Thursday 20th of June 2024

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष : स्वस्थ आहार प्रवर्द्धनको अवसर

0 Shares

काठमाण्डौ / अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका अवसरमा काठमाण्डौमा कोदो खेती र यसको पोषक गुणबारे चेतना अभिवृद्धिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम भएको छ ।

भारतीय दूतावासले गरेको कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले भौगोलिकरूपमा नेपालका पहाडी भेग कोदो उत्पादनका लागि उर्वर रहेका र कोदोखेतीसँगै अन्यबालीको उत्पादन वृद्धि अभियानका रुपमा थालिएको बताउनुभयो ।

उहाँले कोदोको अनुसन्धान, विकास र मूल्यशृङ्खलाबारे भारतीय अनुभवबाट नेपालले सिक्न चाहेको बताउँदै पत्रुखानाको तुलनामा स्वास्थ्यवर्द्धक कोदोका परिकार प्रवर्द्धन आवश्यक भएकोमा जोड दिनुभयो ।

खाद्यसुरक्षा र पोषणको महत्त्वपूर्ण स्रोत कोदो भएकाले यसको खेती प्रवर्द्धनलाई सरकारले उच्च महत्त्व दिएको मन्त्री भुसालको भनाइ छ । ‘स्वास्थ्यदेखि वातावरणीय दिगोपन र आर्थिक विकाससम्म कोदोका धेरै फाइदाहरूका बारेमा चेतना जगाउने अवसर हो,’ उहाँले भन्नुभयो, ‘कुनै बेला हेयको दृष्टिले हेरिने कोदो अहिले श्रीअन्न भएको छ ।’

कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले खाद्य असुरक्षा बढिरहेका बेला कोदोको स्वास्थ्य र पौष्टिक फाइदाका बारेमा सचेतना बढाउन गएको वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) र संयुक्त राष्ट्रसङ्घसमक्ष सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा मनाउन प्रस्तुत गर्नुभएको प्रस्ताव विश्वका ७२ देशले समर्थन गरेसँगै त्यो अनुमोदन भएको जानकारी दिनुभयो।

नेपालको कृषि विकासका साथै कोदो खेती प्रवर्द्धनमा सघाउन नेपाली प्रतिनिधिमण्डल चाँडै भारतको अध्ययन भ्रमणमा जान लागेको र रामपुर कृषि विश्वविद्यालय र उत्तरप्रदेश कृषि विश्वविद्यालयबीच कृषिविकासका कार्यक्रमका निमित साझेदारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले कोदो फलाएर भोकमरी अन्त्य गर्ने दिगो विकासका लक्ष्यमध्येको एउटा लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष महत्त्वपूर्ण भएको बताउनुभयो ।

कम समय र कम पानीमा नै कोदो उत्पादन गर्न सकिने भएकाले नेपालमा पनि यसको उत्पादन बढाउन सकिने प्रशस्त सम्भावना रहेका उहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको जेठमा भएको भारत भ्रमणका बेला गरिएको सहमतिअनुसार कृषि विकास एवम् सहकार्यका द्विपक्षीय कार्यक्रमले गति लिएका भारतका राजदूतले बताउनुभयो ।

नेपालका लागि एफएओका प्रतिनिधि केन सिमीजुले भोकमरी, कुपोषण, विश्वव्यापी रूपमा निरन्तर बढ्दो जनसङ्ख्या, सीमित प्राकृतिक स्रोत र जलवायु परिवर्तनका कारण उत्पन्न जटिल चुनौतीको सामना गर्नुपरेको वर्तमान अवस्थामा खाद्य सुरक्षामा योगदान गर्ने कोदोखेती र यसको पोषण महत्त्वबारे सबै उपभोक्ताले जान्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोदोखेती प्रवर्द्धनका लागि एफएओले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया