गौशाला नगरपालिकाको कार्यालयले ९९ जना शिक्षकलाई एकै साथ काज सरुवा गरिएपछि पछिल्लो समयमा आएर शिक्षकहरु अन्यौलमा रहेका छन् । उनीहरुमध्ये कतिपय शिक्षकहरु अहिले दुविधामा छन् । एकातर्फ नगरपालिकाको कार्यालयले सरुवा कायम गरिएको विद्यालयमा गएर कार्यसम्पादन गर्नका लागि आग्रह गर्दै आएको छ । त्यस्तै अर्कोतर्फ उनीहरुलाई शिक्षक फ्रन्टले यथाअवस्थामा सरुवा नहुनका लागि दवाव दिदै आएको छ । जसको कारण ती शिक्षकहरु वाहानावाजी गर्न वाध्य छन् । प्रस्तुत छ, यसै सन्दर्भमा शिक्षासँग प्रत्यक्ष सरोकारवाला संस्थाका प्रतिनिधीसँग कुराकानीको आधारमा तयार पारिएको एक सामग्री………
पछि अप्ठयारो पार्ने डर छ : अमोदकुमार साह प्रधानाध्यापक/ त्रिभुवन मा.वि.
गौशाला नगरले गरिएको सरुवा मान्य हुनेछैन् । तत्काल केही फरक नपरेपनि जागिरको अन्तिम समयमा पेन्सन लिने समयमा आफु्हरुलाई अप्ठयारो पार्न सक्दछ । राष्टिय कितावखानाले पेन्सन लिने समयमा दिक्कत पार्ने छ भने जागिरको अवधिमा हुने अपग्रेडमा समेत समस्या आउने सक्नेछ । यसप्रति मेरो चित बुझेको छैन् । नगरले थप प्रक्रियागत रुपमा यसलाई विधिवत रुपमा पहलकदमी हुनेपर्ने आवश्यक देखिन्छ । प्रक्रियागत रुपमा सरुवा गरेको खण्डमा आफुले जुनसुकै समयमा जहाँ पनि गएर कार्यसम्पादन गर्न तयार छ्ु ।
सरुवा यहाँ नजिरको रुपमा स्थापित भईसकेछ : उमेश कुशवाहा सदस्य / नगर शिक्षा समिति:
२ बर्षपहिले नगरले यसरी गरिएको सरुवा यहाँ नजिरको रुपमा स्थापित भएको छ । त्यससमयमा गरिएको शिक्षकहरुलाई कुनै किसिमको समस्या भएन् । उनीहरु तोकिएको कार्यसम्पादन गर्दै आएका छन् । पेन्सन पट्टा, समाजिक सुरक्षा कर, नागरिक लगानी कोषको हकमा आएको सवालमा भन्नुपर्दा ती सवैको समाधान रबानापत्रपछि समाधान हुन्छ ।
सम्बन्धित हरेक सरोकारवाला निकायलाई वोधार्थस्वरुप जानकारी पठाईसके: भरत सिंह शिक्षा शाखा
गौशाला नगरपालिका नगरपालिकाले स्थानिय सरकार ऐन २०७४ लाई टेकेर शिक्षक सरुवा गरिएको छ । जुन ऐनमा हेर्ने हो भने हरेक तहतप्कामा कार्यरत शिक्षकलाई नगरभरिमा काज सरुवा गर्न सकिन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ । रबाना, सरुवापत्र र सहमति पत्र सुरक्षित रुपमा राखे नागरिक लगानी कोष, राष्टिय कितावखाना र समाजिक सुरक्षा कोषको सवालमा केही फरक पर्नेछैन् । नगरपालिकाले सम्बन्धित हरेक सरोकारवाला निकायलाई वोधार्थस्वरुप जानकारी पठाईसकेको अवस्था छ ।
शिक्षक सरुवा सवालमा विद्यालय तटस्थ : रमेश महतो अध्यक्ष/त्रिभुवन मावि गौशाला
शिक्षक सरुवा लगायतका सवालमा विद्यालय तटस्थ रहेको छ । विद्यालयले यहाँ आउने नयाँ शिक्षकलाई स्वागत गर्दै सहमति दिने र जाने शिक्षकलाई रबाना सहित विदाई गर्नका लागि तयार छ । आज हामीले विभिन्न विद्यालयबाट काजमा खटिआउनुभएका आठ जना शिक्षकहरुलाई हाजिर गराएका छौं । सवाल रहयो शिक्षकहरुको व्यक्तिगत जागिर सुरक्षाको सवालमा त्यो त उहाँहरुको नैसर्गिक अधिकार रहेको छ । यसमा सम्बन्धित शिक्षकले नगरपालिकासँग समन्वय गरि अगाडि बढनुपर्छ ।
नगरको शैक्षिक गुणस्तर सुधारमा सवैले सहयोग गरौ : डा. दिपेन्द्र महतो नगरप्रमुख
गौशाला नगरपालिका नगरले नियमसंगत रुपमा सरुवा गरिएकोले कहिकतै पनि कुनै किसिमको समस्या आउने छैन् । शिक्षकलाई अप्ठयारो परेको खण्डमा नगरले जुनसुकै समयमा आवश्यक पहलकदमी गर्न तयार रहेको छ । नगरले पठाएको विद्यालयमा गई कार्यसम्पादन गर्ने गरौ । विना कारण वहानावाजी गर्दै विद्यार्थीहरुको भविष्यलाई धरापमा राख्ने काम नगरौ । यसले कसैको पनि भलो हुँदैन् । नगरले यहाँको शैक्षिक गुणस्तर सुधार्नका लागि प्रयासमा छन् । यसलाई सवैले सकारात्मक रुपमा सहयोग गरि शैक्षिक गुणस्तर बढाउने कार्यमा सवै जुटौ ।
पालिकालाई शिक्षक सरुवा गर्ने अधिकार छ : भरतवावु सुवेदी प्रमुख / जिल्ला समन्वय ईकाई महोत्तरी
पालिकालाई स्थानियस्तरमा जुनसुकै तहका शिक्षक सरुवा गर्ने अधिकार छ । स्थानियतहले आवश्यक परेकोखण्डमा शिक्षकलाई सरुवा गर्न सकिन्छ । पालिकास्तरमा रहेको नगर शिक्षा समितिको वैठकले पारित गरिएको निर्णयको अधारमा स्थानिय सरकारले आवश्यक रहेको विद्यालयमा शिक्षकलाई खटाउन सकिनेछ । यसमा कुनै किसिमको रोकटोक छैन् । पालिकामा शिक्षा समिति नभएको खण्डमा जिल्ला शिक्षा ईकाई समितिलाई शिफारिस गरेपछि सरुवा गराउन सकिन्छ । शिक्षक सरुवा भएको जानकारी पालिकाले जिल्ला शिक्षा समन्वय लगायतका सरोकारवाला निकायलाई समयमै जानकारी गराउन सकिन्छ ।
सरुवा वखतको आवश्यक कागजात सुरक्षित राखौ : कृष्णवहादुर थापा सुचना अधिकारी / राष्ट्रिय कितावखाना :
सरुवा हुने समयमा प्राप्त भएको कागजातहरु सुरक्षित राखे कुनै किसिमको अप्ठयारो हुनेछैन् । स्थानियतहले आवश्यक परेको खण्डमा जुनसकै तहतप्कामा कार्यरत रहेको शिक्षकलाई पालिकाभरिमा कामकाजको रुपमा कार्यसम्पादनका लागि खटाउन सकिनेछ । आवश्यक कागजात भने सुरक्षित रुपमा राख्नुपर्दछ । जसले पछि अवकास हुने समयमा काम लाग्छ ।