
काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् ।
असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।
सोही क्रममा बुधबार निषेधित क्षेत्र तोड्न नदिन बार लगाएर बसेको प्रहरीले शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।काठमाडौंमा शिक्षक आन्दोलनमा प्रहरीको बुट प्रहारबाट मधेस प्रदेशको पर्सा जिल्लामा कार्यरत शिक्षिका सन्जिता कुमारी खत्री घाइते भएको छ । उनको घुडा मुनिको हड्डी २ टुक्रा भएछ । उहाँको ट्रमा सेन्टरको इमेर्जेन्सी कक्षमा उपचार हुदैछ । शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।
नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरूको भनाइ छ। बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर प्रहरीसंग घम्साघम्सी समेत भएको थियो। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले जनाएका छन्।
प्रतिक्रिया