Sunday 16th of June 2024

‘ताली वा गालीमा ध्यान दिँदा मान्छे मानसिक दबाबमा छन्’

0 Shares
काठमाडौँ — लामो कद, लामै कपाल भएका एक अभिनेता छन् जसले नेपाली सिनेमा सबैभन्दा लामो व्यस्त समय व्यतित गरे । २०४६ सालको राजनीतिक परिवर्तनको सेरोफेरोमा बनेको उनको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ अत्यधिक सफल मात्र भएन, त्यसपछि प्रदर्शनमा आएका ‘कसम’, ‘देउता’ लगायत सफल भएपछि त उनले तीन दशक पछाडि फर्कनुपरेन ।

कुनै बेला वर्षमा तीन दर्जनसम्म फिल्म खेलेका उनी अर्थात् अभिनेता राजेश हमालका कुल २२५ भन्दा बढी फिल्म प्रदर्शनमा आएका छन् । यति लामो समयसम्म काम, दाम र नामको सन्तुलन मिलाइराख्न कति गाह्रो थियो ? यो प्रश्न अहिले किन पनि सान्दर्भिक छ भने यही सन्तुलन तलमाथि हुादा धेरै कलाकार मानसिक दबाबमा देखिएका छन् । सार्वजनिक तथा व्यक्तिगत जीवनका आरोह र अवरोधलाई व्यवस्थापनमा व्यक्ति स्वयंको भूमिका के हुन सक्छ ? उनै सफल र सन्तुलित अभिनेता हमालसँग कान्तिपुरका उमेश चौहानसुशील पौडेल र रीना मोक्तानले गरेको संवादको सम्पादित अंश :

फिल्म यसै पनि सामाजिक आकर्षणको उद्योग, त्यसमाथि सामाजिक सञ्जालले कलाकारहरूको जीवन र दैनिकीप्रति जिज्ञासा र कौतूहल बढाइदिएको छ । त्यसले कतिपय अवस्थामा कलाकारलाई प्रोत्साहन दिन्छ त कहिले दबाब पनि थपिदिन्छ । तपाईंको अनुभवमा ‘स्टारडम’ जीवनको आर्जन हो कि बोझ ?

कलाकार या सिनेमामा आबद्ध व्यक्तिहरू ‘ग्ल्यामर्स’ नै देखिनुपर्छ भन्ने प्रायः दर्शकको मनोविज्ञान रहन्छ । तर फिल्म असाध्यै डेमोक्रेटिक क्षेत्र हो । डाक्टर, इन्जिनियर वा अन्य पेसामा तपाईं जानुभयो भने तपाई‌को शिक्षा, प्रमाणपत्र अनिवार्य हुन्छ, कलाकारिता, खासमा सिनेमा त्यो त्यो सब नभए पनि प्रवेश खुला छ । कसैले विश्वास गर्‍यो, कसलै लगानी गरिदियो अनि कसैले फिल्म बनाइदियो भने जोकोही फिल्ममा प्रवेश गर्न सक्छ । अझ, कुनै प्रशिक्षण लिनुभएको छैन तर कलाकारिताप्रति एक किसिमको लगाव छ भने तपाईंलाई भोलि पर्दामा समेत दर्शकले रुचाइदिन पनि सक्छ । त्यो बेला तपाईंले ‘म चार वर्षको एक्टिङ कोर्स गरेर पनि सफल हुन सकिनँ, यसले त केही कोर्स पनि गरेको थिएन, खालि कलाकारितामा इच्छा मात्र थियो’ भन्न सक्नुहुन्न । तर फिल्म उत्तिकै असुरक्षित पेसा पनि हो । कलाकारिता दिगो हुन सक्छ कि सक्दैन, त्यो प्रत्याभूति कसैसँग छैन ।

भरपूर प्रशिक्षण लिएर, कलाकारितामा पोख्त भएर, सिनेमामा एउटा कलाकारका लागि चाहिने सबै गुणमा आफूलाई दक्ष बनाएर तयारीका साथ फिल्म खेल्नुभयो नै भने पनि तपाईं सफल हुनुहुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तपाईं भोलि पर्दामा देखिइसकेपछि दर्शकले कसरी ग्रहण गर्छ भन्ने कुरा मुख्य हुन्छ । जो व्यक्ति पछिल्ला १५–२० वर्षदेखि लगातार टिकिरहेको छ, ऊ तारिफको काबिल हो । यो क्षेत्रमा त्यसरी टिकिरहनु अत्यन्तै ठूलो चुनौतीको कुरा हो । तर, हामी धेरै कलाकार देख्छौं, आउनेबित्तिकै भयंकर सफलता प्राप्त गर्छन् तर तेस्रो–चौथो वर्षपछि सेलाएर पनि जान्छन् । तर, दर्शकले उसलाई ग्ल्यामर्स र आकर्षक रूपमा देख्न चाहन्छ । यो दबाबबीच बाहिरबाट दर्शकले उसको जति सान देख्छ, कलाकार त्यत्तिकै विनम्र र संयम हुनुपर्छ ।

लामो समयदेखि यो क्षेत्रमा आफ्नो सापेक्षता र सान्दर्भिकता बचाइराख्ने तपाईं आफैं हुनुहुन्छ । कोही नयाँ कलाकारमा फिल्मको पहिलो सट दिएपछि, ट्रेलर सार्वजनिक हुँदा, प्रिमियरमा जाँदा अथवा एउटा फिल्मले चर्चा पाउँदा नै जीवनमा धेरै परिवर्तन भएको पाउँछ । यसैलाई सर्वोपरी ठान्दा अधिकांश कलाकार मानसिक रूपमा धेरै दबाबमा पर्ने सम्भावना हुन्छ । पहिलो फिल्म असाधारण रूपमा सफल हुँदा तपाईंलाई चाहिँ आफैंलाई कस्तो लागेको थियो ? त्यसपछिका अन्य सफलतामा अनुभूतिहरू कसरी परिवर्तन भए वा जस्ताको तस्तै रहे ?

मेरो पहिलो फिल्मले नै अपार सफलता पायो, तर त्यो फिल्मको सफलताले मलाई धेरै रोमाञ्चित हुन दिएन । फिल्म असफल भयो भने त अरू काममा फर्कौंला, तर सफल भयो भने के हुन्छ ? त्यो स्पष्ट थिएन । पहिलो फिल्म सफल भयो भने दोस्रो फिल्म कहाँबाट आउँछ भन्ने परिस्थिति र मनोविज्ञान थियो । चलचित्र क्षेत्रमा मेरो भविष्य के हुने हो, यो फिल्मको सफलताले मेरो यात्रा कहाँ जान्छ, केही रेखाचित्र थिएन । मभन्दा अगाडि आएका कलाकार पनि फाट्टफुट्ट फिल्म गर्नुहुन्थ्यो । कला क्षेत्रमै लागेर आर्थिक र व्यावसायिक रूपमा सफलता हासिल गरेको उदाहरण त मेरो अगाडि कसैको पनि थिएन । त्यसकारण पहिलो चलचित्र गर्दा ममा अलमल थियो । तर संयोगवश, फिल्मले सफलता हासिल गर्‍यो । यस्तो किसिमले सफलता हासिल गरें कि त्यसपश्चात् धेरै लगानीकर्ताहरू मलाई लिएर फिल्म गर्न उत्सुक हुनुभयो । पहिलो फिल्म गर्दा दोस्रो कहाँबाट आउँछ भनेर थालनी गरेको थिएँ, दोस्रो वर्षमा आइपुग्दा दैनिक ८–१० घण्टा सुटिङ गर्ने भइसकेको थिएँ । एकैचोटि दुई–तीन फिल्मको सुटिङ गर्ने भइसकेको थिएँ । सुरुआती दिनमा मेरो सफलता अपत्यारिलो हिसाबले भयो । त्यति बेला निरन्तर फिल्म दिनु नै ठूलो कुरा थियो । तेस्रो वर्षदेखि दिनहुँ १६–१७ घण्टा काम गर्न थालें । यतिका धेरै फिल्म बन्दा हाम्रो क्षेत्रले पर्याप्त जनशक्ति पनि जोड्न सकेको थिएन । मुम्बईबाट ल्याउनुपर्थ्यो । मेकअपम्यान, डान्स डाइरेक्टर, फाइट डाइरेक्टर ल्याउनुपर्थ्यो । बिस्तारै हाम्रो जनशक्ति पनि बढ्दै गयो । केवल फिल्म खेल्ने मात्र होइन, यो उद्योगलाई नै विस्तार गर्ने अभिभारा पनि मेरो काँधमा आयो । जसोजसो चलचित्र गर्दै थिएँ, त्यसोत्यसो चलचित्र क्षेत्र विस्तार हुन थाल्यो । म र चलचित्र क्षेत्र त परिपूरक भयौं, एकअर्काको । यस्तो सफलताको लहरबीच पनि म संयमित र विनम्र भएँ ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

अर्को चलचित्रमा मेरो स्थिति कस्तो रहन्छ भन्ने अनिश्चितताले मलाई त्यता डोर्‍यायो । मलाई त्यति बेला पनि समझ आइसकेको थियो, तपाईं आफ्नो कलाकारिता तबसम्म मात्र जारी राख्न सक्नुहुन्छ जबसम्म तपाईंलाई लोकले चाहन्छ । र, लोकले नचाहने विन्दु कुनै पनि समयमा आउन सक्छ । एउटा उदाहरण राजेश खन्ना नै हुन् । भारतीय चलचित्रको इतिहासमा उनको जस्तो सफलता कसैले पनि हासिल गरेको छैन होला । तर, उनको सफलताको ग्राफ हिमालको आरोहण र अवतरणजस्तै भयो । आफ्नो सफलता व्यवस्थापन गर्न नसकेपछि एकैचोटि तल झरे । अर्का धर्मेन्द्र । उनी सफलताको चरम विन्दुमा कहिल्यै पुगेनन्, तर, सम्पूर्ण करिअर हेर्‍यो भने उनलाई सफल कलाकार भनिन्छ । राजेश खन्नाभन्दा सफल । चलचित्र क्षेत्रमा तपाईंले बाहिरी तत्त्वमा मात्र ध्यान दिनुभयो भने भड्किने सम्भावना हुन्छ । पहिलो चलचित्र सफल हुनेबित्तिकै मलाई जनमानसले काँधमा उचालेर मेरो नामको नारा लगाएको थियो । त्यो चलचित्र गर्नुअगाडि त्यस्तो कल्पना पनि गरेको थिइनँ । तर, फिल्मको त्यो खालको सफलताले कलाकार भड्किने धेरै सम्भावना हुन्छ । अझ अहिले त सामाजिक सञ्जाल छ, एउटा फिल्म गर्नेबित्तिकै तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत प्रचार गर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा हेरेकै भरमा पनि फ्यानहरू हुन सक्छन् । त्यो सबै कुराले अहिले भड्किन धेरै सजिलो छ । वा, आज एउटा कन्टेन्टमा जति लाइक छ, भोलि त्योभन्दा कम आउनेबित्तिकै पनि निराशा हुन सक्छ । कलाकारितामा ताली र गालीको बीचमा मसिनो लाइन छ । जबजब तपाईंले ताली पाउनुहुन्छ, त्यही वाहवाहीलाई तपाईं कदर ठान्नुहुन्छ । भोलि त्यो गाली हुनेबित्तिकै तपाईंलाई डिप्रेसन हुन्छ । तर तपाईंले बुझ्नुपर्छ, कलाकारितामा शतप्रतिशतले तपाईंलाई मन पराउने भन्ने हुँदै हुँदैन । तपाईंका ‘डाइहार्ड फ्यान’ले तपाईंलाई भयंकर उचालिरहेका हुन्छन्, भगवान्जत्तिकै श्रेय पनि दिइरहेका हुन्छन् । तर बुझ्नुपर्छ के भने तर तपाईंको जति प्रशंसा हुन्छ, तपाईं त्यसका लागि सम्पूर्ण योग्य हुनुहुन्न । त्यस्तै आलोचकले तपाईंका बारेमा जस्तो टिप्पणी गर्छन्, तपाईं त्यति खराब पनि हुनुहुन्न । यही कुरा बुझेर तपाईंले आफूलाई सन्तुलनमा राख्नुपर्छ । कलाकार बन्न दर्शकको प्रशंसा त चाहिन्छ, तर यो सब तपाईंको कामले दिने हो । तपाईंको मूल उद्देश्य कलाकारिता गर्नु हो, मूल धर्म तपाईं कला हो । प्रशंसा वा आलोचनामा हराउनु तपाईंको मूल धर्म होइन । तपाईं कृतज्ञ हुनुपर्‍यो कि त्यो मूल धर्म पूरा गर्दा लोकले तपाईंलाई साथ दिइरहेको छ । तर त्यो खालि ‘बाई प्रडक्ट’ मात्र हो ।

तपाईंले निकै सुन्दर भनाइ राख्नुभयो । कुनै पनि व्यक्तिको मूल धर्म त उनको पेसा हो, त्यसको प्रशंसा र आलोचना त ‘बाइ प्रडक्ट’ हो । तर कलाकार वा गैरकलाकार, अहिले धेरैको ध्येय ‘अटेन्सन’ कसरी पाउने भन्नेमा छ । धेरै मान्छे अहिले‘अटेन्सन सिकिङ’ मा अलमलिएका छन् । त्यसबाट पीडित पनि देखिन्छन् । त्यो लतबाट कसरी निस्कने ?

कुनै माध्यम तपाईंको नियन्त्रणमा छ कि तपाईं उसको नियन्त्रणमा पर्नुभएको छ ? महत्त्वपूर्ण पक्ष यो हो । चाहे तास खेल्नुस्, मदिरा पिउनुस् वा अन्य मस्ती र रमाइला कुरा गर्नुस्, त्यसले तपाईंलाई पक्रिरहेको छ कि त्यसलाई तपाईंले पक्रिरहनुभएको छ भन्नेमा भिन्नता हुन्छ । कसैले मदिरा संयमपूर्वक पिउँछ, तर कोही अत्यधिक खाएर अल्कोहोलिक हुन्छ, त्योबिना बाँच्नै सक्दैन भने त्यो लत हो । विज्ञहरू भन्छन्, सामाजिक सञ्जाल अन्य लतभन्दा सयौं गुणा ‘एडिक्टिभ’ छ । यसको डिजाइन नै व्यक्तिलाई कसरी तानिरहने भन्नेर गरिएको हुन्छ । त्यही जानेका इन्जिनियरहरू नै राखेर डिजाइन गरिएको हुन्छ । हेर्दिनँ भनेर राख्नुभयो भने पनि एकै क्षणमा हेर्नुहुन्छ । आफैंले पोस्ट गरेको कुरालाई एकएक मिनेटमा हेरिरहनुहुन्छ । योबिना पनि जीउन सकिन्थ्यो भन्ने मलाई र हाम्रो पुस्तालाई त याद छ । २५ वर्षभन्दा मुनिका व्यक्तिले सामाजिक सञ्जालबिनाको जीवन सम्झन सक्ने अवस्था छैन ।

 तिनको यसमा निर्भरता कति होला ? यही उपकरणसँगै हुर्केकाहरू कति यसको फन्दामा पर्ने होलान् ? कोही चिन्दै नचिनेको व्यक्तिले गरिदिएको नराम्रो कमेन्टले अहिलेका युवायुवतीको ‘मुड अफ’ हुन्छ । प्रायः युवायुवतीको त आफ्नो मूल्यांकन गर्ने आधार नै सामाजिक सञ्जाल भइरहेको छ । आफ्नो ‘भ्यालिडेसन’ अरूबाट खोजिरहेका हुन्छन् । ‘सेल्फ कन्फिडेन्स’ कहाँ जान्छ यसरी ? व्यक्तिले आफ्नो अस्तित्व आफैंले कसरी निर्माण गर्ने ? ऊ त सम्पूर्ण कुरामा अरूमा आधारित भइरहेको छ । ऊ जहाँ जान्छ अरूलाई ध्यानमा राखेर गइरहेको हुन्छ । जन्मदिन मनाउँदासमेत ५० प्रतिशत बढी ध्यान त फोटो खिचेर राख्दा के कमेन्ट आउला भन्नेमा जान्छ । यसरी कस्तो रमाइलो हुन्छ ? खाना खान लाग्यो, खानेकुरा खिच्न र पोस्ट गर्न ध्यान हुन्छ ।

तपाइर्‌ंले भनेजस्तै पुरानो पुस्ता नै समाजिक सञ्जालको नियन्त्रणमा गइसकेको छ, अझ अहिले हुर्किरहेको पुस्तामा त सामाजिक सञ्जाल र ग्याजेटबिनाको दुनियाँको अनुभव छैन । अहिले नै स्थिति यस्तो छ भने हाम्रो भविष्य के होला ?

प्रविधि आफैंमा खराब हुन्न । सुरुआती चरण प्रविधिका जति खराब र नकारात्मक पक्षहरू देखिन्छन्, कालान्तरमा त्यसका विकसित शैलीहरू त्यही किसिमले हानिकारक नहुन पनि सक्छन् । कुनै ‘इन्भेन्सन’ हुनेबित्तिकै तुरुन्तै अतालिने बानी हरेकमा हुन्छ । सूचना प्रविधि आविष्कारको समय त बामे सर्दै छ । २०–२५ वर्षमा वा त्योभन्दा छिटो नै प्रविधिले अर्कै शैली समात्न सक्ला । तर, प्रविधि यहाँसम्म पुग्न सक्ला भन्ने अनुमान राख्दा मानिसहरू आत्तिएका देखिन्छन् । च्याट जिपिटी नै उदाहरण भइहाल्यो । तर, प्रविधि, इन्टरनेटको फाइदा पनि छ । धेरै जानकारीहरू दिइरहेको छ । मलाई कुनै सिद्धान्तबारे थाहा पाउन पुस्तकालय गएर पुस्तक पढिरहनुपर्दैन । हो, ‘एडिक्सन’ चाहिँ बढिरहेको छ । १२–१३ वर्षका बालबालिकालाई हामीले फोन चलाउन दिइरहेका छौं । तपाईंले १२–१३ वर्षको बच्चालाई चुरोट खान दिनुहुन्छ ? गाँजा खान दिनुहुन्छ ? जबकि सामाजिक सञ्जालको लत त अझ बढी छ । अहिले त काखे बच्चा पनि फोनबिना बस्नै नसक्ने, खानै नखाने अवस्था देखिन्छ । त्यसरी हुर्केको बच्चालाई के हुन्छ होला ? यसले त व्यक्तिलाई कल्पनाशीलता, आफूभित्रको कुरालाई अध्ययन गर्ने प्रक्रियाबाट वञ्चित गर्छ । अहिलेको पुस्ताले पाँच वर्षमा देखेको दृश्य पछिल्लो पुस्ताले आफ्नो जीवनभरि देखेन होला । यसमा ‘अनलिमिटेड सप्लाई’ छ । पाँच मिनेट हेर्छु भनेर ५० मिनेट त्यसमै अड्किनुहुन्छ । यसको लतबाट बच्न एकदमै जरुरी छ । जसरी एडिक्सनमा डोजको मात्रा बढ्दै जान्छ, त्यसरी नै सामाजिक सञ्जालको लतको डोज पनि बढ्दै जान्छ ।

अहिले प्रविधिको विकासले सूचना र सञ्चारमा पहुँच पत्रकार, नेता र कलाकारको मात्र होइन, गृहिणी, हजुरबुवा र कलेज पढ्दै गरेका युवायुवतीसम्म विस्तार गरेको छ, साथै हरेकले आफूलाई अभिव्यक्त गर्ने एउटा ‘डेमोक्रेटिक फोरम’ पनि दिएको छ ? यो पक्षबाट हेर्न सकिन्छ होला नि ?

हो, त्यसको राम्रो पक्ष पनि छ । कलाकारका लागि पनि यो राम्रो पक्ष हो । अहिले हरेक कलाकारले नै आफ्नै प्लेटफर्म पनि पाइरहेको छ । कलाकारितामा पनि सहज भयो । तर त्यसलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ? त्यसमा तपाईंको निर्भरता के छ ? उद्देश्य के छ ? यसको लत छ कि छैन ? प्रश्न यो महत्त्वपूर्ण हो । मलाई पनि कहीँ न कहीँ यसको आवश्यकता छ । एउटा फिल्मको छायांकनमा जाँदा घान्द्रकुमा म २५ दिनसम्म टीभी, फोनबिना बसें । अहिले सोच्दा कसरी गरें होला भन्ने लाग्छ । सुटिङ सकेर पोखरा झर्दा ध्यान गरेर फर्केजस्तो लागेको थियो । त्यही अनुसारको जीवनशैली अहिले अपनाउन मलाई पनि गाह्रो हुन्छ । जति संयम भए पनि यसमा निर्भरता मेरो पनि छ । तर, यसमा लत लाग्नु, आफ्नो मूल्यांकनको आधार नै यसलाई बनाउनुहुन्छ भने तपाईं शतप्रतिशत निराशापनको सिकार हुनुहुनेछ । कुनै कालखण्डमा ‘डिप्रेस्ड’ हुनुहुनेछ किनकि हामी मनुष्यको मनोविज्ञानलाई यतिका जानकारी एकै ठाउँमा प्राप्त गर्नका लागि बनाइएकै होइन । मानिसले जहिले पनि वर्तमानमा जटिलता देख्ने अनि विगतलाई रोमाञ्चित भएर हेर्ने गर्छ । ‘टेल अफ टु सिटिज’ भन्ने पुस्तकमा लेखिएको छ, ‘इट वट द बेस्ट अफ टाइम्स, इट वज द वर्स्ट अफ टाइम्स ।’ यो हरेक कालखण्डमा हुन्छ । हाम्रो जीवनमा राम्रा दिन पनि हुन्छन्, नराम्रा पनि । परिस्थिति जति जटिल भए पनि त्यहाँ कुनै न कुनै समय ‘गुड टाइम’ नहुने भन्ने हुँदैन । परिस्थिति तपाईंले जति अनुकूल पाउनुभए पनि त्यो अवधिमा कुनै ब्याड टाइम नहुने भन्ने हुँदैन ।

हो, तपाईंले उद्धृत गर्नुभएको उपन्यासका लेखक चार्ल्स डिकन्सले झन्डै दुई सय वर्षअघि लेखेको कथ्यजस्तै हरेक देश र समाजको मात्र होइन, व्यक्तिको जीवनमा पनि उज्याला र अध्यारा पाटा हुन्छन्, उतारचढाव हुन्छन् । नेपाली समाजले निक्कै सफल मान्ने राजेश हमालले पनि सधैं ‘हाई फिल’ गर्ने मात्र होइन, कहिलेकाहीं ‘लो फिल’ गर्ने समय आयो होला, तपाईंका त्यस्ता अनुभूतिलाई कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ?

मैले मेरो फिल्म करिअर २०४६ को आन्दोलनताका सुरु गरें । आन्दोलनका कारण केही महिनासम्म फिल्मको छायांकन नै स्थगित भएको थियो । आन्दोलनपश्चात् अब अवस्था स्थिर होला भन्ने थियो, केही वर्षमा भयंकर ठूलो जनयुद्ध आयो । त्यो बेला त झन् यो क्षेत्रमा लागेका कतिपय मानिस विचलित भए । जनयुद्धले फिल्म हेर्ने सम्पूर्ण संस्कृति परिवर्तन गरिदियो । नाइट सो बन्द भयो, आवतजावत गर्न गाह्रो भयो । कति हलहरू बन्द भए, कति गोदाममा परिणत भए ! कि साथीहरू विदेशतिर लाग्नुभयो । त्यो बेला म पनि विचलित हुनुपर्ने तर फिल्ममै लागिरहें । मेरो चलचित्र मात्र बनिरहेको थियो ।

माओवादी जनयुद्ध क्रममा कलाकारदेखि प्राविधिकसम्म विस्थापित भए, दर्शक विस्थापित भए तर मेरो कलाकारिता जारी थियो । कुनै महिना थिएन कलाकारिता नगरेको । सायद म नै यस्तो कलाकार हुँ, जसले २४ वर्षसम्म निरन्तर कलाकारिता गरिरहें । संयमतासहित कदम चालिरहें । हरेक नयाँ फिल्ममा एक खाले असुरक्षा थियो । राजनीतिक परिस्थिति अझ जटिल थियो । अहिलेका साथीहरूले पनि यो मनन गर्नुपर्‍यो कि, तपाईंको अपेक्षा बढी भयो कि परिस्थिति नाजुक भइरहेको छ ? यही परिस्थितिलाई नाजुक भन्नुहुन्छ भने योभन्दा धेरै नाजुक परिस्थितिबाट हामी गुज्रँदै आयौं । म त कलाकार हुँ, जीवन यस्तो हुनुपर्छ, बडीगार्ड लिएर हिँड्नुपर्छ भन्ने जस्ता महत्त्वाकांक्षा पाल्न थाल्नुभयो भने विचलन बढ्न सक्छ ।

तपाईंले २४ वर्ष दिनहुँजसो अनवरत १६ घण्टा काम गर्नुभयो । १२ महिनामा १७ फिल्म रिलिज गर्नुभयो । त्यतिखेर कामको जुन लत थियो, त्यही राजेश हमाल १० वर्षयता फिल्म गरिरहनुभएको छैन । चरम व्यस्तताको ‘सेड्युल’ र अहिलेको फुर्सदिलो क्षण । सफलतालाई व्यवस्थापन गरेझैं यो फुर्सदिलो क्षणलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

मान्छेको जीवन सधैं एकनासले चल्दैन, चरण अनुसार चल्छ । बाल्यकाल, युवा हुँदै अर्को चरण आउँछ । सबैभन्दा महत्त्वपूर्ण, त्यो चरणको माग अनुसार जीउन सक्नुभयो कि भएन ? त्यो चरण अनुसार जीउन सक्नुभयो, हरेक चरणलाई निष्कर्षमा पुर्‍याउन सक्नुभयो भने तपाईंलाई हरेक चरण सामना गर्न सहज हुन्छ । तपाईंको बाल्यकाल राम्रोसँग बित्यो भने पछि सम्झँदा पनि आनन्द लाग्छ । बाल्यकालमा गडबड भयो भने त्यसले आजीवन सताउँछ । स्कुले जीवनका साथी र पढाइ जुन ढंगले चल्नुपर्ने हो, चल्यो भने समस्या भएन । तर स्कुले जीवनलाई नै निष्कर्षमा पुर्‍याउन सकिएन भने सहजता हुँदैन । जुन हिसाबले मैले फिल्म गरें, यही रफ्तारमा जीवन त चल्दै चल्दैन भनेर बुझिनुपर्ने कुरा हो । मेरो व्यावसायिक अवधिलाई मैले शतप्रतिशत कहीँ न कहीँ न्यायपूर्ण ढंगले बिताएँ भन्ने लाग्छ । अहिले म अर्को चरणमा छु । यी चरणहरू मानिसले ल्याउने होइन, उमेरले ल्याउने हो । त्यसलाई कसैले पनि रोक्न सक्दैन । उमेर अनुसारको ‘फेज’ त बिताउनैपर्‍यो । नेपाली चलचित्र क्षेत्रमा म आफूलाई भाग्यमानी पनि ठान्छु । ‘युगदेखि युगसम्म’ गर्दा मेरो कल्पनामा पनि थिएन कि ३४ वर्षसम्म यसरी यो क्षेत्रमा लागिरहन्छु । गर्दै जाऊँ, हेर्दै जाऊँ भन्दाभन्दै यहाँसम्म आइपुगें । म आफ्नो त्यो फेजलाई धन्यवाद दिन्छु, त्यो समयको माग अनुसार १८–१९ घण्टा काम गरें । अहिले म देश–विदेश भ्रमण गर्छु, त्यहाँ पुग्दा प्रत्यक्ष दर्शककहाँ पुग्छु । मेरै उमेरका दर्शकहरूले जीवनको कुनै न कुनै बेला मेरो फिल्म हेर्नुभएको हुन्छ । मेरो फिल्म हेर्दाखेरिको उहाँहरूको अनुभव अहिले सुन्दा बेग्लै मज्जा लाग्छ ।

हाम्रो सामाजिक मनोवृत्ति पनि बडो अचम्मको छ । कसैको फिल्म चल्यो, सबैले लगानी गर्ने, फिल्म बनाइहाल्ने, हिरो र हिरोइन भइहाल्ने । त्यस्तै मिडियाको प्रभाव छ भन्ने आयो, सबैले मिडिया खोलिहाल्ने । अरू कुनै उद्यम पनि आकर्षक देखियो भने सबै त्यसैमा कुदिहाल्ने । अनि फिल्म वा मिडिया धेरै भए पनि भन्ने । यो मनोवृत्तिलाई कसरी हेर्नुभएको छ ?

यो पनि अहिलेको सामाजिक सञ्जाल र प्रविधिकै उपज हो । सबै जना ‘फेम’को पछाडि दौडिरहेका छन् । सबै जनामा कसरी पपुलर हुने भन्ने भूत सवार भइरहेको छ । अझ टिकटकको यो जमानामा हरेक घरमा नातिदेखि बाजेसम्म कलाकार । हामी व्यावसायिक कलाकारलाई क्यामराका अघि कता कता संकोच लाग्छ, उहाँहरू टिकटक भिडियोका लागि जहाँकहीँ निर्धक्कै नाच्न थाल्नुहुन्छ । हामीसँग भेट हुँदा पनि पहिले सेल्फी लिनुहुन्छ, अनि एउटा टिकटक बनाउँछु है भनेर नाच्न सुरु गर्नुहुन्छ । यो भनेको फेमको चाहना हुनु हो । सबैले मलाई हेरून्, मेरै बारेमा चिन्ता राखिदिऊन् भन्ने छ । यस्तो मनोविज्ञान छ सबैमा । हरेक व्यक्तिलाई भाइरल हुनुपरेको छ । राम्रो तरिकाले भाइरल भयो भने त ठीक छ तर नराम्रा तरिकाले भाइरल भएको छ भने पनि मतलब छैन । ठीक छ रमाइलो गर्नोस् । तर यसैलाई सफलताको मापदण्ड बनाउनुभयो र त्यो अनुसार भएन भने निराशा भइन्छ । कसैले भयंकर ठूलो आशा दिएको छ र त्योभन्दा कम भयो भने तपाईं निराश हुनुहुनेछ । यस्तो किन हुन्छ भने तुलना गर्ने मनोविज्ञान त मनुष्यमा छ । पहिला आफ्नो परिवार, छिमेकी या आफ्नो विद्यालयमा दाँज्ने काम हुन्थ्यो । तर, अहिले तपाईं चिन्दै नचिनेको व्यक्तिसँग आफ्नो लवाइ, खवाइ जीवनशैली दाँज्दै हुनुहुन्छ । यो त असाध्यै अप्राकृतिक हो । त्यसबाट तपाईंलाई असर परिरहेको छ । जब कम्पेयर, क्रिटिसाइज र कम्पिटिसनजस्ता तीन भावना आउँछन्, तब लभ, अन्डरस्ट्यान्डिङ र पिस तपाईंको जीवनबाट बिदा हुन्छ ।

नेपालका राजेश हमाल होऊन् या बलिउडका अमिताभ बच्चन अथवा हलिउडका टम ह्यांक्सजस्ता कलाकारले लोकतन्त्र, व्यवस्था र समाजका परिवर्तनहरूमा हस्तक्षेप पनि गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा कलाकारहरू संवेदनशील बनेर राज्यलाई झकझकाउने कोसिस गर्नुपर्छ भन्ने अपेक्षा रहन्छ । उदाहरण, मानव जीवनलाई अवमूल्यन गर्न सबै कामका लागि आर्टिफिसियल इन्टलिजेन्सलाई अघि सार्न खोजिएको भन्दै ब्रायन क्र्यान्सनजस्ता कलाकारहरू विरोधमा उत्रिए, भारतमा किसान आन्दोलन हुँदा विश्वप्रसिद्ध गायिका रिहानाले दमनको विरोध गरिन् । यो देशमा कहिले मिटरब्याजी पीडितका वा सुकुम्बासीका पीडाहरू सुनिन्छन्, कहिले ठेलामा आँप बेच्ने र मकै पोल्ने लखेटिन्छन् । कहिले दाइजोका कारण मारिएका छोरीका अभिभावक सडकमा आउँछन् । तपाईंहरूले आवाज उठाउनुपर्छ भन्ने सामाजिक अपेक्षा हुन्छ । तपाईंलाई कस्तो लाग्छ ?

थोरबहुत त भएको छ किनकि कलाकार नागरिक पनि हुन् । नागरिकका हिसाबले राज्यको गतिविधिले उसलाई पनि असर पारिरहेको हुन्छ । यो सहरमा के भइरहेको छ ? म बसेको समाजमा के भइरहेको छ ? राजनीति के भइरहेको छ ? कुनै विषय यति संवेदनशील हुन्छ कि एउटा व्यक्तिले खराब भनिरहेको कुरा सही पनि हुन सक्छ । ‘युनिभर्सल अपिल’ भएको व्यक्तिले आवेशमा आएर सार्वजनिक टीकाटिप्पणी गर्नुभन्दा अगाडि सोच्नुपर्छ । हरेक कुरा ‘ब्ल्याक एन्ड ह्वाइट’मा हुँदैन ।

लिम्पियाधुरा र लिपुलेकको कुरा उठ्दा मैले पनि कुरा उठाएँ, अरू कलाकारले पनि बोले । कोभिडले सताउँदा पनि बोलें । हाम्रैमा भएका मुद्दाहरूमा टीकाटिप्पणी गर्नुभन्दा पनि मैले त कार्यक्रम नै गरिरहेको छु । जातीय विभेदसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको हुन्छु । त्यसकारण यस्तो मुद्दालाई सार्वजनिक व्यक्तिले कुनै न कुनै कोणबाट अँगालिहाल्छ । अन्य धेरै यस्ता मुद्दा पनि हुन्छन्, जसको एउटा पक्ष र अर्को पक्ष हुन्छ । त्यसमा एउटा पक्ष लिँदा समाज झन् विभाजित हुने अवस्था हुन्छ ।

अब अन्तिममा सिधै राजनीतिक कुरा गरौं, नेपाल पञ्चायतकालभन्दा अहिले धेरै अगाडि बढेको छ भन्ने अभिव्यक्ति दिनेबित्तिकै राजेश हमाललाई आदर्श मान्नेहरू जसरी आक्रमणमा उत्रिए, त्यो देख्दा ‘सेफ स्पेस’मा बसौं भन्ने लागेन ?

मैले भनेको कुरा त तथ्यांकले नै बताइहाल्छ, विगतको नेपालको जुन वास्तविकता छ, त्यो त छर्लंगै छ । विगतको भन्दा नेपालीको जीवनशैली धेरै माथि आएको छ । यद्यपि, पछिल्ला २९–३० वर्षमा जसरी राजनीति चल्नुपर्ने हो चलेको छ भन्न खोजेको होइन । यतिको समयमा त अन्य राष्ट्रले कायापलट गरेका छन्, त्यस हिसाबमा त अहिलेसम्म धेरै नै हुनुपर्ने हो । तर नेपालीको ३५–४० वर्षभन्दा अगाडिको जीवनशैली हेर्ने हो भने धेरै अन्तर छ । ३५ वर्षअगाडि नेपाली जनसमुदायमाझ अण्डा, मासु, जिन्स कति खपत हुन्थे र अहिले कति खपत भइरहेका छन् ? दुईतारे, चारतारे होटल कति थिए ? सोल्टीमा ४० वर्षअगाडि कति नेपालीको पहुँच थियो र आज कतिको छ भनेर हेर्नुस् । ३९–४० वर्षअगाडि शिक्षाको पहुँच कस्तो थियो, साक्षरता दर कस्तो थियो भनेर हेर्दा आँकडा निस्किहाल्छ नि !

लोकतन्त्रभन्दा राजतन्त्र नै सही थियो भन्ने बहस सुषुप्त ढंगले जनताको विवेकलाई नै चुनौती दिने गरी भइरहेको छ । जनताले आफ्नो विवेकले छानेको नेताभन्दा कुनै परिवारमा जन्मेका आधारको नेता गज्जब हुन्थ्यो भन्ने बहस भएको छ । यो त जनताले सही गलत छुट्याउन सक्दैन, कुनै निश्चित परिवारमा जन्मेको व्यक्तिले भने सबै जिम्मा लिन सक्छ भन्ने मान्यता हो । तपाईंलाई यो विषयमा कस्तो लाग्छ ?

कुनै पनि राष्ट्रमा लोकतान्त्रिक वातावरण अमूल्य हुन्छ । जहाँ पूर्ण लोकतन्त्र छैन, त्यहाँका जनता पीडित छन् । उत्तर कोरिया होस् या इरान । अझ, मजस्तो सिर्जनशील व्यक्तिका लागि त लोकतन्त्र अति नै महत्त्वपूर्ण छ । लोकतान्त्रिक वातावरणले नै फराकिलो दायरा दिएको छ । लोकतन्त्रको विकल्प हुँदैन । बरु, जोजो व्यक्तिका कारण हामीले लोकतान्त्रिक परिवेश पायौं, ती व्यक्तिहरूका अन्य व्यवहार निराशाजनक भएका कारण ती व्यक्तिले ल्याएको व्यवस्था पनि खराब हो भन्ने लागेको हो । तर हामीले ती व्यक्ति र हामीले पाएको व्यवस्थालाई छुट्याएर हेर्नुपर्ने हुन्छ । अंग्रेजीमा भनिन्छ, ‘थ्रोइङ द बेवी विथ द बाथ वाटर ।’ फोहोर पानी फाल्ने हो, बच्चालाई होइन ।

हामीले सोचेको जस्तो उहाँहरूले काम गर्न सक्नुभएन, उहाँहरूलाई देखेर नेपाली जनसमुदाय निराश छ, त्यो साँचो हो, तर उहाँहरूले नै लोकतान्त्रिक वातावरण ल्याउनुभयो, संविधान लेख्नुभयो । निःसन्देह जसले लोकतान्त्रिक वातावरण ल्याउनुभयो, संविधान लेख्नुभयो । उहाँहरू लोकतन्त्रका संस्थापक पिता, संविधानका संस्थापक पिता बन्न सक्नुभएन । यो ती सब पिताहरूको राजनीतिको निराशाजनक यात्रा हो । तर लोकतन्त्रको विकल्प छैन भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।

फिल्म असाध्यै डेमोक्रेटिक क्षेत्र हो । डाक्टर, इन्जिनियर वा अन्य पेसामा तपाईं जानुभयो भने तपाईंको शिक्षा, प्रमाणपत्र अनिवार्य हुन्छ, कलाकारिता, खासमा सिनेमा त्यो त्यो सब नभए पनि प्रवेश खुला छ ।

प्रतिक्रिया