Saturday 15th of June 2024

छोरी- बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास कलेज

0 Shares

गोपालप्रसाद बराल

महोत्तरी /  उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा जान अभिभावकको स्वीकृति नपाएका छोरी–बुहारीले यस कलेजमा उच्च शिक्षाको रहर पूरा गर्न पाएका हुन्।

केही वर्षयता स्नातकोत्तर तहको अध्यापन पनि गराउन थालेको यो सामुदायिक कलेज अहिले बर्दिबासमात्रै नभएर औरही, भङ्गाहा, गौशालाका साथै मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट पनि पढ्न आउनेको उल्लेख्य सङ्ख्या छ । केही वर्ष पहिले स्नातक सकेका छोरी–बुहारी पनि स्नातकोत्तर अध्ययनका लागि आउन थालेका छन् ।

“छोरीमात्र नभएर विवाहित बुहारी पनि नजिकमा कलेज भएपछि स्नातकोत्तर गर्न भर्ना भएका छन्”, उक्त क्याम्पसकाका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद आचार्य भन्छन्, “दश/बाह्र वर्ष पहिले स्नातक सकेर अन्त पढ्न जान नसकेका थुप्रै विवाहित महिला स्नातकोत्तरको अध्यापन थालिएपछि यहाँ पढ्न आउन थालेका छन् ।”

बर्दिबास–१४ की भगवतीकुमारी साहलाई विवाहपछि स्नातकोत्तर पढ्न पाइएला भन्ने लागेको थिएन । आफ्नो बस्तीकै नजिक क्याम्पसमा स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उनलाई घरकै सातोपिठो खाएर पढ्ने अवसर मिलेको छ ।

“हाम्रो समाजमा गरिबीले मात्र नभई सुरक्षा संवेदनशीलताका कारण पनि छोरी–बुहारीलाई बाहिर पढ्न पठाउन अभिभावकले अप्ठ्यारो मान्छन् तर घर माइती दुवैको साथ पाउँदा अहिले आफ्नै बस्तीको कलेजमा डिग्री गर्दैछु,” उनी भन्छिन्।

बर्दिबास–५ चेरु माइती भएकी पवित्रा देवकोटाले पनि स्नातक गरेपछि स्नातोकत्तर गर्ने रहर मार्नुपरेको थियो तर बर्दिबास–१ मा विवाह भएकैले घरबाट एक किलोमिटर दूरीको कलेजमा स्नातकोत्तर तह पढ्न पाइएको उनी बताउछिन।

त्यस्तै बर्दिबास–१४ की शोभा साह, बर्दिबास–२ माइती भएकी प्रियन्का सुवेदी, बर्दिबास–१ की सरिता कार्की र शिक्षण पेसाकी पवित्रा आचार्यलाई पनि कलेजको सुगमताले विवाहपछि स्नातकोत्तर तहको अध्ययनको अवसर मिलेको छ ।

“यहीबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो तर माइत बसेर पढ्ने वातावरण मिल्यो”, बर्दिबास–२ माइती भएकी प्रियन्का सुवेदी भन्छिन्, “अब पार लगाइन्छ भन्ने लागेको छ ।” यसैगरी शोभा गौतम, कविता राउत र मीना पौडेलसहित स्नातकोत्तर तहका छात्राले बर्दिबासमा उच्च तहको पठनपाठन सुरु हुनु आपूmहरूलाई वरदान नै बनेको प्रतिक्रिया दिएकी छिन्।

स्नातकोत्तर तहमात्र नभई स्नातक तहमा पनि छात्राको सङ्ख्या बढी छ । “स्नातकोत्तर तहका कुल ६० मध्ये ४० छात्रा छन् । तिनमा पनि ७० प्रतिशत त विवाहित छन्”,सहायक क्याम्पस प्रमुख आचार्य भन्छन्, “स्नातक तहमा पनि छात्राकै सङ्ख्या बढी छ ।”

कक्षा १२ पास गरेपछि गरिबीका कारण बाहिर पढ्न जाने अबसर पाउनु नभएकी बर्दिबास–९ पशुपतिनगरकी रेखाकुमारी महतोले स्नातक तहको अध्ययन यहाँ थालेकी छिन्। स्नातक तह प्रथम वर्षकी उहाँ पढ्न दैनिक साइकलमा सात किलोमिटर दूरीको क्याम्पस पुग्छिन्।

“आफ्नै बस्तीको राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट १२ कक्षा पास गरेँ, धन्न यहाँ कलेज भएकाले पढ्न पाइएको छ ।” पढ्ने दृढसङ्कल्पले थुप्रै पारिवारिक असजिलोलाई नजिकको कलेजले अनुकूल बनाएको रेखाको भनाइ छ । उनीसँगै सो बस्तीका १० जना यस कलेजमा भर्ना भएका छन् । न्यून शैक्षिक शुल्क, घरबस्तीबाट नजिकको कलेज भएपछि छोराछोरीलाई उच्च शिक्षा पढाउन अभिभावकले पनि राहत मिलेको ठानेका छन् ।

बर्दिबास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तरको पठनपाठन सुरु भएको चार वर्ष भएको छ । यो तहको पठनपाठन सुरु भएपछि स्नातक गरेर घरजम गर्न लागेका, जागिरमा गएका र अन्य व्यवसाय सम्हालेका छोरी–बुहारीले स्नातकोत्तर तहको अध्ययन गर्न पाएका छन् ।

विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा विभिन्न विषयको अध्यापन हुँदै आएको छ । त्यसैगरी विसं २०७५ देखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको थियो ।

स्नातकोत्तर तहको पठनपाठन सुरु भएकाले महोत्तरीकै औरही–८ टिम्किया बस्तीकी सुनिता ठाकुर यस कलेजले आफ्नो चाहना पूरा गरेको बताउछिन्। उनले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन गरेकी हुन्।

“एसएलसी (हालको एसइई) पछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी नै मेरा लागि बाधक बन्यो”, सुनिता भन्छिन्, “जे होस् अभावैअभावका बीचमा पनि स्नातकोत्तर पुरा गरेँ ।” आफन्तहरूले आफ्नो स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलारले भने यो छोरीको निर्णयमा भर पर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइदिनुभएको उनको भनाइ छ ।

“सम्पत्ति नभएर बुवाले स्टाफ नर्स पढ्ने मेरो रहर पु¥याउन सक्नुभएन”, सुनिता भन्छिन्, “तर मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न छेकबार पनि भएन ।”

यसैगरी भक्तपुर माइती भएकी कृष्णमाया बिखुञ्छे(मण्डल) पनि बर्दिबास–८ हाथीलेटमा विवाह भएर आएपछि घर (हाथीलेट)बाटै धाएर स्नातकोत्तर तह पार भएपछि दङ्ग छिन् । “एसएलसी गर्दै गर्दा विवाह गरियो, त्यो पनि मधेसका मण्डलसँग बिहे गरेपछि अगाडि पढ्न पाइन्न कि भन्ने लागेको थियो”, उनी भन्छिन्, “तर पति, सासु, ससुरा सबैले वातावरण मिलाइदिँदा स्नातोकत्तर पार लगाएँ ।”

क्याम्पसमा यसअघि पनि घरबाटै पढ्न सक्ने वातावरण पाएर छोरी–बुहारीले स्नातकतहसम्मको अध्ययन गर्न पाएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्का बताउँछन्।

क्याम्पसमा स्नातक तहमा शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुँदै आएको छ । स्नातकोत्तर तहमा भने शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयको मात्र त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीको भनाइ छ । अहिले स्नातक र स्नातकोत्तर तहमा गरी एक हजार एक सय छात्रछात्रा रहेकामा ६० प्रतिशत भन्दामाथि छोरी–बुहारीको सङ्ख्या रहेको उनी बताउँछन्।

जताततै सामुदायिक क्याम्पसहरूको शाख गिर्दै गएको प्रतिक्रिया आए पनि यस क्याम्पसको भने शान बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले क्याम्पसले उच्च शिक्षामा राम्रो फड्को मारेको बर्दिबास–८ का सेवा पूर्वशिक्षक सत्यनारायण यादव बताउँछन्। -रासस

प्रतिक्रिया