सञ्जयकुमार मिश्र, गौर । रौतहटमा कोरोना सङ्क्रमित एक जना पुरुषको मृत्यु भएको छ । गौर नगरपालिका वडा नं. २ महादेवपट्टी बस्ने ७० वर्षिय वृद्धको कोरोना सङ्क्रमणले गए राती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
लामो समयदेखि बिरामी रहेका ती वृद्धको तीन दिन अघि गौर अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
रौतहट जिल्लामा १६३ जना व्यक्तिको स्वाब संकलन गरी गौर अस्पतालमा गरिएको परीक्षणबाट ९२ जना व्यक्तिमा कोरोना पोजिटिभ फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । जसमध्ये ७१ पुरुष २१ महिलामा कोरोना भाइरस पोजिटिभ रहेको तथा ७१ जना व्यक्तिमा निगेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
कोभिड १९ को दास्रो चरणको लहर बढेसँग जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले विद्यालयको पठनपाठन बन्द तथा पूर्वनिधारित सबै परीक्षाहरु स्थगित गरिएको प्रजिअ यादवले जानकारी दिनुभयो ।
कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणकालागि गौर अस्पतालमा आईसियु १० बेड, भेन्टिलेटर ४बेड तथा हाई डिपेन्डेन्सी युनिट १५बेड सञ्चालनका लागि आवश्यक तैयारी शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
कोभिड १९को सङ्क्रमण फैलिन नदिन तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै जिल्लाको १८ वटै स्थानीय तहमा एक एकवटा क्वारेन्टाइन तयार र व्यवस्थापन गर्न तथा चन्द्रपुर र धरहरीमा आइसोलेसन सेन्टर सञ्चालन गर्न तयारी भैइरहेको प्रजिअ यादवले जानकारी दिनुभयो ।