फेरिए सरकार, फेरिएन विद्यालय

रञ्जन भण्डारी

शिक्षण सिकाइको पुराना विधिमा परिमार्जन आवश्यक छ । सिकाइमा परिमार्जन नभए बालबालिकाले वर्तमान समयमा भएको परिवर्तन ग्रहण गर्न सक्दैनन् । समयअनुसार शिक्षकले सिकाइको नयाँ विधि अपनाउन नसके बाल मस्तिष्कले ती सिकाइका कुरा ग्रहण गर्न सक्दैन ।

शिक्षकहरूले समयअनुसार आफ्नो सिकाउने विधिमा परिमार्जन गर्नुपर्नेमा महोत्तरीमा भने त्यो न्यून देखिएको छ । यसले बालबालिकाको सिकाइस्तर खस्कँदै गएको देखिन्छ । इमिसको तथ्यांकअनुसार महोत्तरीमा एक लाख ६४ हजार पाँच सय ३८ बालबालिका विद्यालय जान्छन्, तर तीनमध्ये सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश पाँच कक्षासम्मका बालबालिका आफ्नो नामसमेत लेख्न आउँदैन । महोत्तरीको विभिन्न विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीसँग गरिएको कुराकानीमा केहीले आफ्नो नाम नै लेख्न सकेनन् भने केहीले आफ्नो ठेगाना, विद्यालयको नाम र अन्य विभिन्न सामान्य जानकारीसमेत लेख्नमा असमर्थता जनाए ।

यहाँ ती विद्यालय र विद्यार्थीको नाम खुलाउनुभन्दा पनि जिल्लाभरिकै विद्यालयमध्ये अधिकांशमा यस्तो समस्या देखिएकाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । ती विद्यालयमा अध्ययनरत दर्जनौँ बालबालिकाको पठनपाठनमा कमजोरी र पढाइप्रतिको अभिरुचिसमेत कम देखिनुमा तिनका अभिभावक, शिक्षण प्रणाली र विद्यालयका शिक्षकसमेत त्यति नै दोषी हुन् ।

इमिसकै तथ्यांकअनुसार महोत्तरीका कुल विद्यार्थीमध्ये २४ हजार आठ सय ५३ निजी विद्यालयमा र ६ हजार ६ सय ८७ धार्मिक विद्यालयमा अध्ययनरत रहँदा वर्तमान समयमा धेरै निजी विद्यालयमा शिक्षक सेवा आयोग पास नगरेका शिक्षकले पढाएका छात्रछात्राको सिकाइस्तर राम्रो देखिएको छ भने शिक्षक सेवा आयोगबाट नै प्रतिस्पर्धा गरी नियुक्त भएका शिक्षक रहेका सामुदायिक विद्यालयका छात्रछात्रा तुलनात्मक रूपमा कमजोर देखिएका छन् । योग्यताको आधारमा शिक्षक सेवा आयोग पास भएर आएका शिक्षकले पढाउने विद्यार्थी नै राम्रो सिकाइ गर्नुपर्ने भए पनि आयोग पास नै नभएको शिक्षकले पढाएको विद्यार्थी कसरी सिकाइमा राम्रो भए ? निश्चय पनि यसको जिम्मेवारी सरकार, शिक्षक सेवा आयोग, शिक्षक, स्थानीय सरकार र अभिभावकले लिनुपर्ने हुन्छ ।

सरकारले विद्यार्थी संख्याअनुसार समयमै दरबन्दी परिपूर्र्ति गर्न नसक्नु, शिक्षक सेवा आयोगले लिने परीक्षामा शिक्षण विधिप्रति चासो नदिनु, शिक्षकलाई समय समयमा दिनुपर्ने पुनर्ताजगी तालिमको अभावले गर्दा शिक्षक शिक्षण सिकाइप्रति ह्रास हुँदै जानु, स्थानीय सरकारले विद्यालयको नियमित अनुगमन र विद्यालयको आवश्यकता पूर्ति गर्न नसक्नु र अभिभावकले समेत आफ्नो बालबालिकाको सिकाइबारे जिज्ञासु नहुनु तथा समयमै विद्यालयमा विद्यार्थीले पाठ्य पुस्तक नपाउनुजस्ता कारणले बालबालिकाको सिकाइ परिणाममुखी हुन सकेको छैन ।

जलेश्वर नगरपालिका– ९ प्रकौलीस्थित श्री जानकी परीक्षण माध्यमिक विद्यालयमा आठ सयभन्दा बढी विद्यार्थी हुँदा त्यहाँ शिक्षक ज्यादै कम छन् । कक्षा १२ सम्मको पढाइको अभिभारा बोकेको सो विद्यालयमा हालसम्म माध्यमिक तहमा शिक्षक नै अपुग हुँदा प्राथमिक तह र निम्नमाध्यमिक तहका शिक्षकले १२ कक्षाको विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । विद्यालयका प्रधानाध्यापक निर्मल सिंहले अझै मावि तहमै थप ६ भन्दा बढी शिक्षक हुनुपर्नेमा हालसम्म विद्यालयमा दरबन्दी थप नभएको बताए । यसले समेत विद्यार्थीको सिकाइमा अपेक्षाकृत प्रगति हुन नसकेको देखिन्छ ।

यता एकडारा गाउपालिका– ४ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक धनञ्जय मिश्रले शिक्षकका साथै अभिभावकसमेत विद्यार्थीको सिकाइमा ह्रास आउनुको कारण रहेको बताउँछन् । उनी निजी विद्यालयको तुल्नामा सामुदायिक विद्यालयमा अभिभावकको आफ्नो बालबालिकाको सिकाइप्रतिको चासो कम भएकाले बालबालिकासमेत घरमै कापी चेक नहुँदा र विद्यालयमा सिकेको कुराबारे चर्चा नहुँदा सिकाइप्रति संवेदनशील हुँदैनन् । शिक्षकले सीमित साधन स्रोतको प्रयोग गरी विद्यार्थीलाई सिकाउनुपर्ने बाध्यता रहेकोमा यसले समेत सिकाइमा ह्रास आउने गरेको उनको कथन छ ।

त्यस्तै, एकडारा गाउँपालिका स्थित मावि एकडाराका गणित विषयका शिक्षक लोचन ठाकुर भने विद्यार्थीको अनुपातमा शिक्षक अभाव र केही शिक्षककै समेत कमी कमजोरीले विद्यार्थी अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताउँछन् । साथै शिक्षक सेवा आयोग पास भएर आएका शिक्षकको गुणस्तर र शिक्षक सेवा आयोग नै पास नभई करार, राहत, निजी स्रोत तथा अन्य माध्यमले नियुक्त भएका शिक्षकहरूको गुणस्तरमा निश्चय पनि फरकपन हुने र यसले समेत सिकाइ प्रभावित हुने उनी बताउँछन् ।

‘शिक्षा पेसाभन्दा पनि बालबालिकाको भविष्य कोर्ने जिम्मेवारी भएकाले शिक्षकले तलबकै लागि मात्र विद्यालयमा आउने नभई बालबालिकाको सिकाइप्रतिको जिम्मेवारी पूरा गर्न विद्यालय आउने भएकाले यही भावले विद्यालय आउने शिक्षकले बालबालिकालाई राम्रो सिकाइ दिने गर्छन्,’ सोही विद्यालयका मावि तहका शिक्षक अमनकुमार झा बताउँछन् । तर, शिक्षक योग्य हुँदाहुँदै विद्यार्थीमा पढाइप्रतिको चासो कम हुनुमा शिक्षक मात्र दोषी नभई अभिभावकसमेतले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

विद्यालयमा केही घन्टा बिताएको विद्यार्थीले आफ्नो घर परिवार र समुदायसँग अधिकांश समय बिताउने गर्दा अभिभावकले समेत आफ्नो बच्चाले विद्यालयबाट पाएको अभ्यास गरे-नगरेको हेर्नुपर्ने र उनको संगतबारे समेत निगरानी राख्नुपर्ने शिक्षक झा बताउँछन् । वर्तमान समयमा विद्यालयमा पढ्न आउने केही प्रतिशत छात्रहरू खराब संगत, लागुऔषध सेवन, असमय प्रेम, मोबाइलको लत, खराब कार्यको देखासिखी, राजनीतिक सामीप्यता आदिले बिग्रिन लागेको अवस्थामा विद्यालयमा रहेको वेला शिक्षक तथा घरमा रहेको वेला अभिभावक र समुदायमा रहेको वेला समुदायले निगरानी गर्नु आवश्यक रहेको उनको भनाइ छ । विद्यार्थी नियमित विद्यालय आएसमेत सामान्य अवस्थाभन्दा बढी सिक्ने उनको भनाइ छ ।

शिक्षक झाले अभिभावक र शिक्षकबारे आफ्नो विचार राख्दै गर्दा एकडारा गाउँपालिका– ३ भंगहियाकै जनता आधारभूत विद्यालयमा भने फरक कुरा देखियो । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा बालविकासमा ३६, कक्षा १ मा २३, कक्षा २ मा २८ र कक्षा ३ मा २६ गरी कुल एक सय १३ विद्यार्थी अध्ययनरत छन । हाजिरी रजिस्टरमा झन्डै ९० प्रतिशतको उपस्थिति देख्दा विद्यालयमा भने ३० जना बालबालिकासमेत थिएनन् । शिक्षकले भने गाउँमै कोही बितेकाले बच्चाहरू घरतिर लागेको भनेर प्रस्ट्याउन खोजे । यहाँ शिक्षकले विद्यालय पुगेका सञ्चारकर्मीलाई झुक्याउन खोजेभन्दा पनि उनले आफैँलाई ठग्दै छन् कि भन्ने विचार आउनु अस्वाभाविक होइन ।

तल्लो कक्षामा पढ्ने बालबालिकाको जरा मजबुत भए उनले माथिल्लो कक्षामा समेत राम्रो गर्दै जाने हुन्छ, तर तल्लो कक्षामै उनीहरूले सिक्ने अवसर पाएनन् वा उनलाई सो सिक्ने समय हो भनेर शिक्षकले सम्झाउन सकेनन् र सिकाउन सकेनन् भने ती बालबालिका नै माथिल्लो कक्षामा आफ्नो नामसमेत लेख्न अप्ठ्यारो मान्छन् । अनि कसरी सुध्रिन्छ हाम्रो बालबालिकाको भविष्य ?

महोत्तरीमा वर्ड भिजन, सेभ द चिल्ड्रेन, आसमान नेपाललगायतका विभिन्न सङ्घसंस्थाहरूले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा काम गरिरहँदा तिनै संघसंस्थाले आफ्नो पार्टनर संस्थामार्फत बालविकास शिक्षकदेखि अन्य विभिन्न विषयगत शिक्षकलाई तालिमदेखि अन्य सुविधा प्रदान गर्दै आएको छ ।

यता थोरै आर्थिक भार थेग्न सक्ने अभिभावकदेखि विभिन्न जागिरमा रहेका तथा वैदेशिक रोजगारीमै रहेकाहरूले समेत पहिलो प्राथमिकतामा निजी विद्यालय नै रोज्दासमेत सामुदायिक विद्यालय उपेक्षित हुँदै गएको छ । कम आय भएका र निजी विद्यालयको आर्थिक भार थेग्न नसक्नेले सामुदायिक विद्यालय रोज्ने र रोजेरसमेत आफ्नो बालबालिकाको पठनपाठनबारे चासो नराख्ने गरेकाले समेत गुणस्तरीय शिक्षा प्रवाह हुन सकेको छैन । यसलाई बिस्तारै सुधारतर्फ लग्दै जानु नै भोलिका सन्ततीको सिकाइको लागि हितकर हुन्छ ।

विद्यालय, शिक्षक र विद्यार्थीबारे हामीले गुनासाहरू सुन्दै र भन्दै गर्दा यस पद्दतीलाई सुधार गर्नतर्फ समेत अग्रसर हुनु आवश्यक छ । देश आधुनिकतामा गए पनि शिक्षामा आधुनिकताको प्रयास गर्नैपर्ने हुन्छ । राणाकालीन समयको शिक्षा ऐन देश संघीयतामा गए पनि परिमार्जन हुन नसक्नु,विभिन्न समयमा शिक्षा प्रतिवेदन तयार गर्न लगाउने, तर त्यसलाई सार्वजनिक गर्न नसक्नुजस्ता समस्याहरू रहँदा देशको शिक्षामा सुधार आउनु दिवा स्वप्न देख्नुसरह हुनेछ ।

अझै विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी थप्न नसक्नुसमेत गुणस्तरीय शिक्षाको विकास हुन नसक्नु एउटा कारण रहेको श्री जानकी परीक्षण माविका शिक्षक सन्तोषकुमार चौधरी बताउँछन् । उनी निजामती कर्मचारीभन्दासमेत शिक्षकलाई कम दाज्नुसमेतले शिक्षण पेसाप्रतिको आकर्षण कम हुने कारण रहेको बताउँछन् । यसले अधिकांश योग्य व्यक्तिहरूसमेत शिक्षण पेसामा आउन नचाहँदा शिक्षा क्षेत्रले सकारात्मकतातर्फ काँचुली फेर्न नसकेको थप्छन् ।

यता प्रधानाध्यापक र शिक्षक नियुक्तिमा समेत राजनीति हावी हुनु र व्यवस्थापन समितिको नाममा मान्छे भर्ती केन्द्र बनाउनुले समेत विद्यार्थीको सिकाइमा प्रभाव पारिरहेकाले यसलाई समेत नियन्त्रण गर्नु आवश्यक छ । त्यस्तै शिक्षक सरुवा बढुवामा अनियमितता, शिक्षकलाई आर्थिक रूपले हेय दृष्टिले हेरिनु, शिक्षामा सरकारको बजेट आवश्यकताभन्दा निक्कै कम हुनु, समान तहको शिक्षक र निजामती कर्मचारीको सेवा–सुविधा तथा ग्रेडमा फरक हुनु, आधुनिक समयको मागअनुसार शिक्षण विधिको प्रयोग कम हुनुलगायतको समस्याको समाधान आवश्यक छ । समग्रमा शिक्षा सेवाको सुधारका लागि तीन तहको सरकार, विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकसमेतको चासो आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार