Tuesday 14th of January 2025

दलित समुदायले सयौँ वर्षसम्म सम्झने गरी केही घोषणा गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

0 Shares

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको छ । मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाण्डाैमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको हो ।

उहाँले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झने गरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दलित समुदायका माग र मुद्दाहरूको सम्बोधन अहिलेको परिस्थितिमा आफूलेबाहेक अरूले गर्न नसक्ने दाबी पनि गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडि जान्छ । अरूले गर्ने स्थिति मैले देखेको छैन । त्यस कारण म तपाईँहरूको अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिने गरी केही घोषणा म गर्दैछु ।’

प्रधानमन्त्री प्रचण्डले दलित समुदायको हक र अधिकारका निम्ति सिङ्गो राज्य र राज्यका निकायहरू जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने बताउनुभयो । त्यस्तै सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकारहरू जनयुद्धको उपलब्धिको रूपमा आएको बताउनुभयो ।

प्रतिक्रिया