Monday 9th of December 2024

‘हामीमाथि विश्वास गरौ, हामी शैक्षिक लगानी खेर जान दिन्नौ’ : मेयर डा. महतो

0 Shares

धनवीर महतो
महोत्तरी / शैक्षिक सुधारका लागि गौशाला नगरपालिकाको कार्यालयले हरसम्भव प्रयासरत रहेको गौशाला नगरपालिकाको मेयर डा. दिपेन्द्र महतोले बताएका छन् । सोमबार गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयले आयोजना गरेको अभिभावक भेलालाई सम्बोधन गर्दै मेयर डा. महतोले यहाँका सामुदायिक विद्यालयको शैक्षिक प्रणाली सुधारका लागि नगरपालिकाले कुनै कसर वाँकी नराख्ने धारणा राखेका छन् ।

मेयर डा. महतोले भने, ‘यहाँका शिक्षालय पछिल्लो समयमा आएर प्रत्यक्ष रुपमा राजनितीक चपेटामा परिएको छ । जुन शैक्षिकस्तर विकासका लागि घातक सावित बनेको छ । जसको प्रत्यक्ष फाईदा यहाँका शैक्षिक माफियाले उठाउँदै आएका छन् । उनीहरुले समाजमा गई सामुदायिक विद्यालयको पठनपाठनलाई भ्रामक प्रचारप्रसारमा लाग्दा नगरको शैक्षिक गुणस्तरमाथि अहिले प्रश्न चिन्ह खडा भएको छ ।’

नगरपालिकाले सडक लगायतका पूर्वाधार शिर्षकको वजेट कटौती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रित वजेट ल्याएको मेयर महतोेले बताए । उनले थपे, ‘अवको अभियान भनेकै सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारको छ । हरेक चुनौतीलाई सामना गर्दै नगरले शैक्षिक सुधारको लागि अगाडि बढनेछ । यसमा सवैले सकरात्मक रुपमा सहयोग गरौ । हामीमाथि विश्वास गरौ, हामी शैक्षिक लगानी खेर जान दिन्नौ ।’

नगरपालिकाले १० करोडको लागतमा यहाँका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको शिर्षकमा काम गर्दै आएको मेयर महतोले बताए । कार्यक्रमकावीच जिल्ला शिक्षा समन्वय समितिका प्रमुख भरतवावु सुवेदीले सामुदायिक विद्यालय संचालनका क्रममा अभिभावकलाई समय समयमा अनुगमन गर्नका लागि आग्रह गरेका छन् ।
संतोष निरौलाद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत
कार्यक्रमकाबीच संतोष निरौलाले व्यक्तिगत रुपमा छात्रवृतिस्वरुप नगद पुरुस्कार प्रदान गरेका छन् । शैक्षिक सत्र २०७९ मा कक्षा ० देखि कक्षा १२ सम्ममा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरुस्कार वितरण गरिएको विद्यालय स्रोतले जनाएको छ ।


प्रथम हुनेलाई ३ हजार रुपैयाँ, दोस्रो हुनेलाई २ हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही १ हजारका दरले रकम उपलब्ध गराईएको विद्यालयका लेखापाल कौशल कुमार महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया