Friday 14th of June 2024

मधेश प्रदेशमा : शिविरमा गरिएको छोरी शिक्षा विमा अलपत्र

0 Shares

चैत ७ गते ।
जनकपुरधाम, – मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा विमा कार्यक्रमबाट २५ हजार छोरी वञ्चित भएका छन्। विमा फाराम भरेको करिब दुई वर्ष भइसक्दा पनि २५ हजार छोरीको हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन।

सुरुमा मुख्यमन्त्री कार्यालय मातहतबाट सञ्चालन भइरहेको ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीलाई सरकारले छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम गर्दै आएकोमा यो कार्यक्रमका बारेमा चेतनामूलक शिविर नै सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रियङ्का यादवले जानकारी दिए ।

शिविरबाट २५ हजार बालिकाको विमा फाराम भरेर सम्बन्धित स्थानीय तहमा राखिएकोमा हालसम्म ती फारामको विमा गर्ने अथवा नगर्ने बारे कुनै निर्णय नै नभएको उनले बताइन् ।

“मुख्यमन्त्री कार्यालयबाट सामाजिक मन्त्रालयमा गाभिने प्रक्रिया भइरहेको बेलामा छोरी विमा रोकिएको थियो। छोरी बीमाका लागि शिविरबाट भरेको फाराम स्थानीय तहले कोभिड १९ का कारण कार्यालयमा बुझाउन नसक्दा बीमा भएन।

त्यसपछि मुख्यमन्त्री ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम सामाजिक विकास मन्त्रालयमा सरेर आएपछि छुट्टै निर्देशिका बनाइयो”, उनले भनिन् । निर्देशिका अनुसार २०७६ चैतदेखि २०७८ पुससम्मको अवधिमा जन्मेका र फाराम भरेका छोरीहरूको बीमा अन्योलको अवस्थामा छ।

मधेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि उक्त अभियान सञ्चालन गर्दै आएको हो। अभियानको सुरुमा जन्मिएका छोरीलाई एक लाखको निःशुल्क बीमा गरिएको छ। २०७६ फागुनदेखि रकम वृद्धि गरी बीमा रकम तीन लाख पु–याएको अभियानका संयोजक यादवले जानकारी दिइन् ।

सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय मातहतमा आएपछि २०७८ माघ १ गतेदेखि यता जन्मेका छोरीको तीन लाखको निःशुल्क छोरी शिक्षा बीमा गरिएको छ।

प्रतिक्रिया