
काठमाण्डौ / नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।
उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश बिक्रमशेखरले प्रहार गरेका थिए ।
तर, टी–२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए ।
दीपेन्द्रको ९ बलमै अर्धशतक : सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी
नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । चीनको हान्झाउमा भैरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा उनले ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए ।
ऐरीले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने । नेपालबाट यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक पूरा गरेका थिए । ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरबसँगको खेलमा यो अर्धशतक पूरा गरेका थिए ।
कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे ।
कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।
प्रतिक्रिया