Thursday 6th of February 2025

नेपाल र भारत आज भिड्दै

0 Shares

काठमाडौँ / भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।

blog

पहिलो खेलमा पाकिस्तानसँग नराम्ररी पराजय बेहोरेपछि भारतविरुद्धको खेलमा नेपालको भाउ अझै घटेको छ । पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेल २३८ रनको विशाल अन्तरले गुमाएको थियो । त्यो नतिजा नेपालका लागि लज्जास्पद हो । त्यसो त नेपालले सुरुको दुई घण्टा पाकिस्तानलाई आच्छु आच्छु पारेको थियो तर नतिजामा ठुलो अन्तर निस्कियो ।

पाकिस्तानसँगको खेलमा जस्तो भारतसँगको खेलमा विशाल साझेदारी बनाउन दिने छुट नेपाललाई छैन । यसो भएमा नेपालले अर्को ठुलो हार बेहोर्नुपर्ने हुन सक्छ । नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा नेपालले खेल्न पाउनु नै ठुलो उपलब्धि प्राप्त भइसकेको बताउनुभयो । “हामीभन्दा अगाडिका दुई पुस्ताको अथक प्रयास र मेहनतले हामीले यहाँ खेल्ने अवसर पाएका छौँ । त्यसैले भारतविरुद्धको खेलमा राम्रो छाप छाडेर लामो समयदेखिको प्रयासलाई सार्थक बनाउने छौँ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयो ।

पाकिस्तानसँगको पराजयलाई नेपाली खेलाडीमा अनुभवको कमी मान्न सकिन्छ । भारतविरुद्ध खेल्दा नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्ने छ । नेपालले भारतको वरिष्ठ क्रिकेट टिमसँग पहिलो पटक सामना गर्न लागेको हो । यसलाई नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो खेल पनि मानिएको छ । नेपाली क्रिकेटरले भारतका सुपरस्टार क्रिकेटरहरू विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, जस्प्रित बुम्राह जस्ता खेलाडी जस्तै खेल्ने सपना देख्थे । सोमबार नेपाली खेलाडीले त्यो सपना साकार पार्ने अवसर पाउने छन् ।

नेपालका कप्तान पौडेलले भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीलाई रोक्न आफूहरूले योजना बनाएको सुनाउँदै भन्नुभयो, “आशा छ, हामी दुवै सुपरस्टार ब्याट्सम्यानलाई चाँडै पबेलियन फर्काउने छौँ ।”

नेपाली क्रिकेटरले भारतविरुद्ध कम्तीमा टक्करको खेल खेल्ने अपेक्षा नेपाली समर्थकले गरेका छन् । विशेषतः नेपाली टिमको प्रदर्शन ग्लोबल व्रिmकेटर बनिसकेका लेग स्पिनर सन्दीप लामिछानेमा निर्भर रहने छ । सायद सन्दीपको पाँच विकेटको प्रदर्शन र नेपालका कुनै शीर्षव्रmमका ब्याट्सम्यानको शतक एकसाथ आएमा चमत्कार नहोला पनि भन्न सकिन्न ।

व्रिmकेट यसै हुन्छ भन्न नसकिने अनिश्चित खेल हो । त्यसमा पनि टी–२० र एकदिवसीय क्रिकेट त भविष्यवाणी गर्न नसकिने खालको हुन्छ । विश्व क्रिकेटमै एसोसिएट टिमले टेस्ट टिमलाई हराएका कैयौँ उदाहरण पनि छन् । त्यसैले भारतविरुद्धको जित असम्भव नै होइन तर यसका लागि नेपालले चमत्कारपूर्ण खेल खेल्नुपर्ने हुन्छ ।

नेपाल र भारतबिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल हुँदै छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ । यस समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । यस अर्थमा भोलिको खेल जित्ने टिमले सुपर फोरमा स्थान बनाउने छ । पालेकेलेमा सोमबार वर्षाको भविष्यवाणी पनि गरिएको छ । वर्षाले खेल रद्द भएमा भारत समूहमा दोस्रो स्थान हात पारी अगाडि बढ्ने छ भने नेपाल घर फर्किनुपर्ने हुन्छ ।

प्रतिक्रिया