
महोत्तरी – शिरीष न्युज अनलाईनका सहकर्मी तथा रुपान्तरण अनलाईनका सहकर्मी धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ लाई महोत्तरीको औरही बजारको ठेकेदार नथुनी ठाकुरले कुटपीट गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ठेकेदार ठाकुरले श्री प्रसाद सिंह मावि औरहीमा आयोजना गरिएको छलफलमा समाचारको प्रमाण सहित अनिवार्य उपस्थित हुनुपर्ने भन्दै पत्रकार यदुवंशीलाई फोनमा धम्की दिएका हुन् ।
ठेकेदार ठाकुरले आफुले राखेको छलफलमा उपस्थित नभए विगतमा पत्रकारलाई गरेको दुर्व्यवहार जस्तै गरिने र जे पनि गर्न सकिने भनि धम्की दिएको पत्रकार यदुवंशीले जनाएको छ । उनले धम्की दिएको कल रेकर्ड सुरक्षित रहेको छ।
आईतबार बिहान करिव १० बजे बजार ठेकेदार ठाकुरले समाचारको विषयलाई लिएर फोन गर्दै पत्रकार यदुवंशीलाई रामधुलाई गर्ने धम्की दिएको प्रमाण सुरक्षित रहेको विज्ञप्तीमा जनाइएको छ ।
गत शुक्रबार पत्रकार यदुवंशीले ‘ठेकेदारको दादागिरीका कारण औरही बजार बन्द हुने अवस्थामा’ भन्ने शीर्षकको समाचार लेखेका थिए । समाचारमा तोकेको दर–रेट भन्दा ठेकेदारले व्यापारीहरुसंग बढी बट्टी असुली गरिरहेको बिषयलाई लिएर बजार ठेकेदार ठाकुरले पत्रकार यदुवंशीलाई दिएको धम्कीको प्रति महासंघले कडा निन्दा र घोर भत्सर्ना गरेको छ ।
समाचारको सम्बन्धमा चित्त नबुझे प्रचलित कानुनी प्रक्रिया अबलम्बन गर्न सक्ने बाटो हुँदाहुँदैं ठेकेदार ठाकुरले कानुनलाई मुठ्ठीमा लिएर पत्रकारलाई कुटपीट गर्ने धम्की दिनुले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको ठहर गरेको छ ।
महासंघका सचिव राजकरण महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई तुरुन्त पक्राउ गरेर कानुन अनुसार कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेको छ । साथै नेपाल पत्रकार महासंघले बनाएको पत्रकार आचार संहिताको पूर्ण पालन गर्दै निडर भएर देश र जनताको पक्षमा कलम चलाउन सबै पत्रकारहरुमा अनुरोध गरेको छ ।
त्यसैगरी शिरीष संचार समूहले पनि एक विज्ञप्ती जारी गर्दै धम्की दिने ठेकेदारलाई कार्वाहीको माग गरेकाे छ । समूहका अध्यक्ष अजयकुमार साह द्वारा जारी विज्ञप्तीमा समाचारको विषयलाई लिएर पत्रकारलाई धाकधम्की दिनु भनेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको घोर उल्लघंन भएको उल्लेख गरिएको छ ।
समाचारको विषयमा चित्त नबुझे उजुरी दिने र कानुनी उपचार खोज्ने प्रशस्त उपायहरु हुँदा हुँदै पनि व्यक्तिगत रुपमा फोन गरेर पत्रकारलाई धम्की दिनु भनेको कानुनी राज्यको खिल्ली उडानु रहेको उल्लेख गर्दै विज्ञप्ती मार्फत कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम रहेको ठहर गर्दै शिरीष मिडिया ग्रुप प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको शान्ति सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासन संग जोडदार माग गरेको छ ।
त्यसैगरी गौशला स्थित मिडिया हाउसहरु रेडियो जुनतारा र रेडियो रुपान्तरणले पनि विज्ञप्ती जारी गर्दै पत्रकारलाई धम्की दिनेलाई कार्वाहीको माग गरेको छ ।
प्रतिक्रिया