Friday 14th of June 2024

‘२०७९’ निर्वाचनको वर्ष : चुनिए ३७ हजार ४६ नेता

0 Shares

काठमाडौं / प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन इतिहासमा २०५६ सालपछि एकै चरणमा निर्वाचन भएको यो नै पहिलो वर्ष मानिएको छ ।

वर्ष २०७९ मा निर्वाचनमार्फत वडा सदस्यदेखि, पालिका तहका नेतृत्व हुँदै प्रदेश र प्रतिनिधिसभा सदस्यसम्म चुनिएका छन् । यस्तै, मुलुकले वर्ष २०७९ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमार्फत दुवै पदमा नयाँ अनुहार पाएको छ ।

निर्वाचनमार्फत नेपालको राजनीतिक इतिहासमा वर्ष २०७९ ले ऐतिहासिक वर्षका रूपमा दर्ज हुने अवसरसमेत पाएको हो । गाउँगाउँमा सिंहदरबारको नारासहित संघीय संरचनामा अघि बढिरहेको मुलुकमा घरआँगनबाटै सेवा लिन आफ्ना नेता आफैं छान्ने दोस्रो विशेष वर्षका रूपमा वर्ष २०७९ रह्यो ।

३० वैशाखबाट स्थानीय तहको निर्वाचन हुँदै आरम्भ भएको मुलुकको चुनावी यात्रा ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनसँगै सकिएको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा सम्पन्न हुँदा स्थानीय तहका ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३० वैशाखमा नेतृत्व चयन भएको थियो ।

सो निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्यसमेत निर्वाचनमा जनताका मतमार्फत चुनिएको थियो । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन भएका छन् ।

यसैगरी, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक गरी २ सय ७५ जना प्रतिनिधिसभा सदस्य पनि वर्ष २०७९ मा चयन भएका छन् ।

यस्तै, वर्ष २०७९ मा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि नयाँ नेतृत्व निर्वाचित हुन पुगे । प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी ५ सय ५० जना प्रदेशसभा सदस्य वर्ष २०७९ मा निर्वाचित गरिएको हो ।

२५ फागुनमा राष्ट्रपतिको निर्वाचनमार्फत नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचनमार्फत रामसहायप्रसाद यादव निर्वाचित भएका हुन् ।

स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभामासमेत गरी वर्ष २०७९ मा ३६ हजार ४६ जना नेता चयन गरिएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनपछि वर्ष २०७९ निर्वाचनको वर्षका रूपमा बितेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्ष २०७९ निर्वाचनको वर्षका रूपमा दर्ज भएको बताए ।

थपलियाले संविधानले परिकल्पना गरेको तीनै तहको निर्वाचनलाई आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गरेको भन्दै आममतदाता, नेपाल सरकार, सुरक्षा निकायसहित सबै बधाईको हकदार भएको बताए ।

नेपालको संविधान एवं कानुनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारबाट जनप्रतिनिधि छनोट गर्ने अधिकार सुनिश्चित गरेको छ । यस्तै, प्रत्येक बालिग नेपाली नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी हुने, मतदान गर्ने, निर्वाचनसम्बन्धी सूचना प्राप्त गर्ने तथा हरेक नागरिकले छान्ने र छानिने अधिकारको प्रत्याभूति संविधानमा छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि निर्वाचनको अघिल्लो दिन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १८ वर्ष उमेर पुगेका मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० छ । सो संख्या आयोगले गत ३ मंसिरमा सार्वजनिक गरेको हो ।

सो नामावलीमा ८८ लाख ४७ हजार ५ सय ७९ (४९ दशमलव १८ प्रतिशत) जना महिला ९१ लाख ४० हजार ८ सय ६ (५० दशमलव ८२ प्रतिशत) पुरुष र १८५ (शून्य दशमलव शून्य १ प्रतिशत) अन्य मतदाता दर्ता भएको निर्वाचन आयोगको तथ्यांक छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३१ भदौ २०७९ मा आयोगले १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र निर्धारण गरेको थियो ।

यसैगरी, अस्थायी मतदानका लागि आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र तोकेको थियो भने ४ लाख ५० हजार अस्थायी मतदाता स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा ८६ वटा राजनीतिक दलले निवेदन दिएकोमा प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले निर्वाचन प्रयोजनका लागि बन्दसूची पेस गरेकोमा १२ वटा राजनीतिक दल प्रतिनिधिसभामा सहभागिता सुनिश्चित गर्न सफल भएका छन् ।

४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चितवन २, बारा २ र तनहुँ १ मा विविध कारणले रिक्त भएको पदमा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया