Sunday 16th of June 2024

मधेशमा देवीलाई खोइछ भर्ने परम्परा

0 Shares
राकेशप्रसाद चौधरी
जलेश्वर / दशैं अथवा कुनै विशेष अवसरमा यस क्षेत्रका महिलाले विभिन्न नामले सम्बोधित भगवती मन्दिरहरु तथा प्रतिमाको सामुन्ने केराको पात वा कपडामा पानसुपारी, ल्वांग, मिठ्ठा, चामलसहितको सामग्री सात ठाउँमा खोइछ भर्ने परम्परा छ । भरिएको खोइछबाट महिलालाई केही सामग्री खोइछा वा प्रसादको रुपमा फिर्ता गरिन्छ ।
May be an image of temple and text
सात ठाउँमा नै किन र कुन कुन भगवतीलाई खोइछ राखिन्छ भनेर जानकारी लिन खोज्दा जवाफ फरक फरक उत्तर प्राप्त भयो । देवीशक्तिको विषयमा जानकार मोहनप्रसाद खनाल लेख्छन्,’यज्ञविधानमा सप्तमातृका, दशमातृका, षोडशमाृतका आदिका रुपमा पूजा गर्ने प्राचीन परम्परा अझैसम्म कायम छ ।’ सप्तमातृकामा ब्राह्मी, माहेश्वरी, कौमारी(षष्ठिका), वैष्णवी, इन्द्राणी, बाराही, तथा चामुण्डा(दुर्गा) लाई सम्बोधन गरिन्छ ।
दुर्गाभवानीको १०८ रुपमध्ये महिषासुर बधमा ९ रुप प्रयोग भएकोले दशैंको समयमा ९ दिनसम्म पूजा गर्ने परम्परा रहेको बताइन्छ । हुनतः जलेश्वरको राजदेवीको मुख्य प्रतिमाको दायँबायाँ आठसहित ९ रुप देखाइएको छ । राजदेवीको अन्य ८ रुप अथवा बहिनीबारे म जानकार छैन । साथै यस क्षेत्रमा पूजिने महारानीजीको सात बहिनीको नाम फरक रहेको सुनिन्छ । यसबारे सोधखोज गर्न बाँकि छ । माता दुर्गा भवनीको सात बहिनी भनेर विभिन्न ठाउँमा सिंहवासिनी, हिंगलाजदेवी, जेठी ज्वालाजी, लुगासनादेवी, नैनादेवी, तारादेवी र शूलिनीको चर्चा गरिएको छ ।
मधेशकी महिलाले सप्तमातृका भन्दा दुर्गाभवानी वा भगवतीको सात बहिनी वा अन्य कुनै सात नामले खोइछ चढाउने गरेको हुनसक्छ । यसबारे ठोस जानकारी भए ठोकुवा गर्न सकिन्छ । अर्कोतर्फ शितलामाईको बहिनीमा दुर्गाभवानीसँगै ऋणिका, घृणिका, महला, मंगला र सेठलाको चर्चा पाइन्छ । फरक फरक ठाउँमा भगवती, महारानी, राजदेवी, संसारीमाईसहित अन्य देवीको ७ वा ९ बहिनी रहेको चर्चा गर्ने गरिन्छ । तसर्थ मधेशमा देवी पूजा परम्पराबारे अनुसन्धन आवश्यक छ । यो अनुसन्धान देवी वा शक्ति पूजन परम्पराको इतिहास र बर्तमान बुझ्न सजिलो हुनेछ ।
प्रतिक्रिया