भारतिय सुरक्षाकर्मीले नेपाली युवकलाई कुटपिट गरेको भन्दै सम्सी नाकामा प्रदर्शन

महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको र बुधबार अपराह्न साढे ५ बजेतिर साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयको भनाइ छ ।

नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गरिरहन्छन् । सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ ।
एसएसबीका जवानले बुधबार साहलाई दुर्व्यवहार र कुटपिट गरेको भन्दै सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका हुन् । सशस्त्र प्रहरी गणका अधिकृतले यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेका थिए ।

सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले यो विषयमा दुवै पक्षबीच आज छलफल हुने बताए । पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले यस विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार