Sunday 16th of June 2024

गाईजात्रे प्रस्तुति : पुस्तासँगै फेरिए प्लेटफर्म

0 Shares

दीपक श्रेष्ठ /

टाढा टाढा एउटा गाउँमा

बाजे बराजु मरेकै ठाउँमा

म पनि अचानक अस्ति खसेको छु

त्यसैले आफू आफ्नै किरिया बसेको छु ।

विसङ्गतिमाथिको व्यङ्ग्य कति निर्मम हुन्छ भन्ने त माथिका यिनै हरफ नै काफी छन् । गोकर्णको भिरबाट हामफाल्ने बेलामा हास्यव्यङ्ग्यकार भैरव अर्यालले सुसाइड नोटमा यिनै कविता छाड्नुभएको थियो । एक जना सर्जकले मर्दामर्दै आफैँमाथि कति निर्मम ढङ्गले चित्रण, प्रहार र व्यङ्ग्य गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो ।

नेपाली समाजले आफ्ना दैनिकी र संस्कृतिमा हास्यव्यङ्ग्य विधालाई काफी समेटेको पाइन्छ । नेपाली साहित्यका विविध विधामा हास्यव्यङ्ग्यको प्रयोग प्रशस्तै पाइन्छ । साहित्यकारले कुनै न कुनै रूपमा हास्यव्यङ्ग्य विधालाई अपनाएको देखिन्छ । आदिकवि भानुभक्त आचार्यअघिका कवि शक्तिबल्लभले ‘हास्य कदम्ब’ लेखेपछि नेपाली भाषाको साहित्यमा व्यङ्ग्य प्रयोग सुरु भएको मानिन्छ । इतिहासकार ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख भए अनुसार बनारसबाट भारत जीवन प्रेसमा छापी सन् १८९५ मा प्रकाशित भएको मूल्य तीन आना पर्ने ‘गोर्खा हास्य मञ्जरी’ नामक पुस्तकको आवरण पृष्ठमा “नेपाली भाषामा बाबु रामकृष्ण वर्मा सम्पादक ‘गोर्खा भारत जीवन’ ले अनेक तरहका हाँसी दिल्लगी औ चतुर्‍याइँका कुरा सङ्ग्रह गरी आफ्ना निज यन्त्रालयमा छापी प्रकाशन गरे” भन्ने लेखिएको छ ।

साहित्यमा हास्य रस

साहित्यकार भैरव अर्यालले ‘नेपाली साहित्यमा हास्यव्यङ्ग्य एक नालीबेली’ लेखमा उल्लेख गर्नुभए अनुसार भानुभक्तले तत्कालीन प्रशासनको रबैयाप्रति व्यङ्ग्य गर्दै ‘भोलिभोलि भन्दाभन्दै बितिगयो सब घर, बक्सियोस् आज झोली’ जस्ता हास्यव्यङ्ग्य कविता लेख्नुभएको थियो ।

सोही लेखमा उल्लेख छ, महाकवि लक्ष्मीप्रसाद देवकाटोले बनारसबाट प्रकाशित हुने युगवाणी पत्रिकामा २००४ सालमा प्रभुजी भेडो बनाऊ, बाघले बच्चा किन खान्छ, दालभात डुकु जस्ता हास्यव्यङ्ग्य कविता प्रकाशन गर्नुभएको थियो ।

नाट्यसम्राट् बालकृष्ण सम, कविशिरोमणि लेखनाथ पौड्याललगायत तमाम साहित्यकारले आफ्ना सिर्जनामा हास्य रसको प्रयोग गरेको पाइन्छ । तथापि हास्यव्यङ्ग्य विधामै निरन्तर कलम चलाउने साहित्यकारचाहिँ कमै छन् । भैरव अर्यालभन्दा अघि केशवराज पिँडालीले हास्यव्यङ्ग्य निबन्धका पुस्तक प्रकाशित गरेको पाइन्छ । त्यसपछि हास्यव्यङ्ग्य कृतिहरू धमाधम प्रकाशित हुन थालेको बताइन्छ । त्यससँगै हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, अच्छा राई रसिक, भीमनिधि तिवारीले पनि आफ्ना केही रचनामा हास्यव्यङ्ग्यलाई केन्द्रमा राखेको पाइन्छ । भैरव अर्याल, केशवराज पिँडाली, दाताराम शर्मा, भुतको भिनाजु (वासुदेव शर्मा लुइँटेल), रामकुमार पाँडे, श्याम गोतामे, बालमुकुन्द पाण्डे, श्रीधर खनाललगायतले ३० को दशकमा नेपाली हास्यव्यङ्ग्यलाई शिखरमा पुर्‍याएको कुरा रोचक घिमिरेले सम्पादन गर्नुभएको पुस्तक ‘शाश्वत हास्यव्यङ्ग्य’मा उल्लेख छ । विष्णु नवीन, मोहनराज शर्मा, विमल निभा, नरेन्द्रराज पौडेल, रुद्र खरेल, नरनाथ लुइँटेल, चट्याङमास्टर, लाटो साथी, मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, सुरेश किरण आदि समेत त्यही मेसोमा देखिनुहुन्छ ।

लक्ष्मण गाम्नागेले सम्पादन (२०७६) गर्नुभएको ‘नेपाली हास्यव्यङ्ग्य कविता’ पुस्तकमा आदिकवि भानुभक्तदेखि वर्तमानका प्रतिनिधि ४० जना कविको ८० वटा हास्यव्यङ्ग्य कविता समेटिएको छ । सो सङ्ग्रहका आधारमा पनि ३० को दशकमा कवि चेतनाले व्यङ्ग्य प्राथमिकता पाएको मान्न सकिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलनले समेत व्यङ्ग्य र विद्रोही कविचेत विकास गरेको हुन सक्छ । त्यही समयको सडक कविता क्रान्ति २०३६ ले यस्ता कविता लेखनमा मलजल गरेको थियो भन्न सकिन्छ ।

तथापि, नेपाली साहित्यलाई जनमानसमा लोकप्रिय बनाउनुमा हास्यव्यङ्ग्य विधाको योगदान महत्वपूर्ण भए पनि यो विधाले लेखन र प्रकाशनमा प्राथमिकता पाउन छाडेको छ । हास्यव्यङ्ग्य लेखनमा समेत सक्रिय साहित्यकार विवश बस्ती पछिल्लो समय साहित्यमा हास्यलेखन विधा कमजोर बन्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार युवा पुस्ताको आकर्षण स्ट्यान्डअप कमेडी, क्यारिकेचर, मिम्स्स (चित्र वा तस्बिरबाट गरिने रमाइलो) जस्ता माध्यममा छ ।

स्टेजमा हँसाउने कमाउने 

गाईजात्राका समयमा काठमाडौँका डबलीमा हुने कार्यक्रमबाट नै हास्यव्यङ्ग्यले स्टेज पाएको मान्न सकिन्छ । गाईजात्राका बेला स्थानीय नेवार समुदायका युवाले रङ्गीविरङ्गी कपडा लगाएर सामाजिक विषयवस्तुमाथि व्यङ्ग्य गर्ने चलन थियो । बिस्तारै त्यस्ता हास्यव्यङ्ग्यको प्रस्तुति डबली र रङ्गमञ्च हुँदै कमाइको माध्यम हुँदै गएको पाइन्छ । अहिले हास्य विधाले कार्टुन चित्रणका माध्यम भएर डिजिटल प्लेटफर्ममा प्रवेश पाइसकेको छ ।

२०३८ सालको वैशाखमा राष्ट्र बैङ्कको रजत जयन्ती कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘बैङ्केश्वर’ प्रसहन सँगै प्रस्तुत गरेपछि यो जोडी सँगसँगै छ । ०३८ सालकै भदौमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको गाईजात्रामा ‘यमलोक’ प्रहसनले निकै लोकप्रियता कमायो । त्यसलाई क्यासेट बनाएर बेच्ने उपाय ‘मह’ले लगाए । स्रोताले ‘मह’ रुचाए । अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको क्यासेट त्यो समयमा डेढ लाख थान बिकेको थियो । त्यही पैसाले काठमाडौँमा घडेरी किनेर ‘मह’ले घर बनाएका थिए । कलाकार हरिवंश आचार्यले एक प्रसङ्गमा भन्नुभएको थियो, “चाइनिज इँटाको घर हेर्दा मलाई क्यासेट चाङ लगाएर सुतेको जस्तो लाग्थ्यो ।” कुनै समय रेडियो नेपालबाट प्रसारण हुने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘रसरङ’ कार्यक्रमले रेडियो स्रोताबिच त्यत्तिकै हलचल ल्याएको थियो ।

समय बदलियो । अहिले न क्यासेट प्रविधि जीवित छ न रङ्गमञ्चमा प्रहसन । रङ्गमञ्चबाट टेलिभिजन र चलचित्रमा समेत महले सशक्त उपस्थिति देखाइसक्नुभएको छ । कुनै समय रेडियो कार्यक्रम र स्टेज प्रस्तुतिमा रहेका दीपकराज गिरी र दीपाश्री निरौला हास्य टेलिशृङ्खला हुँदै हास्यप्रधान चलचित्रमा रमाई र कमाई दुवै गरिहनुभएको छ । नेपाली टेलिभिजनमा दर्जनौँ हास्यव्यङ्ग्य कार्यक्रम सञ्चालनमा थिए । ट्वाक्कटुक्क, हिजोआजका कुरा, नरिसाउनुस् है, होस्टेल, तितो सत्य, मेरीबास्सै, जिरे खुर्सानी, खोटाबजी, तिते करेली, काउलीबुढीलगायत दर्जनौँ हास्यव्यङ्ग्य कार्यक्रम टेलिभिजनमा थिए । लालपुर्जा, १५ गतेलगायत दर्जनौँ हास्य टेलिफिल्म नै निर्माण गरिए । यस्ता कार्यक्रममार्फत नरेन्द्र हाडा, राजपाल थापा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनाली, बसुन्धरा भुषाल, राजाराम पौडेल, सन्तोष पन्त, मनोज गजुरेल, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, दमन रुपाखेती, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्नेबुढा), विल्सनविक्रम राई (तक्मेबुढा), रवि डङ्गोल (बेइमान) लगायत सयभन्दा बढी हास्यकलाकारको जन्म भयो । उहाँहरूले यही कर्मबाटै देशविदेशको सयर अनि नाम, काम र दाम कमाई गरिरहनु भएको पाइन्छ ।

हरायो गाईजात्रे अडियो

गाईजात्रा सुरु हुनुअघि नै गाईजात्रे क्यासेटले बजारमा तहल्का मच्चाइसकेको हुन्थ्यो । सहरमा मात्र होइन गाउँगाउँमा गाईजात्रे क्यासेट सुन्नेको भिड लाग्थ्यो । सार्वजनिक यातायातमा गाईजात्रे गीत र संवाद नै घन्कन्थ्यो । त्यो समय थियो, चालिसको दशक । स्टेज कार्यक्रममा समेत प्यारोडी अनिवार्य जस्तै हुन्थ्यो । अहिलेका वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा त्यो समय प्यारोडी गायनमा खुबै जम्नुभएको थियो । हास्यकलाकारिताका क्षेत्रमा त्यो समय प्यारोडी गायनको महìवपूर्ण भूमिका रहेको स्मरण उहाँमा ताजै छ । त्यो समय प्रज्ञा–प्रतिष्ठानका जागिरे बास्कोटालाई गाईजात्रे प्रहसनमा प्यारोडी गाउने अवसर मिलेको थियो । बास्कोटा भन्नुहुन्छ, “त्यो दशकलाई त प्यारोडी युग भन्न पनि सकिन्छ ।” स्रोताले रुचाएका चल्तीका गीतको लयमा व्यङ्ग्यात्मक शब्द थपथाप पारेर गाइने गीत नै प्यारोडी हो, जसमा व्यङ्ग्य, ठ्टयौली र आलोचनाले प्राथमिकता पाउँथ्यो । चालिसको दशकको सुरुवाती समयमा नै नेपाल प्रज्ञा–प्रतिष्ठानले गाईजात्रे कार्यक्रम आयोजना गर्न थालेको थियो । राजारानी र राजपरिवारसमेत गाईजात्रे कार्यक्रम सहभागी भएर मनोरञ्जन लिने गरेका थिए ।

प्यारोडीलाई दर्शकले रुचाएपछि प्यारोडी गायनलाई बास्कोटाले छ वर्ष निरन्तरता दिनुभयो । बास्कोटाले ‘सनराइजमा–मुनराइजमा’, ‘दस अवतार’, ‘पञ्चकुवा’ लगायत प्यारोडी गीतका क्यासेट निकाल्नुभएको थियो । त्यो समयको राजनीति, यथास्थिति, सामाजिक परिस्थिति र प्रवृत्तिमाथि बास्कोटाले यसरी प्यारोडी गाउनुभएको थियो–

सनराइजमा मुनराइजमा

भन्सारबाट कार्पेट जान्छ

सुन जान्छ कुन साइजमा

२०४६ सालको परिवर्तनपछि साम्दे शेर्पाको प्यारोडी खुबै रुचाइन्थ्यो । खास गरी पचासको दशकमा साम्दे शेर्पा, रतन सुवेदी, रामशरण नेपाली, शम्भु दाहाल, नारद खतिवडालगायत थुप्रै कलाकारले नेपाली प्यारोडीमा ख्याति कमाउनुभएको थियो । वरिष्ठ सङ्गीतकार टीका भण्डारी पनि गाईजात्रे प्यारोडी गायनमा केही समय रम्नुभएको थियो । कलाकार कमल गाउँलेले अहिलेसम्म पनि हास्यगायनलाई पछ्याइरहनु नै भएको छ । पछिल्लो समय कलाकार राजेन्द्र पोखरेल, शिवशङ्कर रिजाललगायतले पनि प्यारोडी गायनमा आफूलाई उभ्याउँदै आउनुभएको छ ।

खस्कियो रौनक

सांस्कृतिक पर्वका रूपमा सापारु अर्थात् गाईजात्राको रौनक बढ्दो छ । तथापि, गाईजात्राका बेला सभाहलमा आयोजना गरिने गाईजात्रे कार्यव्रmम प्रायः शून्य अवस्थामा छ । असारमा किसानलाई लाग्ने चटारो जस्तै गाईजात्राका बेला देशविदेशमा हास्यव्यङ्ग्यका झटारो हान्न बेफुर्सदिला हुने हास्यकलाकार अचेल फुर्सदिला छन् । गाईजात्राका समयमा बजारका पत्रिका पसलभरि मासिक पत्रिकाको गाईजात्रे अङ्कको बाढी चल्थ्यो । रेडियो टेलिभिजनमा यस्तै कार्यक्रमको ओइरो लाग्थ्यो । मूलधारका पत्रिकाले समेत गाईजात्रे स्तम्भ चलाउँथे । कामना मासिक पत्रिकाबाहेक अहिले यो कर्म धान्ने पत्रिका सायद छैन ।

राजधानी काठमाडौँ र प्रमुख नेवार बस्तीमा मात्र मनाइने गाईजात्रा पर्वलाई संस्कृति संरक्षणका हिसाबले समेत धेरै ठाउँमा मनाउन थालिएको पाइन्छ । राजधानी काठमाडौँमा बसोबास गर्ने अन्य जिल्लाका नेवार समुदायले समेत संस्थामार्फत सामूहिक रूपमा गाईजात्रा पर्व मनाउन थालेको पाइन्छ ।

धेरै वर्षसम्म तितेजिरे गाईजात्रे हास्यव्यङ्ग्य कार्यक्रम महिना दिनसम्म ‘हाउसफूल’ सञ्चालन गरिएका थिए । हास्यव्यङ्ग्य ठोक्न र खोक्न सक्ने कवि कलाकारलाई असारको किसानी मेलो जस्तै हुन्थ्यो । राजधानीका राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह, वीरेन्द्र

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नेपाल प्रज्ञा–प्रतिष्ठानका हलमा लाग्ने गाईजात्रे कार्यक्रममा महँगा टिकट खरिद गरेर हेर्नेको भिड लाग्थ्यो । यो वर्ष एउटा मात्रै गाईजात्रे कार्यक्रम एक हप्ताका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सञ्चालनमा छ । २०५२ सालको ‘लाका गाईजात्रा’बाट निरन्तर (कोरोना समयमा दुई वर्षबाहेक) गाईजात्रा कार्यक्रममा सहभागिता जनाउँदै आउनुभएका मनोज गजुरेलले नेपाल प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रे प्रस्तुति राख्नुभएको छ । विराटनगर, बर्दीबास र चन्द्रनिगाहपुरमा गाईजात्रे प्रस्तुति दिएर उहाँ काठमाडौँ आउनुभएको हो । तथापि, एक दशकअघि जस्तो गाईजात्रे माहोल स्टेजमा नभएको अनुभव उहाँको छ । उहाँका अनुसार प्रविधिको सहज पहुँच र अभिव्यक्ति स्वतन्त्रताले स्टेजसम्म दर्शकलाई पुग्नुपर्ने बाध्यता छैन । अर्को कुरा कोरोना कालपछि अर्थतन्त्र, मानवीय मनोदशासमेत गतिलो छैन । यसले पनि कुनै न कुनै रूपमा गाईजात्रे हास्यव्यङ्ग्य कार्यव्रmमलाई प्रभावित बनाएको छ ।

बजार फेरियो विषय फेरिएन

भनिन्छ, हास्यव्यङ्ग्यले सिर्जनात्मक अभिव्यक्ति माध्यममार्फत समाजका खराब पक्षलाई सुधार्न सहयोग गर्छ तर नेपाली समाजमा यो विश्वास र विचारले प्रमाणित हुन सकेन । उल्टै समाजका पात्र, चरित्र र प्रवृत्ति भ्रष्टीकरणको दिशातर्फ तीव्र उन्मुख बन्दै गएको पाइन्छ । बरु प्रविधिले हास्यव्यङ्ग्यको प्लेटफर्म परिवर्तन गरिदियो, बजार फेरिदियो तर कलाकारले व्यङ्ग्य गर्ने विषय फेरिएन ।

हास्यकलाकार गजुरेल भन्नुहुन्छ, “तीन दशकअघि सामाजिक, राजनीतिक पात्र, प्रवृत्ति र विषयवस्तुमाथि व्यङ्ग्य गरिन्थ्यो, आज पनि तिनै विषयमाथि कन्टेन्ट बनाउनु परेको छ । हाम्रो प्रयासले यिनीहरू परिवर्तन हुन सकेनन् ।”

भौतिक परिवर्तनमा समाजले फड्को मार्न खोजे पनि चेतनाका हिसाबले परिवर्तन अघि नबढेको अनुभव कलाकार गजुरेलको छ । उहाँ भन्नुहुन्छ, “भ्रष्टाचार, महँगी, राजनीतिक विषयवस्तुमाथि अहिले पनि कन्टेन्ट बनाइरहेका छौँ । अहिले दर्शक हँसाउन कठिन छ ।”

पुस्ता डिजिटलतिर 

दीपकराज गिरी र दीपाश्री निरौला स्टेजमा हराउँदै, फिल्ममा जमाउँदै गएको देखिन्छ । हास्यप्रधान चलचित्रमा रमाइरहेका उनीहरूका लागि समेत डिजिटल प्लेटफर्म चुनौती बन्दै छ । पछिल्लो हास्यकलाकार पुस्ताले डिजिटल प्लेटफर्ममा आफ्नै स्पेस बनाइरहेका छन् । त्यो नै हास्य टेलिशृङ्खला, हास्य चलचित्र, गाईजात्रे स्टेज प्रस्तुतिका लागि चुनौती बनिरहेको छ । युवा पुस्ता डिजिटल प्लेटफर्ममा ‘स्ट्यान्ड अप कमेडी’ मा रमाइरहेका छन् । एक लाख ६३ हजारले पछ्याएको लाफ नेपालले यस्तै स्ट्यान्डअप कमेडी राख्दै आएको छ । चार लाख ९१ हजारले पछ्याएको कमेडी सर्कल छ । यसमा राखिएका भिडियोलाई पाँच करोड १९ लाख ९९ हजार ५४१ पटक हेरिसकिएको छ ।

नेपाली टेलिभिजन च्यानलबाट प्रसारण हुने ‘कमेडी हब’ र ‘कमेडी क्लब विथ च्याम्पियन’ जस्ता कार्यक्रमले नयाँ पुस्तालाई गतिलो प्लेटफर्मसमेत दिएको छ । कलाकार गजुरेल भन्नुहुन्छ, “अब नयाँ प्लेटफर्ममा नगई सुखै छैन । स्टेजमा कार्यक्रम गरे पनि त्यसलाई युट्युबमा नराखी धरै छैन ।”

हास्यकलाकार कमल गाउँलेको आफ्नै नाममा एक लाख एक्काइस हजारले पछ्याएको युट्युब च्यानल छ । कलायात्रामा २३ वर्ष बिताएका कलाकार गाउँलेको गाईजात्रे शृङ्खला त्यतै हेर्न पाइन्छ । गाईजात्रा २०८० को प्रस्तुतिको रूपमा गाउँलेको गाईजात्रे गीत ठोक्ने हो लौरोले ठ्वाङठ्वाङ… दुई दिनअघि अपलोड भएको छ । राजनीतिक विषयवस्तु समेटिएको व्यङ्ग्य गीतलाई दुई दिनमा करिब १३ हजार दर्शकले पछ्याइसकेका छन् ।

जीतु नेपालको युट्युब च्यानल छ, जीतु कमेडी । पाँच लाख ७१ हजारले पछ्याएको सो च्यानलमा जीतुले भदौ ६ गते २०८० को गाईजात्रे भिडियो अपलोड गर्नुभएको छ । रोल्पाली हास्यकलाकार खड्गबहादुर पुन मगर (खगपु) को खगपु इन्टरटेनमेन्ट युट्युब च्यानल छ । २९ हजार दर्शकले पछ्याएको सो च्यानलमा खगपुले पाँच दिनअघि अपलोड गरेको २०८० को गाईजात्रे गीतलाई एक लाख ५० हजारले हेरिसकेका छन् ।

४५ वर्षदेखि गाईजात्रे कविता सुनाउँदै आउनुभएका कवि शैलेन्द्र सिंखडाको पनि आफ्नै नाममा १५ हजारले पछ्याएको युट्युब च्यानल छ । सोही च्यानलमा २०८० को गाईजात्रे कविता राख्नुभएको छ, जसलाई दुई दिनमा ३२ हजारले हेरिसकेका छन् ।

हास्यकलाकार सुवोध गौतमको एक लाख ३९ हजारले पछ्याएको गनगन टीभी युट्युब च्यानल छ । गाईजात्रामा कहिल्यै नछुट्ने हास्यकलाकार किरन केसी ‘रातामकै’को आफ्नै नाममा ६६ हजारले पछ्याएको युट्युब च्यालन छ । सोही च्यानलमा केसीले हास्यप्रस्तुति र गफगाफ राख्दै आउनुभएको छ ।

कलाकार मनोज गजुरेललाई कमेडी गर्न गाईजात्रा आइरहनु पर्दैन । गजुरियल युट्युब च्यानलमा बेलाबेलामा प्रस्तुत स्टेज कार्यक्रमका भिडियो राख्ने गरिएको छ । तथापि, यसपटक नेपाल प्रज्ञा–प्रतिष्ठानमा गजुरेलको गाईजात्रे कार्यक्रम सञ्चालनमा छ ।

उहाँले गजुरियल डट कम वेबसाइटमार्फत समेत हास्यसमाचार, कविता, कथा, निबन्ध दिइरहनुभएको छ । उहाँ टिकटकमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । टिकटकमा मनोज डट गजुरेल डट रियलमा गजुरेललाई एक लाख ३८ हजारले पछ्याएका छन् । उहाँको फेसबुक पेजमा पाँच लाख दुई हजारले पछ्याएका छन् ।

गजुरेल भन्नुहुन्छ, “गजुरियलको रियल हास्यव्यङ्ग्य त अब युट्युबलगायत सामाजिक सञ्जालमै पाइन्छ । दर्शक, पाठक, प्रशंसकसँग छिटोछरितो दोहोरो संवाद त्यतै हुन्छ । त्यो पनि लाइभ । त्यसैले कन्टेन्ट क्रियटरदेखि दर्शकसम्मको रोजाइ त्यतै छ ।”

गाईजात्रा चलाउने जगज्योति

सापारु अर्थात् गाईजात्राको सुरुवात पुत्र वियोगमा रहेकी रानीलाई चित्त बुझाउन प्रताप मल्लले थालनी गरेको भन्ने गरिन्छ । तथापि, गाईजात्राको सुरुवात प्रताप मल्लको पालाबाट सुरु भएको होइन ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार गाईजात्रा भक्तपुरका राजा जगज्योति मल्लले चलाउनुभएको हो । आफूप्रति प्रजाको धारणा के छ भनेर एक खालको जनमत लिनका लागि उहाँले यो चलन चलाउनुभएको थियो । राजाको सामुन्ने आएर प्रजाले केही भन्न नसक्ने भएकाले मुख छोपेर अनेक वेशभूषा धारण गरेर छद्म भेषमा मेरा कमीकमजोरी के छन् भनेर प्रजालाई भन्न लगाइएको हो । यो कुरा जयस्थिति मल्लको सन्दर्भमा गोपाल वंशावलीमा लेखिएको डा. गुरुङ बताउनुहुन्छ । तर अहिले गाईजात्राको नाममा लथालिङ्ग, भाँडभैलो तालमा विकृतिमाथि बोल्ने भन्दै गाईजात्रा विसङ्गत बन्दै गएको डा. गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीको मन बुझाउन सापारु निकाल्ने सबैले दरबार घुमाउन ल्याउने चलनचाहिँ चलाउनु भएको हो  ।

संस्कृतिविद् गणेशराम लाछीले पनि गाईजात्राको चलन प्रताप मल्लभन्दा अघिदेखि नै नेवार समुदायमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार जगज्योति मल्लले व्यङ्ग्य गीतसमेत लेखेको पाइन्छ । गाईजात्रामा भैरवको मुकुण्डो लगाएर नचाइने ‘काङ्सी भैल’मा जगज्योति मल्लको नाम उल्लेख गरिएको गीत पनि छ । त्यो समयदेखि नै एक हप्ताका लागि यस्ता हास्यप्रधान नाच नचाइने चलन रहेको संस्कृतिविद् लाछी बनाउनुहुन्छ ।

प्रतिक्रिया