Sunday 16th of June 2024

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

0 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामुलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सञ्चारकर्मीहरुको सीप तथा दक्षता अभिवृद्धि र अध्यावधिक गर्न एवं उच्चतम व्यवसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धनको नीति लिँदै आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्न प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।

उहाँले प्रेस सम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता र सबलीकरणको सवालमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो तेस्रो पटकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा वाक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित केही विषयहरु थोरै विवादमा आउन थालेपछि आफूले प्रेस स्वतन्त्रताका पक्षमा पहल अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया