Friday 20th of September 2024

लालबन्दीमा ‘तपाईको मास्क खोई’ अभियान प्रभावकारी

0 Shares

लालबन्दी : सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा मास्क लगाएर हिँड्नेहरु बढेका छन् ।

कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यहाँको मुख्य बजार क्षेत्रमा लालबन्दी प्रहरीले केही दिनदेखि ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गरिरहेको छ । प्रहरीको यो अभियानपछि अहिले बजार क्षेत्रमा अधिकांशले मास्क लगाएर मात्रै हिँड्न थालेका हुन् ।

अभियान अन्तर्गत बजारमा विभिन्न ठाउँबाट आउनेहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराउने गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले उज्यालो अभियानसँग बताए । प्रहरीले मात्रै सबै ठाउँमा पुगेर मास्क लगाउनुस् भन्न नभ्याउने भएकाले अहिलेको बढ्दो महामारीलाई ख्याल गर्दै आफ्नो जिउज्यानको सुरक्षाको निम्ती पनि मास्क लगाएर मात्रै हिँड्न र अनावश्यक भीडभाड नगर्न प्रहरी निरीक्षक थापाले आग्रह गरेका छन् ।

लालबन्दीकै झैँ जिल्लाका अन्य प्रहरी युनिटहरुले पनि ‘तपाईको मास्क खोई’? लेखिएको प्ले कार्ड बोकेर सर्वसाधारण, यात्रु, सवारीका चालक लगायतलाई सम्झाइबुझाई गरेर मास्क लगाउन भनिरहेका छन् । ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अवधेशकुमार यादवले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै माइकिङ समेत गर्न थालिएको बताए ।

उनले प्रहरी देख्दा मास्क लगाउने र सर्तकता अपनाउने अन्यथा प्रहरी हिँडेपछि जथाभावी गर्ने प्रवृत्ति अत्यधिक देखिएकाले प्रहरीले गरेको आग्रह र चलाएको अभियान आफूहरुकै लागि हो भनेर बुझिदिन आग्रह गरेका छन् । जिल्लामा यसरी प्रहरीले स्वास्थ्य सुरक्षा र स्वास्थ्य मापदण्डबारे सचेत गराए पनि स्थानीय पालिकाहरुले भने कोरोना संक्रमणबारे सचेतना जगाउन ध्यान दिएका छैनन् ।

यसैबीच सोमवार बेलुका बसेको मन्त्री परिषद्को बैठकले मंगलवारदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपनि सर्लाहीमा भने धेरैजसो सरकारी तथा निजी विद्यालयहरुले सो निर्णयको उल्लंघन गरी परीक्षा लिने कामलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया