Thursday 20th of June 2024

महोत्तरीमा शिक्षक आन्दोलनको नाममा अदालतको अवहेलना

0 Shares

द पब्लिक टुडे समाचारदाता

आन्दोलनको नाममा महोत्तरीमा शिक्षकहरुले अदालतलाई अवहेलना गरेको पाइएको छ । महोत्तरीको गौशाला नगरपालिकाले गरेको शिक्षक काज सरुवाको निर्णयलाई तत्काल यथास्थितीमा राख्न उच्च अदालत जनकपुरले अल्पकालिन आदेश दिएपनि शिक्षकहरुले आन्दोलन जारी राखेको छ ।

शिक्षक काज सरुवाको प्रक्रिया अवैध भएको भन्दै नेपाल शिक्षक महासंघ गौशाला नगर कार्यसमितिका अध्यक्ष नकुल उप्रेतीले शिक्षा विकास तथा समन्वय इकाई महोत्तरी र गौशाला नगरपालिकालाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा उत्प्रेषण परमादेश रिट दर्ता गराएका थिए । उक्त रिटमा न्यायाधिश सागर विष्टको एकल इजालसले गत शुक्रवार अल्पकालिन अन्तरिम आदेश जारी गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश गरेको छ ।

अन्तरिम आदेशका लागि दुवैपक्षलाई राखेर छलफल गराउन उपयुक्त देखिएको भन्दै अदालतले जेठ १८ गते उपस्थित हुन अदालतले पेशी तोकेको छ ।

तर शिक्षकहरुले अध्ययन अध्यापनमा अवरोध पु¥याउँदै आन्दोलन जारी राखेपछि स्थानीय बुद्धिजीविहरुले आन्दोलनरत शिक्षकलाई अनुशासनहीनको संज्ञा दिएको छ । शिक्षकको यस्ता हर्कतले अदालतको समेत अवहेलना भएको उनीहरुको ठम्याई छ । जिल्लाका शिक्षकहरुले आईतवार एकघण्टी चक डाउन गरेर पढाईमा अवरोध सिर्जना गरेका थिए ।

नेपाल शिक्षक महासंघ गौशाला नगर कार्यसमितिका अध्यक्ष नकुल उप्रेतीले महासंघको पूर्वनिधारित कार्यक्रम अनुसार आन्दोलन जारी रहेको बताए । अदालतको आदेश आएपनि शिक्षकहरुलाई साविकको विद्यालयमा हाजिर हुन नदिएको बताउँदै उनले नगरपालिकाले नै अदालतको आदेशलाई अवहेलना गरेको आरोप लगाए ।

‘मावि कान्तिबजारका दुईजना शिक्षकलाई नगरपालिकाले भरतपुर विद्यालयमा काज सरुवा गरिदिएको छ । अदालतको आदेश आइसकेपछि उहाँहरुलाई पहिलाकै विद्यलायमा हाजिर हुन पाउनुपर्छ कि पर्दैन ?,’ प्रतिप्रश्न गर्दै उप्रेतीले भने, ‘यो त एउटा उदाहरण मात्रै हो । यस्ता थुपै विद्यालयमा समस्या छ । त्यो सबै समाधान हुनुपर्छ ।’ उनले अगामा रणनीति तय गर्न गौशालामा आज (सोमवार) शिक्षकहरुको बृहत छलफल राखिएको बताए ।

तर मावि कान्तिबजारमा हाजिर गर्न नदिएको भनिएका शिक्षकहरु आईतवार विद्यालयमा नपुगेको पाइएको छ । ‘उहाँ विद्यालयमा पुग्नुभएको थिएन । कामविशेषले उहाँ बाहिर हुनुहुन्थ्यो,’ श्रोतले भन्यो ।

यता, गौशाला नगरपालिकाका शिक्षा शाखा संयोजक वीरबहादुर बलम्पाकीले अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्ने बताउँछन् । अदालतको आदेश आईसकेपछाडी कुनै शिक्षकलाई कहिकतै हाजिर गर्न रोकिएको कुरा नगरपालिका समक्ष नआएको उनले बताए । नगरपालिकाले अदालतको आदेश अवहेलना गरेको आरोप निराधार रहेको संयोजक बलम्पाकीले दावी गरे ।

शिक्षक प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिएपछि क्रमिक रुपमा यहाँका शैक्षिकस्तर कमजोर हुँदै गएकोले नगरपालिकाले काज सरुवा गरेको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताउँदै आएका छन् ।

वर्षौंदेखि यहाँ शिक्षक सरुवा नहुँदा सामु्दायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएपछि विषयगत मिलान गर्दै नगरभरिमा सरुवा गरिएको उनको दावी छ ।

प्रतिक्रिया