काठमाडौं : नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संविधानको मूल्य र मान्यता अनुसार अगाडि बढाउनुपर्ने बताएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई संविधानको मूल्य, मान्यता र भावनाअनुसार नै अगाडि बढाउनुपर्ने बताएका हुन्।
‘विद्यालय शिक्षा विधेयक सदनमा आएको छ। यसलाई संविधानको मूल्य, मान्यता र भावनाअनुसार उठेका सरोकारवालाको चासो र चिन्तालाई समेटेर निष्कर्शमा पुर्याउनुपर्छ, ‘उनले भने। उनले विधेयक नियमसंगत सदनमा आएकाले सरकारले यो विधेयकलाई पर्याप्त रुपमा छलफल गरेर ल्याएको छ भन्ने कुरामा विश्वस्त हुनुपर्ने बताए। सांसद लेखकले भरखरै सम्बन्धित सरोकारवालाको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंगाएकाले अब यसमा सदनमै छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।
उनले विधेयकमाथि उठेका सरोकारवालाको सबैको विचार र आमनागरिकका धारण बुझेर सदनमै छलफल चलाएर जानुपर्ने बताए। उनले भने,’ विधेयकमा विभिन्न कोणबाट विषयहरू उठेका छन्। छलफल चलाएर गम्भीरतापूर्वक टुंग्याउनुपर्छ।’ शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो।