Sunday 16th of June 2024

मिटर ब्याज पीडितले ‘दमन’विरुद्ध थप आन्दोलन घोषणा गर्ने

0 Shares

काठमाडौँ-  मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ ।

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको उनको आरोप छ ।
‘यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन् । उनले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।
सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको उनको आरोप छ ।
प्रतिक्रिया