गौशाला – महोत्तरीको गौशाला नगरपालिकामा सर्वसधारणलाई सुलभ र सरल सेवा प्रदान गर्नका लागि स्थापित नागरिक आरोग्य सेवा केन्द्रमा उपचार गराउन गएकाहरु निराश भई फर्किनुपर्ने बाध्यता भएको छ ।
गत फागुनको अन्तिम साता गौशाला नगरपालिका ५ स्थित पुरानो भवनमा स्थापित भएको सो नागरिक आरोग्य सेवा केन्द्रमा उपचार गराउन गएका विरामीहरु समयमै उपचार परामर्श सेवा र आवश्यकमात्रामा औषधी नपाएपछि विरामीहरु रितै हात फर्किन बाध्य भएका छन ।
कुनै पनि रोगको आयुर्वेद औषधिद्वारा उपचार गरि २३ प्रकारका आयुर्वेदिक औषधिहरु निः शुल्क रुपमा प्राप्त गर्ने सो सेवा केन्द्रमा सेवाग्राहीलाई औषधि वापत १ हजार देखि ५ हजार रुपैयाँ सम्म रकम तिर्नुपर्ने बाध्यता रहेकोे सेवाग्राहिहरुले गुनासो पोखेका छन ।
उपचार गराउन गएकी स्थानिय विमला देवीले भनिन, “एक त त्यहाँ आवश्यक मात्रामा औषधि छैन । चिकित्सकले बाहिरबाट औषधी ल्याईदिने नाममा विना रसिदको पैसा लिने गर्ने गरिन्छ । सेवामा संलग्न चिकित्सकहरु कामभन्दा पनि अन्यत्र ध्यानमा व्यस्त रहेका हुन्छन ।”
नगरपालिकाको कार्यालयले समयमै आवश्यक मात्रामा औषधीहरु उपलब्ध नगराएपछि सेवाग्राहीलाई आफुहरु सन्तुष्ट रुपमा सेवा दिन नसकेको बताउनुभयो । डा. कुमार झाले भन्नुभयो,“मैले नगरपालिकामा पटक पटक औषधिको माग गरेपनि कुनै सुनुवाई भएको छैन । नगपालिकाका उच्च पदाधिकारीहरु नगरपालिका घेराउ गर्न आएको भनेर आरोप पनि म माथि लगाईयो । जबकी पहिलो चरणमा प्राप्त भएको ४ लाख बराबरको औषधि मुश्किलले एक महिनामात्र पुग्यो ।”
अहिले जम्मा ३ लाख बराबरको औषधिमा ४ महिना पुर्याउनु पर्ने नगरको आदेशानुसार कार्यसम्पादन गर्दै आएको नागरिक आरोग्य सेवा केन्द्र गौशालाले जनाएको छ ।