Sunday 16th of June 2024

‘महाजन धनो लेलक आ धर्मो’ परमादेशपछि मात्रै जाहेरी दर्ता, आरोपित फरार

0 Shares

राजकरण महतो

काठमाडौं : मिटरब्याजको घनचक्कर पीडा त छँदै छ। त्यसमाथि मिटरब्याजीले दिएको बलात्कारको दर्दले उनी छटपटाइरहेकी छन्। सप्तरीकी उनी यति बेला न्याय माग्दै काठमाडौं आएकी छन्। सय पीडितको हुलमा मिसिएर आवाज बुलन्द गरिरहेकी छन्।

उनले सुरुमै भनिन्, ‘मिटरब्याजी साहुले ऋण दियो। त्यसपछि घरमा कामदार बनायो। अनि राति–राति मसँग गलत काम (यौन हिंसा) गर्‍यो।’

उनका अनुसार घटना तीन वर्षअघिको हो। पति वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए। दुई नाबालक सन्तान सुतिसकेका हुन्थे। त्यसपछि सुदखोर रामदेव साह तेलीले बलात्कार गर्थे। साह सप्तरीको खडक नगरपालिका कल्याणपुरका हुन्। उनी कहिले जग्गा फर्काइदिने त कहिले ब्याज र साँवा मिनाहा गरिदिने प्रलोभन दिन खोज्थे। पीडित महिला प्रतिकार गर्न खोज्थिन्। तर, सुदखोरले चक्कु र पेस्तोल देखाएर प्रतिकारको स्वरलाई दबाइदिन्थे। उक्त घटनाबारे कसैलाई भने परिवारै सिध्याइदिने धम्की दिन्थे रामदेव। null

रामदेवले गरिबीको फाइदा उठाउँदै घरेलु कामदार बनाएर तीन वर्षसम्म यौनशोषण गरेको दुखेसो उनले पोखिन्। विगत सम्झिँदै उनले मैथिली भाषामा भनिन्, ‘दैयाँ गे दैयाँ, महाजन धनो लेलक आ धर्मो। अब यी दुनियाँमा केना के जीउ ?’ अर्थात् ‘मिटरब्याजी साहुले ऋण पनि असुल्यो। जालमा परेर इज्जत पनि लुट्यो। अब कसरी बाँच्नू ?’

न्यायको खोजीमा महोत्तरी बर्दिबासबाट पैदल काठमाडौं आउँदै गर्दा उनीसहित पीडित मातातीर्थमा बास बसेका थिए। त्यहीं भेट भएकी उनले रुँदै मिटरब्याजीले गरेको अत्याचारबारे व्यथाको पोको खोलिन्। न्यायका लागि सरकारसँग गुहार मागिन्।

उनलाई गरिबीले थिचेको छ। त्यसमाथि मिटरब्याजी साहुले जग्गा हडप्यो। जीवनमा कहिले नमेटिने यौन हिंसाको दाग लगाइदियो। छोरोहरूले नै घरबाट निकाले। उनी श्रीमान्सँग मजदुरी गरेर जीवन चलाइरहेका छन्। न्यायको लडाइँ लडिरहेका छन्। कहिले बालुवाटार त कहिले मधेसको मुख्यमन्त्री कार्यालयतिर। कहिले जिल्ला प्रशासन कार्यालय राजविराजको अघिल्लतिर। ‘प्रहरी, प्रशासन र अदालतले न्याय दिएन। अन्तिम पटक हामी पीडित गाउँबाट हिँडेर काठमाडौं आएका छौं। सरकारले हाम्रो दुःख, पीडा सुन्छ भन्ने विश्वास छ’, उनले भनिन्।

उनले जग्गा किन्न मिटरब्याजी रामदेवसँग १० लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले त्यसको २७ लाख तिरिन्। तर, झन्डै १८ कट्ठा खेत आजभोलि भन्दै महिनौंं बिते पनि फिर्ता पाएकी छैनन्। सुदखोरकै नाममा छ। ‘लिएको ऋणभन्दा हामीसँग महाजन (मिटरब्याजी)ले कैयौं गुणा धेरै पैसा लियो। तैपनि जग्गा फर्काएको छैन। जग्गा फर्कादिने नाममा इज्जत पनि लुट्यो’, उनले रुँदै भनिन्, ‘पैसा पनि लियो। जमिन पनि फिर्ता दिएन। हाम्रो सबै कुरा खोसियो। लुटियो। अब हाम्रो के नै बाँकी रह्यो ? सरकारले न्याय नै दिलाउँदैन भने हामीलाई बरु मारिदियोस्। टन्टै साफ।’

पीडित मिलेर रामदेवविरुद्ध मुद्दा हालेपछि उनका छोरा र छोरीलाई पक्राउ गरी राजबिराज कारागारमा राखिएको उनले बताइन्। सुदखोरले पीडितको जग्गा छोरा र छोरीको नाममा पास गराएका थिए। आफूहरूको माग सम्बोधन नभएसम्म घर नफर्किने उनले बताइन्। यौनशोषण गर्ने मिटरब्याजीलाई कारबाही गर्नुपर्नेलगायत माग पीडितले गरेका छन्।

त्यसपछि परिन् मिटरब्याजीको जालमा

१५ अघि गाउँमा एक जना एजेन्ट आयो। उसले भन्यो– ‘को–को विदेश जान्छौं ?’ पीडितका पतिले भने, ‘म पनि जान्छु। तर, मसँग पैसा छैन।’ यो कुरा थाहा पाएका छिमेकीले ५ हजार दिएर पासपोर्ट बनाइदिए। अर्काले आफ्नो जग्गा रामदेवको नाममा पास गरेर डेढ लाख ऋण दिलाए। उनका पति मलेसिया उडे। साँवा र ब्याज एक वर्षमै तिरे। अनि छिमेकीको जग्गा साहुबाट फर्कादिए।

एक दिन पीडितका भाइले फोन गरेर भने, ‘दिदी सस्तोमा जमिन बिक्रीमा छ। किन्नुहुन्छ ?’ उनको प्रश्न नसकिँदै ती महिलाले जवाफ दिइन्, ‘जमिन लिन मन त छ। तर, हातमा पैसा छैन।’ लगत्तै जमिनको कुरा विदेशमा रहेका पतिलाई सुनाइन्। विगत सम्झिँदै उनले भनिन्, ‘उहाँले पैसा छैन कहाँबाट लिन्छौं भन्नुभयो। एकछिनमा फेरि भन्नुभयो, जाऊ साहु रामदेवकहाँ। जमिन किन्न ऋण दिन भन।’

१० वर्षअघि १ लाख ७७ हजार ऋण लिइन्। तर, पीडितको पैसा परेको सात कट्ठा ११ धुर जग्गा साहुले आफ्नो नाममा पास गरे, ऋण चुक्ता गरेपछि फर्काउने शर्तमा। उनले पाँच पटकमा १० लाख ऋण लिएर झन्डै १८ कट्ठा किनिन्। ‘ऋण लिन्थ्यौं। उसकै नाममा जग्गा पास गराइदिन्थौं। पटक—पटक गरेर १० लाख ऋण लिएका थियौं। २७ लाख दियौं’, उनले भनिन्, ‘तर, साहुले जग्गा हाम्रो नाममा फिर्ता गरेन। श्रीमान्ले विदेशबाट भन्नुहुन्थ्यो, महाजन (साहु)लाई सबै पैसा तिरिसक्यो। जाऊ आफ्नो नाममा जग्गा फिर्ता गराऊँ। म जान्थेँ । आजभोलि भन्दै साहुले टारिदिन्थ्यो।’

उनका श्रीमान् बिदामा आउँदा जग्गा फर्काइदिन दुवै जना साहुलाई फोन गर्थे। तर, साहुले फुर्सद छैन भनेर टार्थे। बिदा सकेपछि श्रीमान् विदेश गइहाल्थे। ऋण तिर्दा पनि साहुले जग्गा फर्काउन साहुले आलटाल गरिरहे। ‘मैले जग्गा फिर्ता गराउन भन्न जाँदा मेरो श्रीमान्लाई फोन गरेर साहुले भन्थे–  श्रीमतीको नाममा जग्गा पास गराएर के गर्छौं ? अर्कोसँगै भागेर जग्गा सखाप पार्छ। अनि के लिन्छौं ? विदेशमा जे
कमाउँछौं ? आउँदा केही रहँदैन’, पीडितले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘मलाई चाहिँ साहुले अहिले लेखनदास छैन। कहिले फुर्सद छैन।  मेरो मुन्सी आएपछि काम हुन्छ। यस्तै, यस्तै भन्दै फर्काइदिन्थ्यो।’

त्यही क्रममा साहुको उनी साहुको जालमा परेकी थिइन्। ‘कति दौडन्छौ ? मेरो घरमा नोकर छैन। तेरो श्रीमान् पनि विदेशमा छ। मेरै घरमा बस। घरको कामकाज गरिदेऊ। तँलाई दरमाहा (तलब) पनि दिन्छु। तेरो जमिन पनि फिर्ता गरिदिन्छु। तर, यो कुरा कसैलाई नभन्नू’, त्यो बेला साहुले आफूलाई भनेको उद्धृत गर्दै उनले भनिन्। जमिन आफ्नो नाममा आउँछ भने नबोल्ने बताएको उनले सुनाइन्।

अन्तै कोठा भाडा लिएर साहुको घरमा काम गर्ने योजना बनाइन्। तर, साहुले  आफ्नै घरमा अलगै कोठा दिएर बस्न लगाए। श्रीमान् विदेशमा थिए। यता दुई छोरा र उनी। आफ्नो घरमा ताल्चा लगाएर उनी साहुको घरमा सन्तानसहित बस्न थालिन्। उनले बिहानदेखि अबेर रातिसम्म कामकाज गर्न थालिन्।

साहुका श्रीमती, छोराछोरी धरानमा बस्थे। रामदेव सप्तरीमा सुदखोरको धन्दा चलाउँथे। ‘बच्चाहरू सबैरै सुत्थे। मैले साहुलाई खाना खुवाएर म पनि खान्थेँ। आफ्नो कोठामा सुत्न गएपछि साहु पछिपछि आएर मसँग गलत काम गर्न थाल्यो’, उनले भनिन्।

यौनहिंसाबारे गाउँले र विदेशमा रहेका पतिलाई सुनाउने भन्दा साहुले डर देखाएको उनले बताइन्। ‘कसैलाई भनिस् भने तेरो घरवालालाई मरवाइदिन्छु। तेरो बेटा (छोरो)लाई मराइदिन्छु। म भाग्न खोज्दा मेरो छोरोलाई खोसिहाल्थ्यो’, उनले भनिन्, ‘मेरो साथ पैसा छ। तेरो साथ केही छैन। धेरै बोलिस् भने तेरो परिवारै सिध्याइदिन्छु। तँ के गर्न सक्छेस्। म डरले कसैलाई केही भन्न सकिन्न।’ तीन वर्षसम्म यौनशोषणको सिकार बन्नुपरेको उनले सुनाइन्। श्रीमान् विदेशबाट फर्किन लागेपछि साहुले उनलाई घरबाट पठाए।

अतः माथि विवेचित आधार र कारणबाट निवेदकले हुलाकमार्फत दिएको जाहेरी दरखास्त सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा (३क) बमोजिम निवेदकलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई ऐ. दफा ११ बमोजिम निकासा दिनू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले गत जेठ २० गते गरेको फैसलाको अंश

परमादेशपछि मात्रै जाहेरी दर्ता, आरोपित फरार 

मिटरब्याजपीडित महिलाले बलात्कार घटनाको जाहेरी दर्ता गर्न ठूलो सास्ती भोग्नुपर्‍यो। अदालतले परमादेश जारी गरेपछि मात्रै जिल्ला प्रहरी कार्यालय सप्तरीले जाहेरी लिएर छानबिन अघि बढाएको हो।

मिटरब्याजी रामदेव साहविरुद्ध जबरजस्ती करणी आरोपमा गत असार २ गते जाहेरी परेको एसपी नरेन्द्र कार्कीले बताए। उनका अनुसार पीडितलाई २०७७ माघ ९ गते राति बलात्कार गरेको पीडितले जनाएकी छन्।

‘पीडित महिलाको स्वास्थ्य परीक्षण गराएका छौं। अदालतबाट पक्राउ पुर्जी लिएर आरोपी रामदेव साहलाई खोजिरहेका छौं’, एसपी कार्कीले अन्नपूर्ण पोस्ट्सँग भने।null

त्यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासले गत जेठ २० गते परमादेश जारी गरेको थियो। ‘अतः माथि विवेचित आधार र कारणबाट निवेदकले हुलाकमार्फत दिएको जाहेरी दरखास्त सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा (३क) बमोजिम निवेदकलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई ऐ. दफा ११ बमोजिम निकासा दिनू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’, न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोख्रेलको संयुक्त इजलासले गरेको फैसलामा लेखिएको छ।

पीडित महिला २०७८ मंसिर १२ गते जिल्ला प्रहरी कार्यालयमा पुगेकी थिइन्। तर, त्यहाँ जाहेरी नलिएपछि त्यसको भोलि हुलाकमार्फत जिल्ला सरकारी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि दरखास्त पठाएकी फैसलामा उल्लेख छ। त्यसपछि पनि कानुनी प्रक्रिया अघि नबढेपछि पीडितले परमादेशको आदेश माग गर्दै मंसिर २१ गते प्रहरी, प्रशासन र सरकारी वकिल कार्यालयलाई विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएकी थिइन्। अदालतले त्यस विषयमा मंसिर २३ गते लिखित जवाफ माग गरेको थियो।

सप्तरीको खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी रामदेव साहसहित परिवारका ९ जनाविरुद्ध १७ पीडितले २०७८ फागुन ११ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिएका थिए। ती आरोपितमा साहकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायत छन्। कल्याणपुरका इन्स्पेक्टर राजु अधिकारीले पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरी परेको बताए।

उनका अनुसार छोरी अनुराधा र छोरा नन्दकिशोर पक्राउ परी पुर्पक्षका लागि गत असार २२ गते राजविराज कारागार चलान भएका छन्।

प्रतिक्रिया