Sunday 16th of June 2024

योगको समग्र सार: सूर्य नमस्कार

0 Shares

नरनाथ पाण्डे

सदा झैँ यस वर्ष पनि नेपालमा  माघ १ गते तदनुसार जनवरी १५ मा आठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । यो वर्षको नारा ‘स्वास्थ्य जीवनको चाहना: योग शिक्षा र साधना’ रहेको छ । राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रूपमा स्थापित भएको छ ।

नेपालमा मात्र मनाइने राष्ट्रिय योग दिवसको सुरुवात २०७२ साल साउन २८ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि भएको हो । त्यसपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । यही दिवसको अवसरमा योग दर्शन, राष्ट्रिय योग दिवसको इतिहास लगायत पक्षमा यस आलेखमा चर्चा गरिएको छ ।

योग र योग दर्शन

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलिको योग दर्शनमा उल्लेख भएअनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ ।

यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ । र त्यो प्राप्त गर्ने माध्यम नै योग हो ।

योगको अभ्यास हजारौँ वर्ष पहिलादेखि नै भएको पाइन्छ । परम्परा अनुसार योगको सुरुवात गर्ने भगवान् शिव हुन् भन्ने मान्यता पाइन्छ । भगवान् शिवको वासस्थान हिमालय क्षेत्रमा रहेको भन्ने श्रुतिअनुसार योगको प्रारम्भ पनि हिमालय क्षेत्र अर्थात् महाभारत क्षेत्रबाट भएको हो भन्ने अनुमान गर्न सकिन्छ । यसैका आधारमा योगको प्रारम्भ पूर्वीय दर्शनबाट भएको हो भन्न सकिन्छ ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । योग दर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् ।

शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ ।

नेपालमा पनि योगसम्बन्धी विभिन्न संघ संस्थामार्फत् औपचारिक र अनौपचारिक योग कक्षा सञ्चालन भइरहेका छन् भने राष्ट्रिय शिक्षाका पाठ्यक्रममा पनि योगलाई राखिएको अवस्था छ ।

जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस हुँदै गइरहेको पाइन्छ ।

योग दर्शनमा धर्म कर्मका लागि यज्ञ, यज्ञादि र पूजापाठको कुनै गुञ्जायस हुँदैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्त्व दिइएको हुनाले योगदर्शनको महत्त्व बढी छ ।

यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्साइएको छ ।

मानसाग्नि र राष्ट्रिय योग दिवस 

नेपालमा योगको चर्चा गर्दा मानसाग्नि अर्थात् डा. हरिप्रसाद पोखरेलको मुख्य चर्चा हुने गर्दछ ।

शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रूपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुन् ।

साधनाको नामबाट मानसाग्नि नामकरण गरेका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल र राष्ट्रिय योग दिवसको बारेमा चर्चा गर्नु राष्ट्रिय योग दिवसका अवसरमा सान्दर्भिक हुन्छ ।

आबाल ब्रह्मचारीका रूपमा रहेका राष्ट्रयोगीको सम्मानबाट विभूषित मानसाग्निले नै २०३६ साल माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गरेको र नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो ।

योगको सुरुवात नेपालबाटै भएको हो, यसमा व्यापक अनुसन्धानको आवश्यकता छ भनेर मानसाग्निले दाबी समेत गर्दै आएका छन् । योगमा शारीरिक शुद्धता भन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सा र आयुर्वेदसँग जोडेर मानसाग्निले निरन्तर अतुलनीय योगदान दिएका छन् ।

संस्कृत भाषाको सूर्य नमस्कार अथवा सूर्यलाई गरिने अभिवादन वा स्यालुट निकै महत्वपूर्ण र पूर्ण व्यायामको योगाभ्यास हो ।

२०३६ सालदेखि हालसम्मको निरन्तर उनको प्रयास, अथक परिश्रम र अविरल यात्राले चार दशक पूरा गर्दै गर्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ ।

यसै गरी मानसाग्निकै अथक परिश्रम र निरन्तरको लगावका कारण योगको महत्त्वलाई मध्यनजर गर्दै नेपालमा कक्षा ९ देखि १२ सम्म, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिक रूपमा पाठ्यक्रममा समावेश भइ पठनपाठन तथा अध्ययन अनुसन्धान हुन थालेको छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि एक अर्काका परिपूरक हुन् भन्न सकिन्छ ।

surya-namaskar-a-sun-salutation-yoga-asanas-sequence-set-illustration-vector

योगमा सूर्यनमस्कार आसन

योगकै सन्दर्भमा पूर्ण योग र व्यायामको एउटै अभ्यास सूर्यनमस्कार आसनबारे विशेष चर्चा गरिन्छ ।

संस्कृत भाषाको सूर्य नमस्कार अथवा सूर्यलाई गरिने अभिवादन वा स्यालुट निकै महत्वपूर्ण र पूर्ण व्यायामको योगाभ्यास हो ।

धार्मिक मान्यताअनुसार सूर्यलाई देवताको रूपमा मानिने र हिन्दू धर्ममा त सूर्यलाई जीवनकै एक आत्माको रूपमा समेत मानिने हुँदा सूर्य निकै पूजनीय छ ।

हठयोगअन्तर्गत पर्ने यस अभ्यासमा विभिन्न १२ वटा आसनमार्फत् सूर्यलाई प्रणाम गर्ने र शारीरिक लाभ प्राप्त गर्ने गरिन्छ । यसलाई दु्रत गतिमा गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा निकै राम्रो प्रभाव पर्दछ भने मन्द गतिमा गर्दा आराम र विभिन्न प्रभावहरू शरीरमा परेको अनुभूति हुन्छ ।

त्यस्तै, यसबाट सूर्यलाई सम्झिएर विभिन्न मन्त्रहरूका साथै विभिन्न आसनमा बस्दा आनन्दको अनुभव पनि हुन्छ । नियमित रूपमा यस्तो अभ्यास गर्नाले मांसपेशीमा लचकता आउने र निष्क्रिय भएर बसेका भागहरूमा सक्रियता आउँछ ।

सूर्य नमस्कारका विभिन्न १२ वटा आसनहरूले शरीरका सबै अङ्ग, प्रत्यङ्ग र कोषहरूसम्म प्रभाव पार्ने भएकोले सूर्य नमस्कारलाई पूर्ण व्यायामको आसन पनि भनिन्छ ।

प्राचीनकालमा सुरुवात भएको यो आसन विभिन्न आधार र अनुसन्धानबाट वैज्ञानिक भएको पुष्टि भएको छ । नियमित रूपमा सूर्य नमस्कारका आसन गर्नाले सिर्जनशीलता बढ्ने, कार्यक्षमता बढ्ने, निर्णय गर्ने शक्ति आर्जन हुने, आत्मविश्वास हुने र नेतृत्वका सीप विकसित हुने जस्ता लाभहरू प्राप्त हुने भएकोले अहिलेको समयमा समेत यो अभ्यास निकै उच्च स्तरको छ । र, जो कोहीले यो आसन गर्न सकिने सिफारिस गरिएको छ ।

सूर्य नमस्कार दिनमा जुनसुकै समयमा गर्न सकिन्छ, तापनि यसका लागि उपयुक्त समय भनेको सूर्योदयको समय हो । यस्तो बेला सूर्य नमस्कारको अभ्यास गर्नाले शारीरिक तन्दुरुस्ती र मानसिक ताजापन प्राप्त हुन्छ । तर यस्ता फाइदा दिनभरमा जुनसुकै समयमा गर्दा पनि धेरथोर प्राप्त हुन्छन् ।

सूर्य नमस्कार एउटा त्यस्तो अभ्यास हो, जुन स्वास्थ्यमा सरोकार राख्ने सबैका लागि वरदान नै हो । यसले शरीरमा जम्मा भएर बसेको अतिरिक्त बोसो कम गर्ने, पेट घटाउने र प्राकृतिक शरीरको आकारमा लैजाने गर्छ । यसले शरीरका आन्तरिक ग्रन्थिहरूसमेत सक्रिय बनाई शरीरको कार्यसम्पादन प्रभावकारी बनाउँछ ।

सूर्य नमस्कारका विभिन्न १२ वटा आसनहरूले शरीरका सबै अङ्ग, प्रत्यङ्ग र कोषहरूसम्म प्रभाव पार्ने भएकोले सूर्य नमस्कारलाई पूर्ण व्यायामको आसन पनि भनिन्छ ।

ती आसनहरू प्रणमासन, हस्तउत्थनासन, हस्तपादासन, अश्व सञ्चालनासन, अधोमुखासन/पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, वाम अश्व सञ्चालनासन, पुनःहस्तपादासन, पुनः हस्तउत्थनासन र ताडासन वा पुनः प्रणमासन हुन् ।

फुर्सत नहुनेहरू वा अल्छी लागेर केही गर्न नसक्नेहरूका लागि समेत सूर्य नमस्कार एउटा पूर्ण व्यायामको भरपर्दो अभ्यास हुन सक्छ ।

सूर्य नमस्कारको नियमित अभ्यासबाट हुने अधिकांश फाइदामध्ये मुख्य फाइदा यस प्रकार छः

– यस आसनमा हुने विभिन्न आसनहरू निकै समुचित तरिकाले शरीर तताउने क्रियाकलापको लागि मिश्रित ढङ्गले बनाइएका हुनाले शरीरमा बढी प्रभाव पर्छ ।

– यस किसिमको आसन नियमित गरेमा रोगमुक्त र स्वस्थ भई बाँच्न सकिन्छ र शरीरको सन्तुलनमा वृद्धि हुन्छ ।

– मुटुको शक्ति वा क्षमता बढ्छ, रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ ।

– पाचन प्रणालीको कार्यक्षमता र दक्षता बढ्छ । यस अभ्यासले कब्जियत जस्ता समस्या पुरै समाधान हुन्छन् ।

– पेटका मांसपेशी, श्वास प्रश्वास प्रणाली, लसिका प्रणाली, मेरुदण्डका स्नायुहरू र अन्य आन्तरिक अङ्गहरूमा सक्रियता ल्याउँछ ।

– ढाड, घाँटी, काँध, हात, नाडी, पछाडिको भाग, तिघ्राका मांसपेशीलगायत सबै शरीरमा लचकता र दक्षताको विकास हुन्छ ।

– नियमित अभ्यासले निःशुल्करूपमा तौल घटाउन मद्दत पुर्‍याउँछ । साथै थाइराइड ग्रन्थिको नियमित कार्य सम्पादनका कारणसमेत तौल घट्ने गर्दछ ।

– टाउकोमा हुने रक्तसञ्चारको प्रभावले कपाल झर्नबाट रोकिन्छ भने कपाल फुल्ने क्रम घट्ने र स्वस्थ रौं को विकास हुन्छ ।

– शरीरभर हुने प्रभावकारी रक्तसञ्चारका कारण शरीर तथा अनुहारको छाला स्वस्थ, चमक, मुलायम र चिल्लो हुन्छ । साथै चाउरी पर्ने वा छिटो बुढ्यौली हुने क्रम समेत रोकिन्छ ।

– शरीरका सबै दोषहरू हटेर जाने, सबै खालका मौसममा सामञ्जस्य हुन मद्दत पुग्ने र शरीर पूर्ण रूपले सन्तुलित रहन्छ ।

– ग्रन्थि प्रणालीमा पर्ने सकारात्मक प्रभावका कारण महिलाको महिनावारी चक्रसमेत राम्रो र नियमित हुन्छ । यसबाट स्वस्थ बच्चा जन्माउन समेत सहयोग मिल्छ भने सुत्केरी अवस्थामा दूधको राम्रो उत्पादन हुन्छ । महिलाको हिप, तिघ्रा, पेट, चिउँडो र घाँटीसमेत सुन्दर हुन मद्दत पुग्छ ।

– मानसिक रूपमा फाइदा हेर्ने हो भने यस अभ्यासले शरीर र मनलाई जोड्ने काम समेत गर्दछ । यस अभ्याससँगै तनाव हट्ने र यसमा मिलाइने श्वास प्रश्वासको नियमले मस्तिष्कमा आनन्द र शान्तिको अनुभूति दिलाउँछ भने सचेतनाको क्षमता अभिवृद्धि हुन्छ ।

– मानिसको अन्तज्र्ञान बढाउने, एकाग्रता बढाउने, डिप्रेसन र मानसिक नकारात्मक कुण्ठाहरू हटाउने काम गर्छ ।

– बच्चामा हुने तनाव हट्नुका साथै मस्तिष्कमा शान्तपनको विकास हुने, एकाग्रताको विकास हुने, कार्यक्षमताको विकास हुने, शारीरिक तन्दुरुस्ती गराउने, मांसपेशीमा लचकताको विकास हुने र मनमा आउने चिन्ता, डर, त्रास, नकारात्मक सोच आदि हटेर जान्छन् । नियमित रूपमा बालबालिकाले यो अभ्यास गरेमा विभिन्न प्रतिस्पर्धामा अब्बल साबित हुने र युवा अवस्थामा पनि पाँच वर्ष कम उमेरको देखिने जस्तो अद्भुत फाइदा समेत पाउन सकिन्छ ।

यसरी प्राचीन कालमा ऋषि मुनिहरूले विकसित गरेका यस्ता अभ्यासहरूका कारण उनीहरू जीवनभर निरोगी रही दीर्घायुसमेत पाएको कुरा सुन्न पाइन्छ ।

आधुनिक समयमा पनि अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्या र शारीरिक श्रम घट्दै जाने तर ऐस आराम बढ्दै जाने भएपछि देखा पर्ने अनेक समस्या समाधानका उपाय भनेकै दैनिक योगाभ्यास गर्नु हो ।

फुर्सत नहुनेहरू वा अल्छी लागेर केही गर्न नसक्नेहरूका लागि समेत सूर्य नमस्कार एउटा पूर्ण व्यायामको भरपर्दो अभ्यास हुन सक्छ ।

सूर्य नमस्कार मात्र एउटा त्यस्तो योग अभ्यास हो, जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई पूर्ण योगको चमत्कारिक विधि पनि भन्न सकिन्छ । दिनहुँ कम्तीमा पनि १२ पटक भन्दा बढी यो अभ्यास गर्न सकियो भने पनि स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शङ्का छैन ।

लेखक पतञ्जलि योग समिति नवलपुरका जिल्ला अध्यक्ष तथा योग शिक्षक हुन् ।

प्रतिक्रिया