शिवराज भट्ट/धनगढी, मनिका झा/जनकपुरधाम, किशोर बुढाथोकी/विराटनगर , शंकरप्रसाद खनाल/नेपालगन्ज, कृष्णमणि बराल/पोखरा, भरत खड्का/उदयपुर, बिस्नप्रसाद न्यौपाने/वीरेन्द्रनगर , पार्थ मण्डल/झापा , धनवीर महतो/महोत्तरी, अर्जुन कार्की/बागलुङ
अन्नपूर्ण / मुख्य खाद्यान्न बाली हो धान। कृषि विज्ञका अनुसार असार महिनाभित्रै यसलाई रोपे उत्पादन राम्रो लिन सकिन्छ। नेपालको पहाडमा चाँडै र तराईमा केही ढिला गरी रोपाइँ हुने भए पनि असार अन्त्यसम्ममा रोपाइँ पनि सकिनुपर्ने हो। तर, यसपटक पनि खडेरी, गोरुमा रोग र मल अभाव कै कारण समयमा रोपाइँ सकिएन। लगभग मुलुकभर आधार मात्रै रोपाइँ असार महिनामा सकियो। गत आर्थिक वर्षको सोही अवधिमा ६५ प्रतिशत धान रोपाइँ भएको थियो।
मधेस, कोसी र बागमती प्रदेशमा मनसुन सुरु ढिलो भएका कारण तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा घरपालुवा पशुहरूमा लम्पी स्किन रोगले सताएका कारण धान रोपाइँमा असर देखिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। अन्न भण्डार मानिने मधेस प्रदेशमा अझै करिब ९० प्रतिशत खेत बाँझै छ। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा मात्रै सबैभन्दा बढी अर्थात् ९५ प्रतिशत रोपाइँ भएको छ।
मुलुककै सबैभन्दा बढी धान उत्पादन हुने झापामा असार मसान्तसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ। दोस्रो बढी धानखेती हुने जिल्ला कैलालीमा हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ। सुदूरकै अर्को जिल्ला बझाङमा भने सतप्रतिशत रोपाइँ भएको छ। समयमा वर्षा नभएकै कारण खेत बाँझो भएकोमा महोत्तरीका किसान चिन्तित छन्। सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यताले यहाँ अझै छ।
चितवनमा बोरिङबाट रोपाइँ गर्न खेत तयार गर्दै स्थानीय कामदार। तस्बिर : अनिल ढकाल
मनसुनमा पनि आवश्यक मात्रामा वर्षा नहुँदा अधिकांशको खेती साउन लागिसक्दासमेत बाँझो नै रहेको गौशाला नगरपालिका–८ बेलगाछीका रवीन्द्रकुमार कुशवाहा बताउँछन्। भन्छन्, ‘अचेल अकाशमा त कालो बादल जहिले नि मडारिन्छ। तर, वर्षा हुँदैन। किसानको खेत बाँझो छ। वैकल्पिक व्यवस्थापन गरी किसानले खेतमा रोपे पनि गोपो क्रमिक रूपमा सुकिरहेको छ। वर्षभरि के खानेः बालबच्चाको भरणपोषण कसरी गर्ने भन्ने चिन्ता छ।’
स्थानीय सरकार किसानमैत्री नहुँदा किसानहरू प्रत्यक्ष मारमा परेको सोनमा गाउँपालिका–८ का किसान युगल यादव बताउँछन्। गतवर्ष साढे दुई बिघा क्षेत्रफलमा धान खेती गरेका गौशाला नगरपालिका–११ का कृषक दिनेश महतोको अधिकांश खेतहरू अझै बाँझै छ। उनले भने, ‘समयमा वर्षा नहुँदा एक बिघाका लागि लगाएको धानको बेर्ना क्रमिक रूपमा बुढो हुँदै गएको छ।’ कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा १५ प्रतिशत क्षेत्रफलमा मात्र धान खेती भएको छ। केन्द्रका प्रमुख रामचन्द्र यादवका अनुसार तत्काल रोपाइँ प्रतिशत कम देखिए पनि अहिले नै निराश हुनुपर्ने अवस्था छैन। उनले थपे, ‘मधेसका जिल्लामा साउन १५ सम्म रोपाइँ हुने गरेको छ। त्यति बेलासम्म वर्षा हुने र रोपाइँले गति लिन सक्ने सम्भावना छ।’
पर्याप्त पानी नपर्दा मधेस प्रदेशमा यस वर्ष अपेक्षाकृत रोपाइँ हुन सकेको छैन। मधेस प्रदेशमा अझै ९० प्रतिशत खेत बाँझो रहेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। प्रदेशका आठै जिल्लामा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिए पनि हालसम्म ३३ हजार ७७३ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ हुन सकेको छ।
उता बाँकेमा खडेरीका कारण ५० प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदका अनुसार यो वर्ष त असार १५ मा १५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो। असार मसान्तसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको छ। ‘असारको वर्षामा अधिकांशले बीउ राखिसकेका छन्। ठूलो वर्षा भयो भने चाँडै रोपाइँ हुनेछ। जल तथा मौसम विज्ञान विभागले यो वर्ष धेरै वर्षा नहुने भनेकाले सबै किसानले धान रोप्न पाउँछन् जस्तो लाग्दैन’, प्रमुख अहमदले भने।
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा भएका राप्तीसोनारी, बैजनाथ, डुडुवा, खजुराका केही वडा र सिक्टा सिँचाइ आयोजनाको नहर आसपास क्षेत्रमा मात्र रोपाइँ भएको छ। ‘जिल्लामा ५० प्रतिशत किसानको रोपाइँ सकिएको छ’, उनले भने, ‘गत वर्ष यो अवधिमा नरैनापुर गाउँपालिका बाहेक अरू सबै पालिकामा रोपाइँ सकिएको थियो। यो वर्ष पनि नरैनापुरमा सबैभन्दा कम रोपाइँ भएको छ।’
यस्तै बागलुङमा ६५ प्रतिशत रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा ५ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। असार ३१ गतेसम्म बागलुङमा ३ हजार ८ सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।
जिल्लामा स्थानीय, हाईब्रिड, जेठो बुढो, गौरिया, जेठोबुढो, राधा, खुमलटार जातका धानखेती हुँदै आएको छ। केही स्थानमा उन्नत जातको धान खेती गरिन्छ। बागलुङको तमानखोला र ताराखोला गाउँपालिकाबाहेक अन्य पालिकामा धेरै क्षेत्रमा धान लगाउने गरिन्छ।
कोसीमा ५६ प्रतिशत रोपाइँ
कोसी प्रदेशमा हालसम्म ५६ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय विराटनगरका अनुसार अघिल्लो वर्षको तुलनामा यो ७ प्रतिशतले बढी हो। निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार उच्च पहाडमा ५०, मध्यपहाडमा ४७ र तराईमा ६० प्रतिशत रोपाइँ सकिएको छ। कोसीको उच्च पहाडमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु एवं मध्यपहाडमा इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुर तथा तराईमा झापा, मोरङ र सुनसरी जिल्ला पर्छन्।
मोरङको विराटनगर महानगरपालिका क्षेत्रको खेतमा रोपाइँ गर्दै स्थानीय ।
‘गत वर्ष यही समयसम्ममा ४९ प्रतिशत रोपाइँ सकिएको थियो। अहिले समग्र प्रदेशभरि ५६ प्रतिशत रोपाइँ भइसकेको छ,’ डाँगीले भने, ‘यसवर्ष ७ प्रतिशत धेरै रोपाइँ भइसकेको छ। रोपाइँको अवस्था उत्साहजनक छ।’ रोपाइँ सुरु भएपछि २–४ दिन खडेरीले समस्या भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ।
‘मध्यपहाडमा असार पहिलो सातादेखि दोस्रो सातासम्ममा धान रोप्न सुरु गरिन्छ। मध्यपहाडको लेकमा साउन पहिलो साता र बेंसीमा साउनको अन्तिम सातासम्ममा रोपाइँ सकिन्छ। गर्मी धेरै हुने फाँटिला बेंसीहरूमा भदौ पहिलो सातासम्मै रोपाइँ हुन्छ’, उनले भने। तराईमा भने भदौ दोस्रो सातासम्म रोपाइँ हुने गरेको जानकारी डाँगीले दिए।
कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा ३५ प्रतिशत रोपाइँ भएको छ। यही हिसाबले खडेरी लाग्ने हो भने मुस्किलले ६० प्रतिशत रोपाइँ हुने कार्यालय प्रमुख योगेन्द्र यादव बताउँछन्। उनले भने, ‘साउन अन्तिमसम्म मनसुन सक्रिय रहे ९० प्रतिशत रोपाइँ हुन सक्छ अन्यथा ६० देखि ७० प्रतिशतमा रोकिनुपर्ने अवस्था छ।’
देशमै सबैभन्दा बढी धान उत्पादन हुने झापा जिल्लामा असार मसान्तसम्म ६५ प्रतिशत मात्र रोपाइँ भएको छ। गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ७२ प्रतिशत रोपाइँ भएको झापामा यस वर्ष ७ प्रतिशतले रोपाइँ कम भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। जिल्लामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। अहिलेसम्म ५६ हजार ८७५ हेक्टर जमिनमा रोपाइँ भइसकेको छ।
कोसी प्रदेशमा खेतीयोग्य जमिन ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफल छ। जसमध्ये ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेकोमा यस वर्ष १ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।
कर्णालीमा ७३ प्रतिशत
कर्णालीमा साउन १ गतेसम्म ७३ प्रतिशत रोपाइँ सकिएको छ। प्रायः हरेक वर्षहरूमा असार अन्तिमतिर ९० प्रतिशत रोपाइँ गरिने कर्णालीमा यस वर्ष समयमै वर्षा नहुँदा रोपाइँ ढिलो भएको हो।
कृषि विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तिलक पाण्डेले कर्णालीमा साउन १ गतेसम्म ७३ दशमलव ७९ प्रतिशत रोपाइँ सकिएको बताए। सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमीनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म १० हजार २३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जो कुल धान खेती हुने जमिनको ६५ प्रतिशत मात्र हो। बाँकी ३५ प्रतिशत खेतमा धान रोपाइँ हुन बाँकी छ। यस्तै दैलेखमा कुल धान खेती हुने जमिन ८ हजार ५ सय १२ हेक्टरमध्ये हालसम्म ४ हजार ५ सय ११ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। रुकुम पश्चिममा धान खेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा २ हजार ५ सय ११ हेक्टरमा रोपाइँ सकिएको छ।
जाजरकोटमा धान खेती हुने जम्मा ३ हजार ६५ हेक्टर जमिनमा २ हजार ६ सय ५ हेक्टरमा सकिएको छ। सल्यानमा कुल ७ हजार ७२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म ६ हजार ३ सय ६४ हेक्टरमा धान रोपिएको छ। हिमाली जिल्ला डोल्पामा जम्मा २ सय ७६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ सय ७६ हेक्टरमा रोपाइँ सकिएको छ।
यस्तै मुगुमा कुल ९ सय २१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ६ सय ९० हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ। जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ८ सय ६१ हेक्टरमा सकिएको छ। कालिकोटमा जम्मा ३ हजार १९ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ५ सय ५० हेक्टर जमिनमा रोपाइँ सकिएको छ। यस्तै हुम्लामा १ हजार २ सय ८४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार ८२ हेक्टर जमीनमा रोपाइँ भइसक्यो।
कालिकोटको ताडीमा धान रोपाइँ गर्दै स्थानीय किसानहरू।
यस्तै कर्णालीका दसवटै जिल्लामा प्रतिशतका आधारमा सुर्खेतमा ६५, दैलेखमा ५३, जाजरकोटमा ८५, रुकुममा ८३, सल्यानमा ९०, हिमाली जिल्ला डोल्पामा १००, हुम्लामा ८४, मुगुमा ७५, जुम्लामा ९७, कालिकोटमा ८४ प्रतिशत रोपाइँ सकिएको छ।
गण्डकीमा ६६.७१ प्रतिशत
गण्डकी प्रदेशमा असार २९ सम्म ६६.७१ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष असार ३० सम्म ७९.४५ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष सोही अवधीमा कम रोपाइँ भएको हो।
गण्डकीमा धेरैजसो कृषि भूमि आकाशे पानीको भरमा खेती हुने गरेको कृषि विकास निर्देशनालय गण्डकीका अधिकारीले बताएका छन्। यस वर्ष मनसुन ढिला भएको र मनसुन सक्रिए भए पनि धेरै समय निरन्तर पानी नपरेकाले यो समस्या आएको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकीका कार्यालय प्रमुख बासुदेव रेग्मीले बताए। गण्डकी प्रदेशमा ३७ प्रतिशत कृषि भूमिमा मात्र सिँचाइ सुविधा छ।
गण्डकी प्रदेशका ११ जिल्लामा हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा धान खेती हुन्छ। असार २९ गतेसम्म गोरखा जिल्लामा ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विकास निर्देशनालय गण्डकीको तथ्यांक छ। यसैगरी लमजुङमा ६५ प्रतिशत, तनहुँमा ६८ प्रतिशत, पर्वतमा ६५ प्रतिशत, स्याङ्जा जिल्लामा ४० प्रतिशत, बागलुङमा ६५ प्रतिशत, कास्कीमा ८० प्रतिशत र नवलपुरका ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको बताइएको छ।
प्रदेशका बजारका सिँचाइ सुविधा भएका कृषि भूमिमा घडेरी बन्ने र सहर बस्ने क्रम बढेको छ। ग्रामीण क्षेत्रका कृषि भूमिमा सिँचाइ सुविधा नहुँदा वर्षा हुँदा भलपानी छोपेर खेती गर्ने, मूल कहिले फुट्छ भनेर कुर्नुपर्ने अवस्था भएकाले यस वर्ष समयमै मनसुन सक्रिय नहुँदा रोपाइँ कम भएको रेग्मीले सुनाए। केही क्षेत्रफलमा भने मकै र चैते धान भित्र्याएर बर्खे धान रोप्नुपर्ने भएकाले पनि ढिला भएको उनले बताए। असार २९ गते सम्मको तथ्यांकअनुसार गण्डकीमा ६५ हजार २ सय ७७ हेक्टरमा मात्र धान रोपाइँ भएको पनि उनले बताए।
सुदूरमा सबैभन्दा बढी
सुदूरपश्चिममा असार मसान्तसम्म ९२ प्रतिशत रोपाइँ सकिएको छ। सुदूपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार आइतबारसम्ममा प्रदेशका ९ वटै जिल्लामा ९२ प्रतिशत रोपाइँ सकिएको हो।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेले प्रदेशभरिमा सबैभन्दा बढी धानखेती हुने कैलालीमा ९५ प्रतिशत रोपाइँ सकिएको बताए। ‘कैलालीमा ९५ प्रतिशत र कञ्चनपुरमा ९१ प्रतिशत रोपाइँ सकिएको छ। यसपालि तराईमा राम्रो वर्षा भएको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने किसानहरूले पनि रोपाइँ सकेका छन्’, सूचना अधिकारी पाण्डेले भने।
सुदूरपश्चिममा कैलाली र कञ्चनपुर गरी दुईवटा तराईका जिल्ला छन्। बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरा गरी ८ पहाडी जिल्लामा भने तीन/चार दिनदेखि वर्षा भइरहेको छैन। पहाडी जिल्लामा सिँचाइ सुविधा नभएका किसानको भने रोपाइँ बाँकी रहेको निर्देशनालयले जनाएको छ।
‘पहाडी जिल्लामा तीन/चार दिनदेखि वर्षा भइरहेको छैन। त्यसैले रोपाइँ सकिएको छैन। अबको एक साताभित्र सुदूरपश्चिममा सतप्रतिशत रोपाइँ सकिने अनुमान गरिएको छ’, सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज पाण्डेले भने, ‘यसपालि रोपाइँ समयमा सकिने देखिएको छ।’
सुदूरपश्चिमका ९ जिल्लामा १ लाख ७९ हजार हेक्टरमा धानखेती गरिन्छ। सबैभन्दा कम बाजुरा र अछाममा ८५ प्रतिशत रोपाइँ सकिएको छ भने बझाङमा सतप्रतिशत रोपाइँ सकिएको छ। डडेल्धुरा र दार्चुलामा ९० प्रतिशत, डोटीमा ८८ प्रतिशत र बैतडीमा ९८ प्रतिशत रोपाइँ सकिएको निर्देशनायले जनाएको छ।
कैलाली नेपालभरिमै दोस्रो बढी धानखेती हुने जिल्ला हो। कुल खेतीयोग्य जमिन ८६ हजार ४५० हेक्टरमध्ये यस जिल्लामा ६९ हजार ४४० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। त्यसमध्ये असार मसान्तसम्ममा ६५हजार ९७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ।