Thursday 20th of June 2024

सीआईबीका चर्चित १० सफल अनुसन्धान

0 Shares

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार गेटबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’लाई जिम्मेवारी दिएको छ । ब्युरोले ‘संगठित तस्करी’ मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर संसद् चल्न दिएको छैन ।

राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन तस्करी ‘संगठित प्रकृति’को देखिएको निष्कर्षसहित राजस्व अनुसन्धान विभागले उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई सीआईबीको जिम्मा लगाएको छ । सुन तस्करीमा संलग्न आरोपमा तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बती मुलकै भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक जीक्वाङ लिन सहित १७ जना प्रहरीको हिरासतमा छन् ।

सुन तस्करी संगठित तवरले भएको हुनाले प्रहरीले नै यसबारे अनुसन्धान गर्नुपर्ने जानकारहरु बताउँछन् । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की भन्छन्, ‘संगठित अपराधको अनुसन्धान प्रहरीले नै गर्नुपर्छ ।’

महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल पनि कानुनले संगठित अपराधको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई नै दिएको बताउँछन् । डा. पोखरेलले भने, ‘संगठित तस्करीको अनुसन्धान गर्ने कानुनी अधिकार क्षेत्र नै प्रहरीको हो ।’

२०६७ सालमा स्थापना भएको केन्द्रीय अनुसन्धान ब्युरोले चर्चित कयौँ संगठित अपराधको सफल अनुसन्धान गरिसकेको छ । चर्चित ‘रातो पासपोर्ट’ प्रकरण र नक्कली चिकित्सक विरुद्ध सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेर अनुसन्धानमा ‘अब्बल’ प्रमाणित गरेको छ ।

यस्ता छन् सीआईबीका चर्चित १० सफल अपरेसन :

रातो पासपोर्ट :

जन निर्वाचित सभासद्हरु पासपोर्ट बेच्ने ‘धन्दा’ मा संलग्न रहेको सुराक पाएपछि सीआईबीले त्यसविरुद्ध अपरेसन चलाएको थियो । २०६७ मा सीआईबीका तत्कालीन निर्देशक राजेन्द्रसिंह भण्डारीले रातो पासपोर्ट दुरुपयोगविरुद्ध अपरेसन चलाएका हुन् । ब्युरोले तत्कालीन सभासद् बिपी यादव, गायत्री साह, नारदमुनी राना र शिवपुजन यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पासपोर्ट दुरुपयोग गरेको आशंकामा थप २५ वटा पासपोर्ट फरेन्सिक जाँच गर्न ब्युरोले ल्याबमा पठाएको थियो । तर, त्यसबेला डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट नआउँदै आफ्नो सरुवा भएको पूर्व एआईजी राजेन्द्र सिंह भण्डारीले रातोपाटीलाई बताए ।

उनले भने, ‘२५ वटा राहदानी शंकाको घेरामा थियो, मेरो सरुवापछि सो अनुसन्धान कसरी टुङ्गियो, थाहा भएन ।’

ब्युरोले राहदानी दुरुपयोग गर्ने सभासद्हरु विरुद्ध राहदानी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरेको थियो । सो अनुसन्धानलाई सीआईबीको ‘साख’ जोगाउने घटनाको रुपमा लिइन्छ ।

अपरेश ‘क्वाक’ :

केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली चिकित्सकविरुद्ध २०७२ देखि नै ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । २०७२ माघमा ब्युरोका निर्देशक हेमन्त मल्लले सो अपरेसन सञ्चालन गरेर १२ जना नक्कली डाक्टरलाई कानुनी दायरामा ल्याए ।

२०७३ असारमा तत्कालीन डीआईजी नवराज सिलवालले देशभर एकैपटक अपरेसन सञ्चालन गरेर ३६ जना नक्कली सर्टिफिकेटधारी चिकित्सकलाई नियन्त्रणमा लिए ।

तत्कालीन डीआईजी सहकुल थापाले सीआईबीको नेतृत्व लिँदा पनि ‘अपरेसन क्वाक’लाई निरन्तरता दिए । २०७७ वैशाखमा थापाले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमसहित ७ जना चिकित्सकलाई पक्राउ गरेर कारबाही गरेका थिए ।

सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेपछि एमबीबीएस पढ्नका लागि आईएससी र बीएससीका सर्टिफिकेटहरु डुब्लिकेट बनाउने धन्दामा ‘ब्रेक’ लागेको छ ।

२०७८ मा पनि ब्युरोले ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेर ‘लिखत सम्बन्धी कसुर’ मा मुद्दा चलायो । नक्कली चिकित्सकहरुले प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको अनुसन्धानबाट थाहा भएको पूर्व एआईजी सहकुल थापाले रातोपाटीलाई बताए । उनी भन्छन्, ‘एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्ममिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।’

मार्कसिटमा विवरणहरु सच्याइएको आरोपमा ब्युरोले उनीहरुलाई लिखित सम्बन्धी कसुरमा मुद्दामा अनुसन्धान गरेको थियो ।

ब्ल्याक स्पाइडर समूह :

काठमाडौं उपत्यकामा २०६७–०६८ तिर ‘ब्ल्याक स्पाइडर’ समूहको आतङ्क थियो । उपत्यकाका मेनपावर र अस्पताललाई टार्गेट गरेर असुली धन्दा चलाउने सो समूहले हातहतियार सहित उपत्यकामा राज गर्दै थियो । समूहका मुख्य नाइकेले आफूलाई ‘सन्दिप पाठक’को नामले चिनाउँथे । सो समूहले मेनपावर व्यवसायी संघका तत्कालीन अध्यक्ष एलपी सावाँ र चिकित्सक डा. हेमाङ्ग दीक्षितलाई गोली प्रहार गरेको थियो ।

गोली भनेअनुसार प्रहार नगरेको भन्दै समूहका नाइकेले रिसाएर आफ्ना सहयोगीसँग गुनासो गरेका थिए, ‘सुटर पनि गतिलो भएन ।’

ब्ल्याक स्पाइडर समूहले मारवाडी समुदायका व्यवसायी र अन्य व्यापारीको बारेमा सबै जानकारी राख्थे । उनीहरुले फोन गरेर छोराछोरीको स्कुल, बस्ने ठाउँ र भेटघाट गर्ने जक्सनको बारेमा भनेपछि ‘पैसा नदिए हत्या गर्ने’ धम्की दिएर आतङ्क मच्चाउथे । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग पनि त्यतिबेला १० लाख रकम मागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

अपहरण समेत गर्ने सो समूहका मुख्य नाइके सन्दिप पाठकलाई भारतको सिलगुडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । उनी भन्छन्, ‘ब्ल्याक स्पाइडर समूहबारे अनुसन्धान गरेर ७ जनालाई मुद्दा चलाएपछि असुली आतङ्क अन्त्य भएको थियो ।’

३३ किलो सुन अपरेसन :

गौशालास्थित पिंगलास्थानबाट २१ पुस २०७३ मा ३३ किलो ७५० ग्राम सुन बरामद गरिएको थियो । सुनको अपरेसन कमाण्ड तत्कालीन एसपी मीरा चौधरीले गरेकी थिइन् । तस्कर समूहले सो सुन दुबईबाट ल्याएको थियो ।

नेपालगञ्ज घर भएका गोपाल बहादुर शाही दुबईबाट सुन लिएर आए । काठमाडौंमा सुन रिसिभ गर्न आएका थिए मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले ।

ब्युरोका तत्कालीन डीआईजी नवराज सिलवालका अनुसार युएईका प्रहरी अधिकारीले दिएको सुराकीको आधारमा सुन बरामद गरिएको थियो । सो घटनामा ब्युरोले ‘संगठित सुन तस्करी’ मुद्दामा अनुसन्धान गरेर ३३ जनाविरुद्ध मुद्दा चलाएको थियो ।  त्यसबेला नै ब्युरोले दुबईबाट नेपालमा हुने तस्करीमा चुडामणी उप्रेती ‘गोरे’ संलग्न रहेको निष्कर्ष निलेको थियो । पछि तिनै ‘गोरे’ समूहले २०७४ माघ ९ मा ल्याएको ३३ किलो सुन हरायो । सुन हराएपछि तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेको छानबिन निष्कर्ष छ ।

सुन तस्करी र सनम हत्याबारे छानबिन गर्न तत्कालीन मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सुन तस्करीको चेनमा जोडिएका १९ जनालाई पक्राउ गरेको थियो । तर, एकजना व्यापारीको नाम जोडिएपछि छानबिन रोकियो । समितिको छानबिनका क्रममा सनम शाक्य समेतको मिलेमतोमा सुन गायब गराएको भन्दै ‘गोरे’ ले उनलाई यातना दिएको पुष्टि भयो । ‘गोरे’ अहिले जेलमा छन् ।

अवैध कल बाइपास :

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध अन्तर्राष्ट्रिय कल बाइपासविरुद्ध ठुला अपरेसन सञ्चालन गरेको छ । २०८० जेठ ३० मा ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट ब्युरोले चिनियाँ झाओ जियानपिङ्गले सञ्चालन गरेको अन्तर्राष्ट्रिय आगमन कल बाइपास सेन्टरमा छापा मारेको थियो ।

३२ वर्षीय चिनियाँले नेपाली नागरिकसँग मिलेर गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको अनुसन्धानबाट थाहा भएको छ । चिनियाँलाई सघाउने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय गणेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेर कानुनी दायरामा ल्याएको थियो ।

बाइसपास सेन्टरमा ६४ र २४७ पोर्टको दुई थान भीओआईपी गेटवे भेटियो । कल बाइपासमा संलग्न चिनियाँ नागरिकले ३ हजार ७ सय थान सीमकार्ड खरिद गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

ब्युरोले २०६८ बाटै भीओआईपीविरुद्ध ठुलो अपरेसन सञ्चालन गरेको पूर्व एआईजी राजेन्द्र सिंह भण्डारीले जानकारी दिए ।

रानीबारी हत्याकाण्ड :

रानीबारी हत्याकाण्डको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोको इतिहासमा चर्चित अनुसन्धान थियो । काठमाडौंको रानीबारीमा अनाहक मारिएका ईन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अन्जनाको हत्या भएको १२ वर्षपछि ब्युरोका अनुसन्धान अधिकृतहरुले घटनाको वास्तविकता पत्ता लगाएका थिए ।

ranibari murder case

३१ असार २०५९ मा इन्जिनियर दम्पती हत्या गर्न गएको समूहले उनीहरुका चार वर्षीया छोरीलाई घाइते बनाएर बाथरुममा थुनेका थिए । हत्यामा संलग्न आरोपितहरु अहिले थुनामा छन् ।

रानीबारी हत्याकाण्ड पत्ता लगाउन धेरै मेहनत गरिएको बताउँछन् ब्युरोका तत्कालीन निर्देशक हेमन्त मल्ल । इन्जिनियर दम्पती हत्यामा संलग्न आरोपमा मनराज गुरुङ र प्रमेश चौहान पुर्पक्षका लागि थुनामा छन् ।

पृथ्वी शाह प्रकरण :

अछाम घर भएका ३५ वर्षीय पृथ्वीबहादुर शाहले विदेशबाट शंकास्पद रकम नेपाल ल्याएका थिए । २०७९ पुसमा ब्युरोले उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा अमेरिकामा अनलाइन फ्रड गरेर शाहले नेपालमा रकम ल्याउने गरेको तथ्य बाहिरियो । अनुसन्धानमा संलग्न एसएसपी दिनेश आचार्यका अनुसार शाहले सरकारी लिखत पनि किर्ते गरेका थिए ।

ब्युरोले शाहसहित उनको समूहका ७ जनाविरुद्ध ठगी र संगठित अपराध मुद्दा अघि बढायो । उच्च राजनीतिक तहसम्म पहुँच भएका शाहले अमेरिकामा ठगेर ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउण्ड स्ट्रलिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएको ब्युरोले गरेको अनुसन्धानबाट खुलेको थियो ।

शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएका थिए । अमेरिकन नागरिकले सीआईबीमा इमेलमार्फत पठाएको जाहेरीको आधारमा अनुसन्धान गरिएको एसएसपी आचार्यले बताए ।

शालिकराम जम्कट्टेल प्रकरण :

बबरमहलमा माओवादी मजदुर नेता शालिकराम जम्कट्टेलमाथि खुकुरी र रड प्रहार भएको घटना केन्द्रीय अनुसन्धान ब्युरोले नै अनुसन्धान गरेको थियो । जम्कट्टेल हाल बागमती प्रदेशको मुख्यमन्त्री छन् ।

२०६८ मा भएको सो घटना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले तत्कालीन सीआईबीका निर्देशक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । समितिमा हेमन्त मल्ल, शेरबहादुर बस्नेत, भुपाल भण्डारी र भूपेद्र खत्री सदस्य थिए ।

ब्युरोले जम्कट्टेलमाथि आक्रमण पार्टी भित्रैबाटै भएको निष्कर्ष सहित घटनामा संलग्न चार जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्यायो ।

घटनाको योजना माओवादीका तत्कालीन नेवा राज्यसमिति सचिवालय सदस्य रमेश पन्तको योजनामा भएको थियो ।

दुई महिना लगाएर अनुसन्धान गरेपछि घटनामा संलग्नहरुबारे थाहा भएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । आक्रमणमा संलग्न मकवानपुरका इन्द्रबहादुर शाही ठकुरी, खोटाङका कमल बुढाथोकी, मकवानपुरका सुदीप कार्की र राम पुडासैनीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पन्तले एक महिना लगाएर जम्कट्टेलमाथि आक्रमण गर्ने योजना बनाएका थिए । पार्टीभित्रको द्वन्द्वका कारण जम्कट्टेलमाथि आक्रमण भएको ब्युरोको अनुसन्धान निष्कर्ष थियो ।

गैँडा सिकारीको सञ्जाल ‘ब्रेक’ :

केन्द्रीय अनुसन्धान ब्युरोले लामो अनुसन्धानपछि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा सिकार गर्ने समूहको सञ्जाल ‘ब्रेक’ गरेको छ । चितवनको कोराक भन्ने ठाउँमा सामान्य बस्ती छ । गैँडा सिकार गर्नेहरु अधिकांश त्यही बस्तीका हुन् ।

गैँडा सिकारमा संलग्न पाँचजना सिकारी अहिले जेलमा छन् । बमबहादुर प्रजाका दाजुभाइ, रामकुमार प्रजा, बिरमानसिंह प्रजा र रणबहादुर कुमाल कहलिएका गैँडा सिकारी हुन् । रणबहादुर र बिरमान पूर्वी नवलपरासी कारगारमा छन् । चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैँडा मारेको आरोपमा उनीहरु जेल परेका हुन् । बिरमानले अहिलेसम्म ४ वटा गैँडा मारेको स्वीकार गरेका छन् । बिरमानसिंह प्रजामात्र होइन, गैँडा मारेको मुद्दामा उनका बुबा र आमा पनि कारागारमा छन् ।

राजकुमार प्रजालाई सीआईबीले इन्टरपोलको सहयोगमा २०७१ मा मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । राजकुमारलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैद सजाय तोकेको छ । राजकुमारले २८ वटा गैँडा मारेको मारेको स्वीकारेका छन् ।

प्रजाहरुले २०७० बाट गैँडा सिकार गर्न थालेका हुन् । १० वर्षअघि उनीहरुको आर्थिक अवस्था जस्तो थियो, अहिले पनि उही छ । प्रजाहरुलाई प्रयोग गरेर अरु कसैले फाइदा लिएको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

गौचन हत्याकाण्ड : २०७४ मा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा भयो । हत्यामा संलग्न मुख्य आरोपित समिरमान सिंह बस्नेत भारतमा पक्राउ परे । बस्नेतलाई ब्युरोको टोलीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।

भारतस्थित बैंगलोरको एउटा क्लब नजिकै समिरको डेरामा भारतीय कमाण्डो टिम प्रवेश गरेर पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुका अनुसार समिरलाई स्काईप आईडी ट्रेस आउट गरेर नियन्त्रणमा लिइएको थियो ।

समिरमान सिंह बस्नेत बाफल एरियाका गुण्डा हुन् । कुमार घैंटेको सहयोगीको रुपमा काम गर्दै आएका बस्नेत प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पसेका थिए । अहिले उनी जेलमा छन् ।

प्रतिक्रिया