Friday 14th of June 2024

विद्यालय भवन निर्माणको विषयमा झडप : दुई घाइते, तीन राउण्ड हवाई फायर

0 Shares

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ कोल्हुवा स्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालय भवन निर्माणको विषयमा भएको झडपमा परी दुई जना घाइते भएको छ ।

विद्यालयको भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै आइतवार भएको दुई पक्षबीचको झडपमा ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको छ भने शंकरको उपचार जनकपुरधामस्थित रामजानकी हस्पीटलमा भइरहेको छ । स्थानीय केही युवाहरुले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्च हिसाब पारदर्शी गर्न माग गर्दा विवाद भई झडप भएको धनुषाका एसपी विश्वराज खड्काले जनाएको छ ।

अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको घटनामा संलग्नहरु पहिचान भएपनि अहिले फरार रहेका छन, तर तिनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

संघीय सरकारको नमूना विद्यालय कार्यक्रम अन्तर्गत निर्माण भइरहेको विद्यालय भवनको तेश्रो तल्लाको छत ढलान काम स्थानीय युवाहरुले गुणस्तरहीन र कमसल काम भइरहेको खर्च हिसाबको माग गर्दा विवाद भएको थियो । उनीहरुले इस्टिमेटमा १० एमएमको छड उल्लेख रहेकोमा ७-८ एमएमको छड प्रयोग भइरहेको र पर्खाल ५ इन्चको खडा गरिएको भन्ने आरोप लगाउंदै खर्च हिसाब माग गरेका थिए ।

संघीय सरकारको नमूना विद्यालय व्यवस्थापन कार्यक्रम अन्तर्गत डेढ करोडको बजेटमा विद्यालयको तीन तल्ले भवन निर्माण भइरहेको छ । ती मध्ये पहिलो भूइतल्ला निर्माण भइसकेको छ भने दोश्रो र तेश्रो तल्लाको काम भइरहेको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा वडा समितिद्वारा निर्माण समिति गठन गरी निर्माण कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया