Thursday 20th of June 2024

मिथिला चिनाउँदै झिंझिया

0 Shares

मनिका झा

जनकपुरधाम :  मिथिला आफ्नो खानपान, रीतिरिवाज, कला संस्कृति र छुट्टै भाषाशैलीका कारण पृथक छ। यहाँको सांस्कृतिक संवद्र्धनमा महत्त्वपूर्ण स्थान मिथिलाको लोकगायकीको पनि छ। तर, पछिल्लो समय मिथिलाको पहिचान गीतका रूपमा स्थापित हुँदैछ ‘झिंझिया’।

कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय मञ्च होस् वा सांस्कृतिक कार्यक्रम मिथिला चिनाउने गीतको रूपमा झिंझिया गाउन थालिएको छ। हुन त झिंझिया मिथिलाञ्चलको लोक नृत्य र गीत हो। दसैंको बेला गाइने झिंझिया गीतको ग्रामीण परिवेशमा छुट्टै भाषा र लय हुन्छ। झिंझियाका थुप्रै गीतहरू पनि छन् जुन ग्रामीण स्तरमा अहिले पनि प्रसिद्ध छन्। तर, आधुनिक रूपमा मिथिलामा झिंझिया गीतको रूपमा निकै प्रसिद्धि पाइसकेको गीत हो,

“तोहरे भरोसे बरहम बाबा झिंझिया बनेलियै हो,
बरहम बाबा झिंझिया बनेलियै हो,

बरहम बाबा झिंझिया पर होईयौ असवार,
अबोधबा बालक तोहर किछियो न जनेछै हो। “

यो गीतको बोल र धुनले झिंझिया गीतको प्रतिनिधित्व पछिल्लो दुई दशकदेखि गर्दै आएको छ। ‘गीत घर घरके’ नाम गरेको म्युजिक एल्बमको आठवटा लोक गीतमध्ये एक रहेको झिंझिया गीत निकै प्रसिद्ध र लोकप्रिय हुन पुग्यो। वरिष्ठ कलाकार रामनारायण ठाकुरसहितको टिमले ग्रामीण भेगमा गाउने झिंझिया गीतको संकलन गरेका थिए। मिथिलाञ्चलका गीतकार एवं संगीतकार सुनील मल्लिक र प्रवेश मल्लिकले ग्रामीण लोकगीतलाई आधुनिक संगीतमा ढालेर तयार भएको थियो झिंझिया गीत।

झिंझियाको मौलिकता

मिथिलामा लोक नाच, सांस्कृतिक झाँकी र धार्मिक अनुष्ठानहरूले दसैंलाई अझ बढी रोमाञ्चक र अलौकिक बनाउँछ।

मिथिलालाई दसैं अवधिभर झुमाउने र यसको रौनकतालाई अझ भव्य बनाउने लोक अनुष्ठान हो झिंझिया नृत्य। अहिले साँझ पर्नेबित्तिकै झिंझियामा मिथिला झुम्न थाल्छ। यसका गीतहरूले गाउँ, सहर गुञ्जायमान हुन्छन् भने यसको नृत्य हेर्न शक्तिपीठ भरिभराउ हुन्छ। घटस्थापनाको दिन एकातर्फ घरघरमा जमरा छर्ने र माता दुर्गाको पूजाको तयारी गरिन्छ भने अर्कोतर्फ मिथिलाका मुसहर, चमार, तेली, कुम्हारलगायत जातिका महिला पुरुषहरू झिंझिया बनाउन व्यस्त हुन्छन्। आकर्षक र झम्किलो झिंझिया बनाउन निकै मेहनत लाग्छ। ‘हामी पाँचवटा घैंटो एउटै झिंझियामा गाभेर भव्य आकार बनाउँछौं त्यसैले मेहनत बढी लाग्छ,’ नगराइन नगरपालिका–९ घोडघाँसका विनोद पासवान भन्छन्, ‘एउटा झिंझिया तयार गर्न कम्तीमा एक साताको समय लाग्छ। हामी घटस्थापनाको एक साता अगाडिदेखि नै झिंझिया सजाउने काममा लागि हाल्छौं।’

घटस्थापनाका दिन गाउँ वा सहरका ब्रह्मस्थान (गाउँमा रहेका देउताको मुख्य मन्दिर) मा पूजा आराधना गरिन्छ। झिंझिया टाउकोमा राखेर नृत्य गर्नुपूर्व धामी ओझाबाट यसलाई मन्त्रद्वारा सिद्ध गरिन्छ।  घैंटोमाथि बलिरहेको आगोको डल्लो टाउकोमा राखेर किशोरी र महिलाहरू मज्जाले नाच्छन्। तर, झिंझिया नाच्न सबैले सक्दैनन्। त्यसका लागि निकै अनुभवी र राम्रो तयारी गरेका महिलालाई नै जिम्मेवारी दिइन्छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्य सोचे जति सजिलो छैन। आफ्नै सुर र तालमा नाचिने यस लोक नृत्यका क्रममा असंख्य प्वाल पारिएको घैंटोभित्र दियो बालेर टाउकोमा राखी महिलाहरू नाच्ने गर्छन्। झिंझिया निकै तीव्र गतिमा गाउने र नाच्ने गरिन्छ। नाच सकिनेबित्तिकै दियो निभाएर झिंझिया राख्ने गरिन्छ।

झिंझिया प्रायःजसो महिलाहरूद्वारा गरिने नृत्य भए पनि यसमा पुरुषहरूको पनि उलेख्य सहभागिता रहन्छ। गाउँघरमा झिंझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादनहरू ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन्।

झिंझियाको गीत, 

सात बहिनी फूलमती एकै भैरव भैया,
बहिनिये लागि
भैया झिंझिया बनेले तोहरे लागि,

प्रत्येकको घरघरमा गई समूहले नृत्य गर्ने गरेको र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल, दाल सहयोग गर्छन्। पछिल्लो समय झिंझिया लोक संस्कृतिको परिचायकको रूपमा गाउन र नाच्न थालिएको साहित्यकार रामभरोष कापडी बताउँछन्। सांस्कृतिक जगेर्नाका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षक मनोज झा बताउँछन्। झा भन्छन्, ‘यो मिथिलाको लोक महŒवको नृत्य भएको हुनाले यसलाई अन्धविश्वासका लागि प्रयोग गरिएको भन्दै लोप हुने खालको क्रियाकलाप गर्नु हुँदैन।’

मिथिला क्षेत्रका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल झिंझिया गीत र यसको नृत्य मनोरञ्जनात्मक रूपमा सामाजिक कुप्रथामाथिको व्यंग्यात्मक प्रहार गर्ने शैली रहेको बताउँछन्। उनी भन्छन्, ‘यस नृत्यले नराम्रो शक्तिहरूको प्रतिवाद गर्ने सन्देश दिन्छ। अर्कोतर्फ समाजमा प्रचलित झिंझिया गीतहरूले सामाजिक अन्धविश्वासलाई पनि प्रस्ट्याउँछ।’

प्रतिक्रिया