Sunday 16th of June 2024

१४२ जातजाति, १२४ मातृभाषा

0 Shares

सुरेन्द्र काफ्ले

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ ले जातजाति र भाषाको तथ्यांक सार्वजनिक गरेको छ। यो तथ्यांकले नेपालमा १ सय ४२ जातजाति रहेको देखाएको छ। २०६८ सालको जनगणनाअनुसार १ सय २५ जातजाति थिए। यो जनगणनामा १७ जातजाति थपिएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार रानाथारू, भूमिहार, वनकरिया, सुरेल, चुम्बा/नुब्री, फ्रि, मुगल/मुगुम, पुन, रौनियार, बनियाँ, गोंध/गोण्ड, कर्मारोङ, खटिक, बेलदार, चै/खुलौट, डोन, केवरट जातजाति थपिएका छन्। २०७८ को जनगणनाअनुसार मातृभाषाको संख्या १ सय २४ भएको छ। अघिल्लो जनगणनामा १ सय २३ मातृभाषा थिए।

सायद पाठ को फोटो हुनसक्छ

२०६८ जनगणनाअनुसारको कुल १ सय २३ मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले अन्य भाषामा समावेश गरिएको छ भने नयाँ थप भएका १३ समेत गरी मातृभाषाको संख्या १ सय २४ कायम भएको छ। थपिएका मातृभाषमा भोटे, लोवा, चुम/नुब्री, नर–फू, रानाथारू, कर्मरोङ, मुगाली, टिछोरङ पोइके, साध्री, दोन, मुण्डा/मुण्डियारी, केवरट छन्। यो जनगणनाले १० वटा धर्म कायम गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ चैत १० गते नेपालको जनसंख्या सार्वजनिक गरेको थिए।

क्षत्रीको जनसंख्या सबैभन्दा धेरै 

जनगणनाअनुसार क्षत्रीको जनसंख्या १६.४५ (४७,९६,९९५) छ। दोस्रोमा ब्राह्मण (पहाडी) ११.२९ (३२,९२,३७३), तेस्रोमा मगर ६.९ (२०,१३,४९८), चौथोमा थारू ६.२ (१८,०७,१२४), पाँचौंमा तामाङ ५.६२ (१६,३९,८६६) प्रतिशत छन्। त्यसपछि विश्वकर्मा ५.०४, मुसलमान ४.८६ प्रतिशत छन् भने नेवार ४.६ प्रतिशत, यादव ४.२१, राई २.२, परियार १.९४ प्रतिशत छन्।

सबैभन्दा कम नुराङ जातिका छन्। उनीहरूको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। त्यस्तै कलार जातिको जनसंख्या ९ सय ३१, फ्रि जातिको जनसंख्या ९ सय २१, कोचे जातिको जनसंख्या ८ सय ४७, टोप्के गोलाक जातिको जनसंख्या ७ सय ४२, राउटे जातिको जनसंख्या ५ सय ६६ मात्र रहेको छ। यस्तै वालुङ जातिको जनसंख्या ४ सय ८१, ल्होमी जातिको जनसंख्या ३ सय ५५, सुरेल जातिको जनसंख्या ३ सय १८, कुसुण्डा जातिको जनसंख्या २ सय ५३, वनकरियाको जनसंख्या १ सय ८० छ।

नेपालीपछि मैथली भाषी 

नेपाल भाषाको जनसंख्या १ करोड ३० लाख ८४ हजार ४ सय ५७ छ अर्थात् ४४.८६ प्रशिशत छ। मैथलीको ३२ लाख २२ हजार ३ सय ८९ (११.०५), भोजपुरी १८ लाख २० हजार ७ सय ९५ (६.२४), थारू १७ लाख १४ हजार ९१ (५.८८) प्रतिशत छन्। त्यसपछि तामाङ भाषी ४.८८ छन्। नेपालीलाई दोस्रो भाषाको रुपमा प्रयोग गर्नेको संख्या ४६.२३ प्रतिशत छ। ४८.०८ प्रतिशतको कुनै दोस्रो भाषा छैन।

दोस्रो भाषाको रूपमा ०.९२ मैथली, हिन्दी ०.७६ प्रतिशत छन्। जनगणनामा पुर्खाको भाषाको तथ्यांक पनि संकलन गरिएको थियो। जसमा ३४.७६ प्रतिशतको पुर्खाको भाषा नेपाली रहेको जनगणनामा उल्लेख छ। त्यस्तै १०.१५ को मैथली, ६.०६ को भोजपुरी, ६.०५ को थारू, ५.५० को तामाङ, ४.२८ को मगर, ४.०५ प्रतिशतको नेवार पुर्खाको भाषा भएको जनगणनाको तथ्यांकमा छ।

यो जनगणनाअनुसार १० वटा धर्म कायम भएको छ। जसमा सबैभन्दा बढी हिन्दु ८१.१९ प्रतिशत छन् भने बौद्ध ८.२१ प्रतिशत, स्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत छन्। त्यस्तै क्रिश्चियन १.७६ प्रतिशत भएका छन्। पाकिस्तानी, वोन, जैन, वहाई र शिख धर्मावलम्बी छन्।

तथ्यांक कार्यालयमा जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संख्याबाट करिब ७० वटा माग ध्यानाकर्षण पत्र दर्ता भएका थिए। यसमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित व्यक्तिको परामर्श र छलफल तथा राय सुझाव लिएको पनि कार्यालयले जनाएको छ। विगतका जनगणना जस्तै यो पटक पनि नेपालमा बसोबास गर्दै आएका सबै व्यक्तिलाई जातजाति, भाषा, धर्मलगायतका विषयमा प्रश्न सोधिएको थियो।

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। जसअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) छ। यस्तै महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ। २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म १२औं जनगणना गरिएको थियो।

मुलुकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा कम देखिएको छ। जनगणना नतिजाअनुसार शून्य दशमलव ९२ प्रतिशतमात्रै जनसंख्या वृद्धिदर छ। २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो। नगरपालिका र गाउँपालिकाको जनसंख्यामा पनि घोषणा भइसकेको छ।

प्रतिक्रिया