एमजीआरको मृत्युमा ३० जनाले गरेका थिए आत्महत्या : अन्तिम संस्कारमा पुगेका थिए १२ लाख प्रशंसक

केरला (भारत) / एमजीआर अर्थात एम.जी रामचन्द्रन । उनी तमिल फिल्मका सुपरस्टार र तमिलनाडुका मुख्यमन्त्री पनि थिए । जनवरी १७, मंगलबार एमजीआरको १०६ औं जन्मजयन्ती हो । एमजीआर पहिलो यस्तो स्टार थिए जसको फ्यान फलोइङले संसारलाई चकित पारेको थियो । फिल्म स्टारका लागि फ्यान यति धेरै पागल हुन सक्छन् भन्ने पहिलो पटक थाहा भएको थियो । त्यस्ता अवसरहरू धेरै थिए जब मानिसहरूमा उनीप्रतिको क्रेज व्यापक थियो ।

जब एमजीआर अभिनेता थिए, उनको फिल्मले कमाईको रेकर्ड तोड्ने गर्दथ्यो । राजनीतिमा प्रवेश गरेपछि उनी मुख्यमन्त्री भए । उनका फ्यानहरूले उनलाई चमत्कारी ठान्थे, फ्यानहरूले एमजीआर बाँझो जमिनमा उभिए भने उर्वर बन्छ भन्ने सोच्थे । यसकारण धेरैले आफ्नो बाँझो जमिनलाई हराभरा बनाउनका लागि मात्रै भएपनि उनलाई आफ्नो ठाउँमा आइदिन निम्तो दिने गर्दथे ।

उनको मिर्गौला बिग्रियो भन्ने खबर सुनेपछि मात्रै १३ जना फ्यानले आत्महत्या गरेका थिए । जे. जयललितासँग उनको सम्बन्ध सधैं चर्चामा रह्यो । जब एमजीआर को मृत्यु भयो, ३० जना प्रशंसकहले आत्महत्या गरे । १२ लाख प्रशंसक अन्त्येष्टिमा उपस्थित थिए । मानिसहरू यति दुःखी भए कि उनीहरूले शोक र क्रोधमा उपद्रो गर्न थाले । पसल, बस, सवारीसाधन जलाए । यस दंगामा २९ जनाको मृत्यु भयो भने ४९ प्रहरी गम्भीर घाइते भएका थिए ।

यो सबै रोक्न सरकारले देख्ने बित्तिकै गोली हान्न आदेश जारी गर्नुपरेको थियो । एमजीआर को यो अन्त्येष्टि अझै पनि शताब्दीको सबैभन्दा हिंसात्मक अन्त्येष्टि मानिन्छ ।

एमजीआरको जन्मजयन्तीमा उनको स्टारडम र उनीप्रति प्रशंसकको क्रेजका केही रोचक कथा पढौँ –

साढे दुई वर्षको उमेरमा बुवा गुमाए, बहिनीको पनि भयो मृत्यु

एमजीआर– मारुथुर गोपालन रामचन्द्रनको जन्म १७ जनवरी १९१७ मा श्रीलंकाको नवलापिटियामा भएको थियो । एमजीआर साढे दुई वर्षको हुँदा उनको बुवाको निधन भयो र केही दिनपछि उनकी बहिनीको पनि रोगले मृत्यु भयो । घरको आर्थिक अवस्था यति बिग्रियो कि आमा एमजीआर र भाइसँगै श्रीलंकाबाट भारत आइन् ।

केरला पुगेपछि आफन्तले सहयोग गर्न मानेनन् । मुश्किलले आफन्तले बस्ने ठाउँ दिए । उनले नै बच्चालाई विद्यालयमा भर्ना गराइदिए । एमजीआरलाई सानैदेखि अभिनयमा रुचि थियो, त्यसैले ७ वर्षको उमेरमा उनले ड्रामा कम्पनी बोय्जको नाटकमा अभिनय गर्न थाले ।

MGR5कसरी जोडियो फिल्मसँग नाता ?

१९ वर्षको उमेरमा एमजीआरले सन् १९३६ को फिल्म सती लीलावतीमा प्रहरी निरीक्षकको भूमिका निर्वाह गरेर फिल्ममा प्रवेश गरे । यसका लागि उनले एक सय रुपैयाँ पारिश्रमिक लिए । सन् १९४७ मा रिलिज भएको फिल्म राजकुमारीमा उनले पहिलो मुख्य भूमिका पाएका थिए । सन् १९५० सम्म, एमजीआरले मन्थिरी कुमारी जस्ता धेरै हिट फिल्म दिँदै एमजीआरले एक स्टारको दर्जा हासिल गरे । सन् १९५४ को फिल्म मलाइक्कल्लन यति ठूलो हिट भयो थियो कि त्यसपछि उनलाई भगवानलाई झैँ पूजा गर्न थालियो ।

फ्यानहरूको चिन्ताले देवदासको भूमिका अस्वीकार गरे

जतिले एमजीआरलाई पूजा गर्दथे, त्योभन्दा धेरै चिन्ता उनलाई आफूलाई चाहनेहरुको हुन्थ्यो । उनलाई साउथको देवदास फिल्मको अफर भएको थियो, जसमा उनले जँड्याहाको भूमिका निर्वाह गर्नुपर्ने थियो । एमजीआरले आफूलाई भगवान झै पूजा गर्ने फ्यानहरूले मदिरा सेवन गरेको हेर्न नचाहेको भन्दै फिल्म अस्वीकार गरे । ‘फ्यानमा नराम्रो असर पर्ने कुनै पनि भूमिका म गर्दिनँ,’ उनले भन्ने गर्थे । यसका साथै उनले आफ्नो फिल्मबाट समाज सुधारको सन्देश दर्शकसम्म पुर्‌याउने प्रयास गर्थे ।

मेरो इज्जतको अलिकति पनि कमी हुन दिन्नँ

एमजीआर निकै संवेदनशील व्यक्ति थिए । उनी आफ्नो वरिपरि सम्मानजनक वातावरण होस् भन्ने चाहन्थे । उनी मन्द स्वरमा जवाफ दिन्थे र मानिसहरुलाई भेट्नु पर्यो भने उनको जवाफ पहिले नै तयार पारिन्थ्यो । एक पटक एमजीआर ‘थाई कथा थानायन’ (१९६२) को सुटिङ गरिरहेका थिए । एउटा सिन गर्दै गर्दा जब उनी रोकिए तब निर्देशकले चिच्याउँदै उनलाई पुनः गर्नका लागि निर्देशन दिए । सुटिङ सकिएपछि एमजीआरले उनलाई बोलाएर भने, ‘तपाईंलाई मलाई सम्झाउँदा चिच्याइरहनुभएको थियो तब मलाई रिस उठेन बरु लाज लाग्यो । म कहिल्यै आफ्नो इज्जतको एक रौँ पनि अरुको आँखाबाट कम हुन दिने छैन । म अलि ठूलो भएदेखि नै यस्तै छु । भविष्यमा यदि तपाईं कहिले मलाई सम्झाउनु हुन्छ भने नजिक आएर भन्नुहोस्, टाढाबाट नचिच्याउनुहोस् ।’

सिनेमाको जादू कायम राख्न निजी रूपमा सुटिङ गर्थे

एमजीआर भीडमा जाँदैनथे । कुनै पनि एक्शन वा रोमान्टिक दृश्यहरू जनताको अगाडि खिच्नु हुँदैन भनेर आदेश दिन्थे । चलचित्रको जादु जनतामा कायम रहोस् र चलचित्रमा देखाइएका कथाहरू यथार्थ हो भनी जनताले सोचुन् भन्ने उनको चाहना थियो । जबकी उनले भीडमा सुटिङ गरेको भए मानिसले पर्दामा झुटो कथा देखाइएको बुझ्थे । यही कारण हो कि एमजीआरले जनताको अगाडि कहिल्यै सुटिङ गरेनन् ।

एमजीआरका यति धेरै फ्यान थिए कि उनी सडकमा निस्कने बित्तिकै भीड लाग्ने गर्दथ्यो । सबै ठाउँमा पुग्न ढिला हुन्थ्यो किनभने सडकमा उत्रिएका प्रशंसक उनको एक झलक पाउनका लागि भागदौड नै मच्चाइदिने गर्दथे । उनीमाथि टाढैबाट फूल फ्याँकिन्थे र उनको नाममा नारा लगाइन्थे ।

MGR3जनतालाई माया गर्ने एमजीआर

एमजीआरले जनताको लागि सधैं मसीहाको रूपमा काम गरे । आम्दानी कम हुँदा पनि उनले आम्दानीको ठूलो हिस्सा मानिसहरूलाई सहयोग गर्न प्रयोग गरे । एक रिपोर्टका अनुसार, सन् १९५० मा, एमजीआरले एक रिक्सा चालकलाई पानीमा भिजेर रिक्सा चलाइरहेको देखे । यो देखेपछि उनले चेन्नईका ६ हजार रिक्सा चालकलाई रेनकोट दान दिए । सन् १९५० मा एउटा रेनकोटको मूल्य १० भारु थियो ।

दुई श्रीमतीको मृत्यु पछि, नायिकासँग तेस्रो विवाह गरे

एमजीआरले पहिलो विवाह सन् १९३९ मा चित्तरीकुलम बर्गवीसँग गरेका थिए । विवाहको तीन वर्षपछि सन् १९४२ मा बिरामी भएर उनको मृत्यु भयो । पहिलो श्रीमतीको मृत्यु भएको केही महिनापछि उनले सत्यानन्दवतीसँग दोस्रो विवाह गरे, उनको पनि केही वर्षमै क्षयरोगबाट मृत्यु भयो । सन् १९६३ मा एमजीआरले तमिल अभिनेत्री वीएन जानकीसँग तेस्रो विवाह गरे । एमजीआरले तीन पटक विवाह गरे । यद्यपि, उनका कोही सन्तान भने थिएनन् ।

जयललितासँग गर्दथे गहिरो प्रेम तर विवाह गर्न सकेनन्

एमजीआर र जे. जयललिताको पहिलो भेट फिल्मको सुटिङका ​​क्रममा भयो । जयललिताको जीवनी ‘अम्माः जर्नी फ्रम फिल्म स्टार टू पोलिटिशियन क्वीन’ लेख्ने लेखिका वासन्तीका अनुसार एमजीआर जयललितासँग बस्दै गर्दा उनको प्रेममा परे । दक्षिणका अधिकांश मानिसहरू कालो हुन्छन्, तर जयललिता धेरै गोरी र सुन्दर थिइन्, जसमा एमजीआरको आँखा प्रायः टिकेको हुन्थ्यो । सुटिङका ​​क्रममा पनि जयललिता कुनामा एक्लै बसेर अङ्ग्रेजी किताब पढ्थिन् र आफैं पनि राम्रोसँग अंग्रेजी बोल्ने गर्थिन् । एमजीआरको यस्तो आकर्षण थियो कि ३१ वर्ष कान्छी जयललिता पनि सँगै काम गर्दा उनको मायामा परिन् ।

चर्को घामबाट खुट्टा जोगाउन जयललितालाई बोके

जयललिताले कुमुदान पत्रिकामा एमजीआरसँग सम्बन्धित एउटा किस्सा सेयर गरेकी थिइन् । जयललिताले एमजीआरसँग राजस्थानमा फिल्म आदिमैप्पनको लागि सुटिङ गरेकी थिइन् । गीतको छायांकनका क्रममा जयललिता नाङ्गो खुट्टा बस्नुपरेको थियो । चर्को घामबाट जयललिताको खुट्टा तातिरहेको थियो । सुटिङ सकिएपछि उनको कार टाढा पार्किङ गरिएको थियो । जब जयललिता तातो बालुवामा हिँड्न सकिनन्, एमजीआरले कसैको परवाह नगरी उनलाई बोकेर कारसम्म छोडे ।

जयललितालाई घण्टौंसम्म पर्खन्थे एमजीआर

फिल्म न्युज अनादनका अनुसार एमजीआर जयालाई चौबीसै घण्टा साथमा राख्न चाहन्थे, जब जया आफ्नो अन्य फिल्मको सुटिङ गर्थिन्, एमजीआर उनको प्रतीक्षामा घण्टौंसम्म सेटमा बस्ने गर्थे । केही समयपछि यस्तो भयो कि घरमा वा सुटिङका ​​बेला एमजीआरले जयललितालाई दिनहुँ आफ्नो कार पठाएर आफूकहाँ बोलाउने गर्थे । जया पनि सुटिङ छोडेर एमजीआरका लागि दैनिक एक घण्टा ब्रेक लिने गर्दथिन् ।

अनादानका अनुसार, एक पटक जयललिता शिवाजी गणेशनसँग सुटिङका ​​लागि कश्मीर जानुपरेको थियो, तर विमानमा चढ्ने बित्तिकै उनले एमजीआर आफ्नो छेउकै सिटमा बसिरहेको देखिन् । एमजीआरको सुटिङ शेड्युल पनि कश्मीरमा राखिएको थियो तर दुई सेटबीच ४० किलोमिटरको दुरी थियो । उनीहरुको बस्ने व्यवस्था पनि फरक थियो तर एमजीआरले कश्मीर पुग्ने बित्तिकै जयललितालाई सँगै लिएर गए । जयललिता सुटिङका ​​लागि दैनिक ४० किलोमिटर यात्रा गर्थिन् ।

MGR4जयललिता एमजीआरसँग विवाह गर्न चाहन्थिन्

जयललिता आफ्नो र ३१ वर्ष जेठो एमजीआरको सम्बन्धलाई नाम दिन चाहन्थिन् तर तीन पटक विवाह गरिसकेका एमजीआर यसका लागि तयार थिएनन् । जयललिताले धेरै पटक विवाहको तयारी गरिन्, तर एमजीआर हरेक पटक पछि हटे । एमजीआरको उदासीनताबाट आजित भएर जयललिता अर्का अभिनेता शोभन बाबुकहाँ गइन् । जब उनीहरुको सम्बन्धको खबर आउन थाल्यो तब एमजीआरले पनि अन्य अभिनेत्रीहरुसँग काम गर्न थाले । यसैबीच जयललिताले शोभन बाबुसँग विवाह गरेको समाचार आउन थाल्यो । दुबैको विवाहको एल्बम केहीले हेरेको दाबीसमेत गरियो । यद्यपी, दुबैको बिहेको बारेमा कतै पनि ठोस जानकारी छैन । तर, केही समयपछि दुवैको सम्बन्धविच्छेद भयो भन्ने खबर पनि आयो ।

जब एमजीआर राजनीतिको महानायक बने

एमजीआर सन् १९५३ मा कांग्रेस पार्टीको एक हिस्सा बने । एमजीआरका फ्यानको संख्या यति धेरै थियो कि हरेक राजनीतिक दलले उनलाई आफ्नो पार्टीमा समावेश गर्न चाहेका थिए । चलचित्र लेखक राजनीतिज्ञ बनेका सी.एन. अन्नादुराईले एमजीआरलाई आफ्नो पार्टी द्रविड मुनेत्र कझगम (डीएमके) मा सामेल हुन राजी बनाए । एमजीआर १९६२ मा पहिलो पटक विधायक बने ।

चलचित्रका खलनायक एम.आर. राधाले एमजीआरलाई मार्ने योजना बनाए

एमजीआरका धेरैजसो फिल्ममा एमआर राधाले खलनायकको भूमिका निर्वाह गर्थे । दुबैले २५ वटा फिल्ममा सँगै काम गरेका थिए भने उनीहरुको फिल्म पेत्रालथान पिल्लयाको सुटिङ पनि केही दिन अघि मात्रै सकिएको थियो । १२ जनवरी, १९६७ मा, एमआर राधा एक निर्मातासँग फिल्मको बारेमा छलफल गर्न एमजीआरको घर पुगे । साँझ ५ बजेतिर तीनजनाबीच कुराकानी चलिरहेको बेला एमआर राधा उभिए र उनले खल्तीबाट बन्दुक निकालेर एमजीआरमाथि दुई पटक गोली हाने ।

एमजीआरलाई दुईवटा गोली लागेपछि राधाले आफैंलाई पनि बन्दुक हाने  र आत्महत्या गर्ने प्रयास गरे । राधा एमजीआरको दिमागमा गोली हान्न चाहन्थे, तर सौभाग्यवश उनको निशाना चुक्यो र गोली कानमा लाग्यो र राधाको आत्महत्याको प्रयास पनि निशाना चुकेपछि असफल भयो ।

एउटा कान सुननेन् र घाँटीमा फस्यो गोली

एमजीआर आफै घाइते अवस्थामा घरबाट निस्किए र चालकलाई अस्पताल लैजान भने । उनी अस्पताल पुग्दा डाक्टरले उनी सुटिङ गर्दा घाइते भएको सोचे । त्यतिबेला भएका ड्युटी सर्जन डा. अब्राहमले एक अन्तरवार्तामा भनेका थिए एमजीआर मेकअप र विग बिना थिए, त्यसैले उनलाई चिन्न मुश्किल थियो । एमजीआरलाई इमर्जेन्सीमा तुरुन्त उपचारका लागि लगियो ।

शल्यक्रियापछि पनि उनको कान निको हुन सकेन र उनले दाहिने कान सुन्न छोडे । गोली उनको घाँटीमा फसिसकेको थियो । यसले उनको आवाजलाई पनि प्रभावित गर्यो । संयोगले एम.आर.राधालाई पनि रोयापेट्टाह अस्पताल नै लगिएको थियो । त्यहाँ दुबैलाई एकैदिन एउटै एम्बुलेन्समा सरकारी अस्पताल लगिएको थियो । जहाँ दुबैको उपचार एउटै सर्जनले गरे ।

MGR1५० हजार मानिसको भीड र शोकको कोलाहल

एमजीआरलाई गोली हानेको खबर आउने बित्तिकै एक घण्टाभित्रै ५० हजार फ्यान अस्पतालबाहिर जम्मा भएका थिए । मानिसहरू सडकमा शोक गरिरहेका थिए र सडकहरू रोइरहेको र चिच्याहटको आवाजले गुञ्जिरहेका थिए । भीड यति धेरै थियो कि प्रहरी र अन्य सवारीसाधन समेत अस्पताल नजिक जान पाएनन् । भीडलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सहरमा शोकको माहोल यस्तो थियो कि ठूलो संख्यामा पसलहरू बन्द थिए र कर्फ्यू जस्तो वातावरण थियो । राधाले एमजीआरमाथि गोली हानेको थाहा पाउने बित्तिकै फ्यानहरूले उनको घरमा भीड पुग्यो र मानिसहरूले घरमा तोडफोड गरे । एमजीआर ६ हप्तासम्म अस्पतालमा भर्ना भए र अस्पतालबाहिरको भीड ती दिनहरूमा उस्तै रह्यो । एमजीआरमाथि गोली चलाउने राधालाई पहिले ७ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि उक्त सजाय घटाइयो ।

फ्यान र डीएमके पार्टीका कार्यकर्ताहरूले उनको यो तस्वीर शहरभर फैलाए । फाइदा यो रह्यो कि १९६७ मा एमजीआर पूरा २७ हजार भोटले विधायक बने । यो मद्रासको इतिहासमा सबैभन्दा बढी भोट पाउने विधायक थिए ।

अन्नादुरईको मृत्युपछि जब एमजीआरले डीएमके पार्टीमा बढ्दो भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा उनलाई पार्टीले निकालिदियो । पार्टी छोडेपछि एमजीआरले आफ्नो पार्टी अन्ना द्रविड मुनेत्र कडगम बनाए जसलाई पछि अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम नाम दिइयो । यो डिएमकेको सबैभन्दा ठूलो विपक्षी पार्टी थियो ।

सन् १९७७ मा तमिलनाडुको मुख्यमन्त्री बने

एमजीआरको पार्टीले १९७७ मा २३४ सिट मध्ये १३० सिट जित्यो र एमजीआर तमिलनाडुको मुख्य मन्त्री बने । केही वर्षपछि एमजीआरले जे. जयललितालाई फोन गरेर आफ्नो पार्टीमा आउन आग्रह गरे । वर्षौंपछि एमजीआरको आवाज सुनेर जयललिता सहजै राजी भइन् । पार्टी कार्यकर्ताहरूले यसको विरोध गरे र एमजीआरले जयललितालाई पदबाट हटाउनु पर्यो । एमजीआरले जयललितालाई हरेक पाइलामा साथ दिए, सायद यही कारण हो कि जब एमजीआरको मृत्यु भयो, जयललिता २१ घण्टासम्म उनको शवसँगै रहिन् ।

सन् १९८४ मा मृगौला फेल भएर १३ जना फ्यानले आत्महत्या गरे

अक्टोबर १९८४ मा एमजीआरको मृगौला फेल भयो, हृदयाघात पनि भयो र स्ट्रोकका कारण अवस्था नाजुक भयो । उनलाई उपचारका लागि न्यूयोर्क लगिएको थियो । उपचारका क्रममा जयललिता उनलाई भेट्न चाहन्थिन् तर उनलाई एमजीआरसँग भेट्न दिइएन । जयललिताले तत्कालीन प्रधानमन्त्री इन्दिरालाई एमजीआरसँग भेट्नका लागि पत्र लेखेकी थिइन् तर कुनै फाइदा भएन ।

एमजीआरको अवस्था बिग्रँदै गएको थाहा पाउने बित्तिकै आम जनताले यो खबर सुनेपछि १३ जना फ्यानले आत्महत्या गरेका थिए । एमजीआरलाई यस्तो अवस्थामा देख्नु पनि फ्यानलाई मान्य थिएन । मास हिस्टेरियाका धेरै केसहरू थिए । सोही क्रममा सयभन्दा बढी फ्यानले अस्पताल र घरघरमा टेलिग्राम पठाएर मिर्गौला दान गर्ने इच्छा व्यक्त गरे ।

धेरै टेलिग्रामहरूमा, डाक्टरहरूलाई धम्की दिइएको थियो – यदि एमजीआरलाई बचाउन सकिएन भने अस्पतालले परिणाम भोग्नुपर्नेछ । एकजनाले आफ्नो मस्तिष्क दान गर्ने कुरा गरे भने अर्कोले चिठ्ठीमा डाक्टरले एमजीआर सुरक्षित नभएसम्म खाना नखाने लेखे ।

एमजीआरलाई भेट्न पुगेकी जयललितालाई विमानस्थलमै रोकियो

४ फेब्रुअरी १९८५ मा एमजीआर उपचारपछि भारत फर्किएपछि उनलाई हेर्न भीड जम्मा भएको थियो । उनलाई स्वागत गर्न जयललिता पनि विमानस्थल पुगेकी थिइन् तर उनलाई रोक्नका लागि पार्टीका केही कार्यकर्ताले भिआइपी लाउन्जमा बन्द गरिदिएका थिए । भारत आएको ६ दिनपछि एमजीआरले १० फेब्रुअरी १९८५ मा तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिए । त्यसपछि करिब तीन वर्षसम्म उनको अवस्था नाजुक रह्यो र उपचारका लागि धेरैजसो न्युयोर्क जानुपर्थ्यो ।

मृत्युको खबर सुनेपछि ३० जनाले आत्महत्या गरे, दंगामा २९ जनाको मृत्यु

एमजीआरको २४ डिसेम्बर १९८७ मा बिहान ३ः३० मा आफ्नो रामवरम गार्डन घरमा मृत्यु भयो । ७० वर्षको उमेरमा एमजीआरको निधनको खबरले सम्पूर्ण तमिलनाडुलाई स्तब्ध बनायो । यो खबर सुनेपछि ३० जना फ्यानले आत्महत्या गरे र लाखौं मानिस शोकमा सडकमा उत्रिए । शोकको आडमा सहरहरूमा दंगा सुरु भयो ।

१२ लाख मानिसको भीड र १० किलोमिटर लामो लाइन

एमजीआरको शव दुई दिनसम्म राजाजी हलमा राखिएको थियो । उनलाई हेर्न त्यहाँ लाखौं मानिस जम्मा भएका थिए । राजाजी हलको १० किलोमिटरसम्म भीड उभिएर चिच्याई चिच्याई रोइरहेका थिए । महिलाहरू सिंदूर पुछ्दै, छाती पिटिरहेका थिए र धेरैले टाउको पिटेर रोइरहेका थिए । घरको छत, होर्डिङ, ल्याम्पपोस्ट र बालकनी मानिसहरूले ढाकेका थिए ।

मृत्युमा विद्यालय र कलेज बन्द, प्रहरीले दिएको थियो ‘सुट एट साइट’ को आदेश

एमजीआरको अन्त्येष्टिको दिन तमिलनाडुमा दंगा भड्किसकेको थियो । आन्दोलनकारीले पसल, थिएटरलाई निशाना बनाएका थिए । दंगामा करिब २९ जनाको ज्यान गएको थियो भने दंगा रोक्न खोज्ने ४९ जना प्रहरी गम्भीर घाइते भएका थिए । मृत्यु हुनेको संख्या बढ्न थालेपछि प्रशासनले दंगा गर्नेलाई देख्नेबित्तिकै गोली चलाउने आदेश दिएको थियो । सहरभर यति हिंसात्मक वातावरण बनेको थियो कि सरकारले अर्को आदेश नआएसम्मका लागि विद्यालय र कलेज बन्द गर्न आदेश दिएको थियो ।

MGR2जयललिता २१ घण्टासम्म एमजीआरको शव नजिकै उभिइन्

मृत्युको खबर पाएर एमजीआरको घरमा जयललिता पुगेपछि घरमा उपस्थित एमजीआरकी विधवा जानकीले ढोका खोल्न मानिनन् । एमजीआरको शव कहाँ राखिएको छ भनी सोध्दा उनको अपमान भयो । कसैगरी जयललिता राजाजी हलमा पुगिन् जहाँ एमजीआरको शव दुई दिनसम्म राख्नु पर्ने थियो । जयललिता २१ घण्टासम्म शवको छेउमा उभिरहेकी थिइन् र लगातार रोइरहेकी थिइन्, आफ्नो साडीको सप्कोले आँसु पुछि रहेकी थिइन् । जब एमजीआरको शव मुक्तिवाहनमा राखिएको थियो, जयललिता पनि गाडीमा चढिन्, तर उनलाई तुरुन्तै मानिसहरूले तानेर ओराले । दैनिक भास्कर

प्रतिक्रिया

सम्बन्धित समाचार