मनिका झा / गोविन्द महतो
जनकपुर / पुस्तेनी घरको एउटा सानो कोठामा पत्रकारितासम्बन्धी दर्जनौं किताबहरूले भरिभराउ कोठामा ओछ्यानमा पल्टिएका छन्, पत्रकारिताका जिउँदो इतिहास । शरीर निकै कमजोर भइसकेको छ। उठ्बस गर्न सक्ने अवस्थामा उनी छैनन्। खानासमेत राम्ररी खान नसक्दा उनी दिनप्रतिदिन कमजोर हुँदै गइरहेका छन्। तर, मानसिक रूपमा भने उनी अहिलेसम्म उत्तिकै बलिया छन्। जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ पत्रकार राजेश्वर नेपालीकै नामले चिनिन्छ।
७९ वर्षीय नेपालीको मानसपटलमा पत्रकारिताका लागि गरेका आन्दोलनहरू र देशमा प्रजातन्त्र स्थापनाको बेला आफूले भोगेका यातनाहरू ताजै छन्। आफूसँग भलाकुसारी गर्न आउने पाहुनाहरूलाई उनी पत्रकारिताको इतिहास सुनाइराखेका छन्। उनी बोल्दै गर्दा घाँटी सुख्छ। ओठहरू थर्थराउँछन् र जिब्रो लर्बराउँछ। तर, उनको बोली बन्द हुँदैन। पत्रकारिताप्रतिको उनको चिन्ता निकै बढी छ। उनको शारीरिक अवस्था जटिल हुनुका कारण मेरुदण्डको समस्या हो भनी चिकित्सकहरू बताउँछन्। प्रजातान्त्रिक आन्दोलनका क्रममा हिरासतमा परेका नेपालीले प्रहरीबाट सहनु परेको दमन र शोषणको परिणाम अहिले उनको शरीरले भोगिरहेको छ।
उतिबेला सेना र प्रहरीको यातनाले शरीर हिँड्डुल र उठबस गर्न नसक्ने भएको छ। अस्वस्थ्य भएको बेला भेटघाटको क्रममा नेपालीले पत्रकारिता विकृत बन्दै गएकोप्रति दुःख व्यक्त गरे। उनले भने, ‘अहिलेका पत्रकारले शोषित पीडितका पक्षमा लेख्न छाडे, चाकडी र कमाउ पत्रकारिता हाबी हुँदै गएको आभास हुन्छ।’ जनकपुरमा १९९२ सालमा उनका बुवा लगायत २२ जनाले राणा शासनविरुद्ध लड्ने प्रतिज्ञा गरे। यही विषयमा उनले पटनामा छापिने नेपाली पत्रिका नेपाल सन्देशमा समाचार लेखे। उनको समाचारले देशभर खैलाबैला मच्चायो। त्यसपछि उनी नेपाली कांग्रेसले गर्ने राणाविरोधी गतिविधीबारे निरन्तर समाचार लेख्न थाले।
नेपालीले लेखेको अर्को समाचारले पनि देशमा हंगामा मच्चायो। त्यो समाचार थियो, राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि कांग्रेसले सुरु गरेको सत्याग्रह। दुर्गाप्रसाद खवारे सम्पादक रहेका नेपाल सन्देशमा छापिएको उनको समाचारले कांग्रेसले सुरु गरेको सत्याग्रह भारतमा समेत चर्चाको विषय बन्यो। उनी त्यसबेला शोषित पीडितको पक्षमा कलम चलाएर कांग्रेसको क्रान्तिबारे सबैलाई जानकारी गराउँथे। एक किसिमले त्यतिबेला उनले राजनीतिक परिवर्तनको आन्दोलनलाई पत्रकारितामार्फत मिसनको रूपमा अगाडि बढाएका थिए।
कांग्रेसको राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरे। त्यसपछि विघटन भएको संसद्का सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनस्र्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे। तर, आफू गान्धीवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर उनले जवाफ दिए। पत्रकारितामा आफ्नो सक्रियतालाई सधैं अगाडि बढाए। उनले काठमाडांैबाट प्रकाशन हुने दैनिक नेपालमा समेत काम थाले। त्यतिबेला दैनिक नेपाल निकै चर्चित पत्रिका थियो। केही समय दैनिक नेपालमा काम गरेपछि उनले नेपाली र हिन्दी भाषामा प्रकाशन हुने नेपाल टाइम्समा जनकपुरबाट समाचार लेख्न थाले।
उतिबेला समाचार लेखेबापत एक रुपैयाँ पनि पाइँदैनथियो। नेपालीले तत्कालीन पत्रकारिताको अवस्था स्मरण गर्दै भने, ‘समाचार लेखेर हुलाकबाट पठाउनु पथ्र्यो। प्रहरी प्रशासनले खुबै निगरानी गर्ने भएकाले उनीहरूलाई छलेर समाचार खोज्ने, लेख्ने र पठाउने गथ्र्यौं।’ २०२० सालमा उनी राष्ट्रिय समाचार समितिको धनुषा संवाददाता बने। राससले एउटा समाचारको ३ देखि १० रुपैयाँसम्म पारिश्रमिक दिन्थ्यो। राससमा पुरानो समाचार हुलाकबाट पठाए पनि ताजा समाचार भने टेलिग्राफबाट टिपाउने चलन थियो उतिबेला। राससबाट महिनाको ९० रुपैयाँसम्म पारिश्रमिक थापे उनले। भन्छन्, ‘त्यतिबेलाको समयमा ९० रुपैयाँ भनेको ठूलो रकम थियो।’
२०४० सालमा उनले आफ्नै नाममा साप्ताहिक पत्रिका दर्ता गरे। आफू निकटका नेता र शुभचिन्तकहरूको राय सल्लाहमा पत्रिकाको नाम जुराए ‘लोकमत’। पत्रिकाको १८ अंक निस्किएपछि पञ्चायत सरकारले पत्रिका दर्ता खारेज गर्यो। यसविरुद्ध सर्वोच्च अदालतमा उनले मुद्दा हाले। मुद्दा उनकै पक्षमा भयो। २०४३ सालबाट पुनः लोकमत प्रकाशन सुरु भयो। जुन पत्रिका अहिलेसम्म जनकपुरबाट निरन्तर प्रकाशन भइरहेको छ।
समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन व्यवस्थाले जेल हाल्यो। तर उनले पत्रकारिता छाडेनन्। २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा एक वर्ष जेल बस्नु पर्यो। उनले जेलजीवनको यसरी स्मरण गरे, ‘जेलभित्र नेल लगाएर राखिन्थ्यो। बन्दुकको कुञ्जाले पिटिन्थ्यो। जेलभित्र मलगायत धेरै नेता हुन्थ्यौं। रातको अन्धकारमा पञ्चायत मुर्दावाद भनेर नारा जुलुस लगाउँथ्यौं। पुलिसहरू आएर अँध्यारोमै जसलाई पायो उसलाई बुटले भकुर्थे।’
मैथिली साहित्यमा एमए गरेका नेपालीका दुई छोरा र तीन छोरी थिए। पत्रकारितामै लागेका जेठो छोरा रवीन्द्र साहको २९ वर्षकै अल्पायुमा निधन भयो। रवीन्द्रले प्रकाशन सुरु गरेको ‘विश्व जागरण’ दैनिक अहिले पनि राजेश्वर नेपालीको संरक्षकत्वमा प्रकाशन भइरहेको छ। ‘अहिलेको पत्रकारिताबाट व्यक्तिगत स्वार्थपूर्ति गर्न शक्ति केन्द्रको चाकडी गर्ने परम्पराको विकास हुँदै गएको आभास गरेको छु’, नेपाली पत्रकारिताबाट असन्तुष्ट नेपाली थप्छन्, ‘पत्रकारले जहिले पनि शोषित पीडित जनताको आवाज उठाउनुपर्छ। तर अहिले पत्रकारितामा अवैध धन्दा फस्टायो।’
नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्छन्। उनले समाजका लागि परिवर्तनको सोच र सामाजिक रूपान्तरणका लागि निरन्तर कलम चलाउँदै आए। सरल स्वभावका नेपालीले भारतको मजफ्फरपुरमा महात्मा गान्धीलाई भेटेपछि गान्धीको प्रभाव पर्यो। उनको स्वभाव आदर्शमुखी छ। उनले पोसाक पनि गान्धीकै जस्तो खादी र सुतीको लगाउन थाले।
भारतको स्वतन्त्रता आन्दोलनमा लागेका नेपाली तत्कालीन राणाविरोधी आन्दोलनमा पनि सक्रिय रहे। उनले आफ्नो गाउँमा क्लब, स्कुल र पुस्तकालयसमेत खोले। नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलनको समेत आयोजना गरे। पत्रकारिता, साहित्य, संस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका साधक नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएबापत उनलाई प्रजातान्त्रिक सेनानीको रूपमा २०६५ सालमा अभिनन्दन गरियो। पद्मानन्द ट्रस्ट पुरस्कार (२०४३), प्रबल गोरखा दक्षिणबाहु (२०४९), मैथिल संघ चेन्नई तमिलनाडु सम्मान (२०५५), गुजरात हिन्दी प्रतिष्ठान सम्मान (अहमदाबाद (२०५६), रघुनाथ स्मृति सम्मान (२०६१), स्वतन्त्रता सेनानी सम्मान (अखिल भारतीय मध्यदेशीय वैश्य सभा, बनारस (२०६२) जस्ता अनेकौं सम्मानबाट उनी सम्मानित भएका छन्।
नेपाली पत्रकारिताको इतिहासमा शिखर व्यक्तित्वका रूपमा चिनिने उनले पत्रकारितामा नेपाल सरकारबाट वरिष्ठ पत्रकारिता सम्मान (२०६९), नेपाल पत्रकार महासंघ सम्मान (२०४७), नेपाल प्रेस युनियन सम्मान (२०५३), हेम सरिता पाठक प्रतिष्ठान, अमेरिकाबाट पत्रकारिता साधना पुरस्कार (२०६८), सरस्वती राजनारायण पत्रकारिता पुरस्कार (२०६४), पार्वती स्मृति पुरस्कार (२०६४), राजा सलहेस सम्मान (२०६८) प्राप्त गरेका छन्।
त्यस्तै, सांस्कृतिक क्षेत्रमा अतुलनीय योगदानको उच्च कदर गर्दै एनआरएन ग्लोबल कन्फ्रेन्सले र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा संयुक्त रूपमा अन्तर्राष्ट्रिय स्तरमा अभिनन्दन (२०११) प्रदान गरिएको थियो। मिथिला संस्कृतिका विज्ञका रूपमा चिनिने नेपाली मिथिला क्षेत्रको संस्कृतिको पहिचानका लागि रुसी सांस्कृतिक केन्द्रद्वारा सम्मानित भएका छन्।
राजेश्वर नेपाली आमा इन्द्रमणि देवी र बुवा रामदुलार साहको तीन दाजुभाइ र तीन दिदी बहिनीमध्ये माइला छोराको रूपमा २००२ भदौ १९ गते धनुषामा जन्मिए। उनी २०१८ सालबाट पत्रकारितामा आबद्ध भए। उनले नेपाल सन्देश पत्रिकाबाट काम सुरु गरेर राष्ट्रपुकार, विश्वदीप, नेपाल टाइम्स, नेपालवाणी आदिमा गरे। उनले ‘लोकमत’ (साप्ताहिक २०४०) लगायतको पत्रिका सम्पादन गरे भने ‘प्रथम मिथिला कवि विद्यापति स्मारिका’ (२०५६), ‘नेपाल भारत सम्बन्ध’ (पुस्तक २०४९), ‘नेपाल के हिन्दी कवि और कविताएँ’ (२०५३) र ‘नेपाल मे हिन्दी की अवस्था’ (२०५३ पुस्तक) आदिको सम्पादन पनि गरे।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका नेपाली २०२० सालदेखि साहित्यमा प्रवेश गरेका हुन्। उनका २५ कृतिहरूमध्ये कविता कृतिहरूमा पुकार (२०२५), प्रेरणाप्रद सहिदहरू (२०५५), मिथिला मैथिली (२०५७), नेपाल–नेपाली (२०५९), बम नही विचार क्रान्ति (२०६२), लोकतन्त्रको लालिमा (२०६९), नव नेपाल (हिन्दी २०६९) आदि हुन्। यसैगरी खण्डकाव्यमा गरिबको व्यथा (२०६८) र निरपहाय मानव (२०६८) हुन्। कथा कृतिहरूमा सोहागिन (मैथिली २०६१), कनिआ काकी (मैथिली २०६१), प्राचीन जनकपुरधाम एक विवेचना (२०५९), प्रेरणाप्रद प्रजातन्त्र सेनानीहरू (२०६१), पत्रकारिता मेरो पूजा (आत्मवृत्तान्त हिन्दी २०६२), क्रान्तिकारी सर्युग चौधरी (जीवनी) हिन्दी २०६९ हुन्।
यसैगरी राजेश्वर नेपालीको सम्पादनमा नेपाल भारत सम्बन्ध (२०४९), नेपाल के हिन्दी कवि और कविताएँ (२०५३), नेपाल मे हिन्दी की अवस्था (२०५३) र विद्यापति स्मारिका (२०५६) आदि हुन्। २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा प्रेस काउन्सिल नेपालको सल्लाहकार, २०४८ सालमा गठित प्रेस काउन्सिलको सदस्यमा पनि मनोयन भएका थिए।
लोकतन्त्रको मूल आधार नै हामीले आफ्नो अधिकारका साथै अरूको अधिकारको पनि संरक्षण गर्नु हो। हरेक भाषा, धर्म र संस्कृतिको समान संरक्षण र विकासका लागि सबैले उदार भएर एकअर्कालाई सम्मान गर्नुपर्छ। किनकि बहुजाति र बहुभाषी नेपालमा अब कुनै एक जाति र एक भाषीको राज्यसत्ता चल्न सक्दैन। ‘अतः हरेक सार्वभौम नेपाली नागरिकको स्वाभिमान झल्किने गरी सम्पूर्ण मधेसको २०४ क्षेत्रको मधेस मिथिला, लुम्बिनी र थरुहट समेतका राज्य पुनर्संरचना आयोगले सिफारिस गरेअनुसारका १० प्रान्त गठन गर्नु आवश्यक छ।
मधेसमा दुई र पहाडमा तीन वा चार गरी जम्मा पाँच वा ६ प्रान्त पनि बनाउन सकिन्छ’, उनले भने। लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण वीर सहिदलाई कोटिसः नमन गर्दै सबैजना सर्वे भवन्तु सुखिनःको भावमा अघि बढौं भन्ने सन्देश उनी दिन चाहन्छन्। भन्छन्, ‘हरेक सार्वभौम नेपाली जनताले स्वाभिमानपूर्वक बाँच्न सकून् भन्ने वातावरण सिर्जना गर्नु हामी सम्पूर्ण नेपालीको प्रमुख कर्तव्य र उत्तरदायित्व हो।’