हत्या आरोपमा महोत्तरीका २ जना युवक प्रहरीको नियन्त्रणमा

धनवीर महतो
महोत्तरी / जनकपुरका युवकलाई अपहरण गरि हत्या गरिएको आरोपमा प्रहरीले महोत्तरीका २ जना युवकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का रोहित साह र वडा नं. १३ का विष्णु साहको हत्या आरोपमा प्रहरीले महोत्तरीका मनरासिस्वा नगरपालिका २ ईटहर्वाका २४ बर्षिय किसन कुमार पण्डित र मुकेश पासवानलाई पक्राउ गरेको छ ।
प्रहरीले किसन र मुकेशसहित अन्य ३ जना भारतीय नागरिकलाई सो घटनामा संलग्न भएको भन्दै अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपवहादुर क्षेत्रीले बताए । प्रहरी नियन्त्रणमा रहेको उनीहरुमाथि थप अनुसन्धान भईरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
गत पुस २७ गते रोहित र विष्णु ज १२ प ८०४ नम्बरको पल्सर मोटरसाइकलबाट घुम्नका लागि घरबाट निस्किएको थियो । त्यसपछि उनीहरु दुई दिनसम्म घरबाट सम्पर्कविहीन भए । उनीहरुको मोबाइल स्वीच अफ रहेका थिए ।
पुस २९ गतेका दिन विष्णुकै फोनबाट उनका बुवाको मोबाईलमा फोन आएको थियो । कुराकानीको क्रममा अज्ञात व्यक्तिले विष्णुलाई छाड्नका लागि १० लाख रकम लिएर आउनका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा ५० लाख मागेका अपहरणकारीले पछि फिरौती रकम २० लाख मागेका थिए ।
अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो । विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो । तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा झन तनाव बढेको थियो ।
यता अपहरणकारीको फोन आएकै दिन पीडितको परिवारले घटनाको सम्बन्धमा प्रहरीमा मौखिक जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रहरी धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरी टोलीले भारतीय प्रहरीसंगको समन्वयमा खोज तलास तथा अनुसन्धान कार्य अगाडि बढाईएको थियो ।
सम्पर्कविहीन भएको १३ दिनपछि आज आइतबार बिहान करिब अढाई बजे भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेलामा उनीहरुको शव भेटिएको हो ।
भारतीय प्रहरीले दुईवटा शव फेला पारेको खबर नेपाल प्रहरीलाई गरेपछि नेपाल प्रहरीले आज बिहान मृतक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएको छ। शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार