई प्रदेश सरकारले सिफारिस गर्न सक्थ्यो। उच्चस्तरीय छानबिन समिति गठनका लागि पहल गर्न सक्थ्यो,’ उनी भन्छिन्, ‘तर त्यो जिम्मेवारीबाट प्रदेश सरकार पन्छिए। जागिर दिने अश्वासन पनि पूरा गरेनन्।’

मुद्दा स्थापित गराउन ‘प्रतिष्ठान’

पर्यावरण अभियन्ता दिलीप महतोले उठाएका चुरे संरक्षणका मुद्दा स्थापित गराउन प्रतिष्ठान दर्ता गरिएको छ। दिलीप महतोको नाममा ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको हो।

दिलीपकै बहिनी संगमकुमारी महतोको नेतृत्वमा प्रतिष्ठान दर्ता गरिएको प्रतिष्ठानका सचिव मगहीले जानकारी दिए। प्रतिष्ठानमा परिवारका सदस्य, चुरे अभियानकर्ता, सञ्चारकर्मी लगायतलाई समेटिएको उनले बताए।

प्रतिक्रिया