Thursday 20th of June 2024

सरकारले भ्रष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अघि बढाउनुपर्छ : नेता पोखरेल

0 Shares

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले भ्रष्टाचार र सुशासनको पक्षमा सरकारले अभियान निर्ममतापूर्वक अगाडि बढाउनु पर्ने बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा शनिबार धारणा राख्ने क्रममा सरकारको कामको प्रशंसा गर्दै नेता पोखरेलले भ्रष्टाचार र सुशासनको पक्षको जारी अभियान रोक्न नहुने बताएका हुन् । उनले तत्कालीन एकता केन्द्र र माओवादीबीच एकीकरणको प्रसंग कोट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानले त्यतिबेलाको आफ्नो भनाइ प्रमाणित गरेको दाबीसमेत गरे ।

‘मैले पार्टी एकताको बखतमा नै भनेको थिएँ कमरेड प्रकाशसहितको प्रचण्डको नेतृत्वले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान हुन्छ । आज प्रचण्डको नेतृत्व र नारायणकाजीको सक्रियतामा चलेको भ्रष्टाचारविरोधी आशाबर्दक अभियानले त्यही कुरा प्रमाणित भएको छ,’ पूर्वमन्त्रीसमेत रहेका पोखरेलले भने, ‘भष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अगाडि बढाउनु पर्छ ।’

उनले भ्रष्टाचारविरुद्ध माथिबाट गरेको सरकारको काम ठीक रहेको पनि उल्लेख गरे । नेता पोखरेलले भने, ‘शक्तिमा हुन आफैंप्रति निर्मम हुनु पर्छ ।’

यस्तै नेता पोखरेलले पुँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्न नसक्ने भन्दै देश खाद्य संकटमा जान लागेकोले कृषिमा आत्मनिर्भरताको अभियान चलाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया