Thursday 7th of November 2024

बाजुरा भूकम्प : विद्यालय र स्वास्थ्य चौकीसहित केही घरमा क्षति

0 Shares

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउसो भएको भूकम्पबाट एक विद्यालय, एक स्वास्थ्य चौकी र केही घरमा क्षति पुगेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५ दशमलव २ म्यागग्नेच्युट मापन गरेको उक्त भूकम्पबाट विच्छ्या स्वास्थ्य चौकी र रूगिन स्वास्थ्य चौकीसहित हिमाली गाउँपालिका १ मा रहेको बालविकास भवनमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए ।

अहिलेसम्म मानवीय क्षति भएको भन्ने विवरण नआएको बताउँदै अध्यक्ष मल्लले भने, ‘मानवीय क्षति भएको रिपोर्ट अहिलेसम्म छैन । तर अस्तिको भूकम्पले चर्काएका घरहरू फुटेर खतम भए भन्ने खबर छ ।’ अध्यक्ष मल्लकाअनुसार यथार्थ विवरण संकलनका लागि प्रहरी र सबै वडाध्यक्षहरूसँग समन्वय भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिहं बोहराले दिएको जानकारीअनुसार हिमाली गाउँपालिका वडा न १ को बालविकास भवन भने पूर्ण रूपमा भत्किएको छ । त्यस्तै ८ घरमा क्षति भएको र बाँकी तथ्याङक संकलन कार्य जारी रहेको उनको भनाइ छ ।

 

गत माघ १० मा पनि हिमाली गाउँपालिकाकै विच्छ्यालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्नेचुटको गएको थियो । त्यस भूकम्पबाट ५८ भन्दा बढी घर भत्किएका थिए ।

प्रतिक्रिया