Friday 14th of June 2024

‘प्रहरीको लाठीले टाउको फुट्यो, माग पूरा नभएसम्म शान्ति वाटिका छोड्दैनौं’

0 Shares

काठमाण्डौ – नवलपरासी जिल्ला बर्दघाट नगरपालिका–१४ सुस्ता पश्चिमका कुलबहादुर थापा टाउकोको उपचार गराउन काठमाण्डौ आउनु भएको होइन । तर, उहाँको टाउकोमा बेण्डेज छ । टाउकोमा तीन/चार फन्का बेण्डेज बानेर झोलाको सिरानी हालेर उहाँ काठमाण्डौको शान्ति वाटिकामा पल्टिरहनु भएको छ । मिटरब्याज पीडित र प्रहरीबीच शान्ति वाटिकामा भएको झडपका क्रममा प्रहरीको लाठी लाग्दा उहाँको टाउको फुट्यो । तरर रगत बग्यो । अनि उपचारका लागि नजिकै रहेको ट्रमा सेन्टरमा जाँदा डाक्टरले सात टाँका लगाएर पठाइदिए । घाउ दैनिक सफा गर्नुपर्ने र सात दिनमा टाँका काट्नुपर्ने भनेर डाक्टरले उहाँलाई भनेका छन् ।

मिटरब्याज पीडित शान्तिपूर्ण धर्नामा सिंहदरबारमा जान लागेका बेला भएको झडपमा प्रहरीले लाठी चार्ज गर्दा उहाँको टाउको फुटेको हो । झडपका कारण ४५ जना ट्रमा सेन्टरमा गएर उपचार नै गराउनु पर्ने स्थिति बन्यो । शान्ति वाटिकामा सोमवार भएको झडप हेर्दा यसले शान्ति वाटिका नभएर युद्ध मैदानको झल्को दिएको झडपमा परेकाहरुको अनुभव छ ।

यही झडपमा परेका ३७ वर्षीय थापा भन्नुहुन्छ, ‘हेर्दा त मेरो टाउको प्रहरीले फुटाएको हो । तर, मेरो टाउको प्रहरीले नभइ मिटरब्याजीले फुटाएको हो । उसकै कारणले आन्दोलनमा आउनु पर्यो । अनि टाउको फुट्यो ।’

उहाँको बुवाले २०७२ सालमा काठमाण्डौका साहु लालबहादुर खड्कासँग सात कट्ठा जग्गा राखेर ४ लाख रुपैयाँ ऋण लिनुभएको थियो । उहाँ त्यस बेला वैदेशिक रोजगारीका सिलसिलामा हुनुहुन्थ्यो । अनि साहुले ललाइफकाइ ऋण तिरेपछि जग्गा फिर्ता दिन्छु भनेर दृष्टिवन्धक भनेर झुक्याएर राजीनाम पास गराए । २४ प्रतिशत ब्याज तिर्ने गरी ८ लाखको कागज पनि गराए साहुले । जब उहाँहरुले पैसा तिर्दै अब सकियो भन्ने बेलातिर साहुले निहुँ खोज्न थाले । अब १७/१८ लाख रुपैयाँ दिए मात्र पास गर्ने नत्र अर्कैलाई बेचिदिन्छु भनेर अत्तो थाप्न थाले । पछि साहु सम्पर्क विहीन भए । साहु सम्पर्क विहीन भएपछि मालपोतमा गएर बुझ्दा त्यो जग्गा अर्कैको नाममा पास भइसकेको रहेछ ।

मिटरब्याजीकै कारण सम्पत्ति पनि गयो र घाइते पनि भएपछि अब उहाँ यो समस्याको निराकरण नभइ घर नजाने पक्षमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सम्पत्ति गयो । टाउको फुट्यो । अब हाम्रा मागहरु सम्बोधन नभएसम्म हामी शान्ति वाटिका छोडेर उठेर जाँदैनौँ ।’

यस्तै मिटरब्याज पीडितको आन्दोलनमा सहभागी हुन ६ महिनाको काखे शिशु बोकेर शान्ति वाटिकामा आउनु भएको छ सिरहाको सिरहा नगरपालिकाकी जरिना खातुन । मिटरब्याज पीडितको बारेमा कुरा गर्न लागेको थाहा पाए जस्तो गरी ६ महिनाको बालक शैयद अ‍ैयान आमासँग कुरा गर्दा रुने कराउने गर्छन् ।

खातुनले पाँच वर्ष अगाडि पटक पटक गरी ३ लाख रुपैयाँ साहुसँग ऋण लिनु भएको थियो । त्यसका लागि उहाँको सात कट्ठा जमिन रोक्का राखिएको छ । उहाँले पनि विभिन्न मितिमा गरेर झण्डै ९ लाख रुपैयाँ तिरिसक्नु भयो । तर, अझै पनि ऋण चुक्ता भएको छैन । अब अझै ८ लाख रुपैयाँ दियो भने ऋण चुक्ता हुन्छ अनि तमसुक पनि च्यात्छु भनेर उहाँलाई साहुले भनिरहेको छ ।

‘३ लाखको ८ लाख दिइसक्यो अझै ८ लाख चाहिन्छ भनेको छ । कहाँबाट दिने अब । जग्गा छ भनेको छ त्यो पनि छ कि छैन थाहा छैन । हामी गरिब मान्छेले यति धेरै पैसा अब कसरी दिने फेरि ?’ उहाँ प्रश्न गर्नुहुन्छ।

सप्तरी जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ का विनोदकुमार साह जिल्लाको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष तथा पीडित पनि हुनुहुन्छ । मिटरब्याज पीडित र प्रहरीबीच भएको झडपका क्रममा दाहिने कुइनोमा लागेको चोट देखाउँदै ४५ वर्र्षीय साह भन्नुहुन्छ, ‘सरकारले दिएको उपहार हो यो ।’

उहाँलाई वैदेशिक रोजगारमा मलेसिया पठाउन उहाँको बुवाले २०६२ सालमा पाँच कट्ठा जग्गा राखेर साहुसँग ९० हजार ऋण लिनु भएको थियो । सयकडा साढे तीन थियो ब्याज थियो जुन प्रतिशतमा ३६ प्रतिशतभन्दा धेरै हुन आउँछ । तर, काम राम्रो हुन नसक्दा उहाँले पैसा पठाउन सक्नु भएन । र, पछि मात्र उहाँलाई दृष्टिवन्धक भनेर राजीनामा पास गराएको भन्ने थाहा भयो । त्यसपछि उहाँले जिल्ला प्रशासन कार्यालय हुँदै अहिले जिल्ला अदालतमा मुद्दा गरिरहनु छ । जसको आउँदो १० गते तारिखसमेत छ ।

आन्दोलनमा लागेर चोटपटक लाग्यो, सम्पत्ति त यसै गइसकेको छ यसै गइसकेको छ भने अब यहाँबाट रित्तो हात गाउँ फर्केर झनै साहुसँग दुश्मनी मोल्नु मात्र हो । त्यसैले अब रित्तो हात नफर्कने र न्याय नपाएसम्म फर्कने उहाँको सुरसार छैन ।

बर्दिबास नगरपालिका–३ महोत्तरीका मदन अर्याल आर्फैँ पनि मिटरब्याज पीडित हो भने हिजोको झडपमा परेर उहाँको पनि शरीरमा निलडाम रहेको छ । उहाँ पीडितहरुलाई समेट्दै मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत् आन्दोलनको अगुवाइ पनि गरिरहनु भएको छ । त्यस बेला समितिले दुई चरणमा गरी ६१ दिन लामो संघर्ष गरेको थियो । त्यसपछि सरकारले समितिसँग सरकारले त्यस बेला सरकारले साउन २७ गते गृह मन्त्रालयका तत्कालीन सहसचिव भिष्मकुमार भुसालको नेतृत्वमा एउटा कार्यदल गठन भएको थियो ।

भदौ २७ गते कार्यदलले प्रतिवेदन पेश गरेपछि सरकारले २०७९ असोज १ गते समितिसँग एउटा सहमति गरेको थियो । सहमति अनुसार पीडितले तमसुक जिल्ला प्रशासन कार्यालयमा बुझाउने काम पनि गरे । तर, कुनै कारबाही नभएपछि माघमा पनि आएर प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्डलाई समितिले भेट गर्यो । त्यस बेला पनि काम गर्ने आश्वासन पाएको थियो समितिले तर, काम नभएपछि अहिले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको अर्याल बताउनुहुन्छ ।

आन्दोलनका लागि तराईका सिरहा, सप्तरी, महोत्तरी तथा पहाडका नवलपरासीलगायत विभिन्न जिल्लाबाट गरी चैत २० गते झण्डै  हजार/१२ सय मान्छे आन्दोलनका लागि काठमाण्डौ आएका छन् । तर वैशाखमा तराईको जुड–शीतल पर्व तथा गहुँ काट्ने लगायतका कामका कारण अहिले भने ४/५ सय मान्छे शान्ति वाटिकामा रहेको पनि अर्यालले जानकारी दिनुभयो ।

सरकारले असोज १ गते गरेको सम्झौता लागू नगरी भर्खरै चैत १८ गते अर्को समूहसँग फेरि सम्झौतामाथि सम्झौता गर्ने तर कार्यान्वयन भने नगर्ने गरेका कारण यो आन्दोलन गर्नुपरेको उहाँको भनाइ थियो ।

उहाँहरुको गृहमन्त्रीसँग यसै सन्दर्भमा वार्ता पनि भइसकेको छ । फास्ट ट्र्याक बनाएर कानुन निर्माण, मिटरब्याजीहरुलाई पक्राउ र मिटरब्याजलाई अवैध घोषित गरी सम्पूर्ण लिखतहरु गैरकानुनी घोषित गर्नुपर्ने उहाँहरुको माग छ । यसका लागि आयोग नै गठन पनि गर्नु नपर्ने बरु काम गरेर देखाएमा आफूहरु घर फर्किने पनि उहाँको भनाइ छ ।

सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमवार भएको झडपबारे अध्ययन गर्न काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा अध्ययन समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया