Friday 14th of June 2024

नक्कली शरणार्थी प्रकरण टोपबहादुरको अग्निपरीक्षा : हर्रेबर्रे काण्डदेखि नक्कली शरणार्थीको ‘खेलोफड्को’सम्म

0 Shares

उजिर मगर

काठमाडाैं / तीस (२०३०) को दशकमा मार्सल आर्ट्सको जगजगी थियो । युवावस्थाका तन्नेरीमा उस्तै जोश पनि हुन्थ्यो । त्यो बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन)को विचार निकै क्रान्तिकारी थियो । अर्घाखाँचीमा नेकपा (पुष्पलाल समूह)ले २०३० फागुनमा चलाएको ‘हर्रेबर्रे काण्ड’बाट टोपबहादुर रायमाझीमा मार्सल आर्टस् र क्रान्तिकारी कम्युनिस्टहरूको प्रभाव पर्‍यो ।

‘हर्रेबर्रे काण्ड’ गाउँका सोझा र गरिब जनतालाई सामन्तको ऋणबाट मुक्त गर्न तमसुक च्यात्ने, जलाउने र पार्टीका लागि केही रकम जम्मा गरी हतियार किन्ने योजनाअन्तर्गत थियो । त्योबेला कक्षा ६ मा अध्ययनरत रायमाझीलाई एकैपटक हर्रेबर्रे काण्ड र अर्घाकोटको दरबारमा मूर्ति चोरीको आरोप लागेको थियो । ६ कक्षामा पढ्दै गर्दा उनी एक वर्ष पढाइ छाडेर गाउँमै लुकेर बसे ।

२०१७ साल कात्तिक २५ गते अर्घा खाडामा जन्मेका रायमाझीले झण्डै पाँच दशकको राजनीतिक यात्रामा अनेकन उतारचढाव ब्यहोरेका छन् । पछिल्लोपटक भने नक्कली शरणार्थी बनाई अमेरिका पठाउने ‘खेलोफड्को’मा संलग्न भनी आरोप लागेपछि रायमाझी एकाएक बेपत्ता भएका छन् । उनी कहाँ छन् उनीलाई थाहा होला । अहिले आलोचना र चर्चाको केन्द्रमा छन् रायमाझी ।

२०३० मा नेकपा चौथो महाधिवेशनका नेता टंक भुसालको संगतबाट उनी मोहनविक्रम सिंहसँग नजिकिएका थिए । जनज्योति मावि चुत्राबेसीबाट २०३४ मा एसएलसी उत्तीर्ण गरेपछि रायमाझीलाई सोही साल भुसालले पार्टी सदस्यता दिएका थिए । २०३६ सालमा काठमाडौं झरेपछि चौथो महाधिवेशनको विद्यार्थी संगठन अनेरास्ववियु (छैठौं)सँग आबद्ध भएर आन्दोलनमा होमिए ।

२०३८ सालबाट पूर्णकालीन रायमाझी अस्कल क्याम्पस छैठौंको इकाई अध्यक्ष हुँदै जुझारु, मार्सल आर्टस्बाट लडाकु कहलिएका थिए । उनको जुझारुपनलाई देखेर मोहनविक्रम सिंहले फास्ट ट्रयाकबाट उनलाई अघि बढाउँदै लगे । रायमाझी छैठौंको केन्द्रीय समितिको उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष बने ।

अर्घाखाँची घर भई भारतको नयाँ दिल्लीमा बसोवास गर्दै आएकी योगमायासँग रायमाझीले २०४५ मा प्रेम विवाह गरे । चित्रबहादुर केसीलगायत मसालका नेताहरूको उपस्थितिमा उनले विवाह गरेका थिए । एक छोरा सन्दीप पनि नक्कली शरणार्थी प्रकरणमै मुछिएर अहिले प्रहरी हिरासतमा छन् । २०७० तिर उनले पारिवारिक समस्या झेल्न पुगे । पछि पुनः सम्हालिएर योगमायासँगै सम्बन्ध जोड्न सफल भए ।

२०४७ सालमा उनी मोहनविक्रम सिंहसँग विद्रोहगरी गठन भएको नेकपा (विद्रोही मसाल)बाट प्रचण्डसँगै एकताकेन्द्र गठनमा सामेल भए । २०४८ सालमा वाईसीएलको संस्थापक अध्यक्ष बनेका रायमाझीले पार्टीमा बोलाउने नाम ‘अनिल’ राखे । प्रहरीसँग झडप गर्ने र प्रहरीको पञ्जाबाट सजिलै भाग्न सक्ने कला भएका विद्यार्थी नेताका रूपमा २०४६ सालतिर कहलिएका थिए रायमाझी ।

विद्यार्थीकालमा एक वर्ष जेल बसेका रायमाझीले आफ्नो एक संस्मरणमा भनेका छन्, ‘आठपटक त प्रहरी पञ्जा (हिरासत)बाटै भागेको छु ।’

रायमाझी मार्सल आर्टस् कलाका कारण तत्कालीन समयमा मसालको पकड क्षेत्र मानिने अर्घाखाँची, गुल्मी, पश्चिम बागलुङ भेगमा २०४६ सालताका युवाहरूको गुरुको रूपमा स्थापित थिए । पहिलेजसरी आठौंपटकसम्म प्रहरीको हातबाट भाग्न सफल रायमाझी यसपालि फरक आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनको राजनीतिक जीवनमा संयोग मात्रै हुन सक्छ– प्रहरीसँग भागेरै हिँडेको नवौंपटक हो । ​

मार्सल आर्टसमा माहिर’ रायमाझी प्रहरीसँग झडप गर्ने र प्रहरीको पञ्जाबाट सजिलै भाग्न सक्ने कला भएका नेता हुन् । ‘आठपटक प्रहरी हिरासतबाटै भागेका’ उनी यसपालि पक्राउ पुर्जी जारी भएपछि भागेरै हिँडेका छन् । 

२०४७ सालमा विद्रोही मसालका नेतृत्वकर्ताहरू हरिबोल गजुरेल, डा. बाबुराम भट्टराई, बीनबहादुर कुँवर, राम कार्की लगायतसँगै रायमाझीले विद्रोह गरेका थिए । सोहीबेलाको सम्बन्धका कारण उनी माओवादीको ‘जनयुद्ध’कालभर जिम्मेवारी पाउँदा डा. भट्टराईको कोटामा परिरहे । डा. भट्टराईले नयाँ शक्ति गठन गर्दा भने रायमाझीले उनलाई साथ दिएनन् ।

२०५२ सालमा माओवादी केन्द्रीय सदस्य बनेपछि करिब पाँच वर्ष उनले प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी सम्हाले । केही समय पार्टीको गण्डक प्रदेशको इन्चार्ज बनेर पुनः प्रवासमै फर्काइए । २०५८ मा पार्टी सचिवालय सदस्य बनेका रायमाझी शेरबहादुर देवाउसँग सरकार–माओवादीबीच पहिलो वार्ताको सदस्य बनेर राजधानी भित्रिएका थिए । माओवादीको युद्ध, वार्ता, शान्तिकालमा महत्त्वपूर्ण मोर्चाको नेतृत्व गरेका रायमाझीको वामपन्थी आन्दोलनमा पाँच दशकको योगदान छ ।

बाबुरामले माओवादी छाडेपछि उनको ‘लेगेसी’ आफूमा रहेको भनेर बेला–बेलामा रायमाझीले बताउने गरेका थिए । डा. भट्टराईले पार्टी छाड्दा उनलाई साथ नदिई माओवादीमै बसे पनि रायमाझीलाई प्रचण्ड निकटहरूले सधैं अर्को गुटको व्यवहार गरे ।

पुष्टि नभएको तर आरोप लागेको नक्कली शरणार्थी प्रकरणले उनले आन्दोनलमा दिएको योगदानको मूल्याङ्कन यतिखेर ओरालो लाग्दो छ ।
शान्ति प्रक्रियामा आएपछि अर्घाखाँचीबाट चारपटक चुनाव जितेका रायमाझी पटक–पटक मन्त्रीसमेत बने । एकपटक उप–प्रधानमन्त्रीसमेत बनेका रायमाझी तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुँदा २३ जना केन्द्रीय नेता, केही सांसदहरूसँगै एमालेमै रहे ।

माओवादीले पार्टी विभाजनपछि एमालेमा रहेको भनी कारवाही गर्दा उनले सांसद पदसमेत गुमाउनुपरेको थियो ।

एमालेको दशौं महाधिवेशनबाट उनी सचिवमा निर्वाचित भए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेकै बेला गृह मन्त्रालयअन्तर्गत शरणार्थी सूचीकरण प्रक्रिया शुरू भएको थियो । सोही प्रक्रियालाई विचौलियामार्फत् नक्कली शरणार्थी सूचीकरण गर्ने काममा रायमाझी संलग्न भएको भनी काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीसँगै उनी बेपत्ता छन् ।

अध्यक्ष ओलीको निकट रहेर माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई एमालेमा राख्न सफल रायमाझीले अर्घाखाँचीमा पार्टीलाई पुनःस्थापित समेत गरेका छन् । स्थानीय, प्रदेश, संघीय चुनावमा अर्घाखाँचीमा एमालेको वर्चश्व कायम भएको छ । राजनीतिक जीवनलाई उत्तारार्धतिर पुर्याइरहेका रायमाझीले पछिल्लोपटक लागेको आरोपबाट ‘क्लिन चिट’ पाउँछन् वा पाउँदैनन्, त्यो अनुसन्धानले बताउला ।

तर उनी भाग्नुभन्दा राज्यलाई अनुसन्धानमा सहयोग गरेर राज्यले ‘पूर्वाग्रही नियत’, दोष वा सत्यतथ्यकै आधारमा व्यवहार गर्छ भनेर हेर्न जरुरी छ । जुन कार्यले ‘दोषी नउम्किने, निर्दोष नफस्ने’ सत्य सावित हुनेछ । यसले मात्र रायमाझीको बाँकी राजनीतिक जीवन सहज रूपमा अगाडि बढ्ने छ ।  – लोकान्तर डट्कम

प्रतिक्रिया