Sunday 16th of June 2024

ल्याप्चे छाडेर हस्ताक्षर

0 Shares

विजयकुमार साह

ढल्केबर / धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वा मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सदा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर उर्मिला प्रौढ शिक्षा हासिल गरेपछि लेखपढ गर्न थाल्नुभएको हो ।

प्रौढ शिक्षा आर्जनपछि अङ्क र अक्षर राम्ररी लेखपढ गर्न सिकेको उर्मिलाले बताउनुभयो । गाउँको मिथिला हरवा–चरवा समूहका अध्यक्ष उहाँले भन्नुभयो, “पहिला पहिला कपाली तमसुक बनाउँदा होस् अथवा समूहको बैठकको उपस्थिति पुस्तिकामा औँठाछाप लगाउँथेँ । अचेल हस्ताक्षर गर्छु । शिक्षा आर्जनले पहिलेभन्दा धेरै फाइदा पुगेको महसुस भएको छ ।”

सोही बस्तीकी परमदेवी सदा पनि पहिलाजस्तो औँठाछाप लगाउनुहुन्न, हस्ताक्षर गर्नुहुन्छ । उहाँले भन्नुभयो, “लेखपढ गर्न सिकेपछि ठगिनबाट जोगिएका छौँ । कहीँकतै जाँदा अरूलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो । अहिले नेपाली अक्षरमा लेखेका कुरा पढ्न सक्ने भएकी छु ।” पचहर्वामा मुसहर बस्तीको ८८ घर परिवारको बसोबास छ । बस्तीका सबैजसो दैनिक ज्याला मजदुरीमा आश्रित छन् । “घरबाहेक हाम्रो अरू कुनै सम्पत्ति छैन । अकस्मात् पैसाको आवश्यकता पर्दा साहु महाजनसँग कपाली तमसुक बनाएर ऋण लिनु पर्छ । लेखपढ गर्न नजान्ने गाउँकै थुप्रै जना ठगिएका पनि छन् तर अब ठगिँदैनौँ,” परमदेवीले भन्नुभयो ।

‘फ्रिडम फन्ड युके’ को सहयोगमा सञ्चालित सामुदायिक सुधार केन्द्र धनुषाले तीन वर्षअघि मुसहर बस्तीका ४० जना महिलालाई साक्षर बनाएको छ । सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहका अनुसार सहिदनगर, धनौजी र गणेशमान चारनाथ नगरपालिकामा गरी २०÷२० जनाको नौवटा महिला समूहलाई प्रौढ शिक्षा प्रदान गरिएको छ । महिला शिक्षित भए पूरा परिवार शिक्षित हुने भएकाले महिलालाई पहिलो प्राथमिकतामा राखेर साक्षर कार्यक्रम चलाइएको बताइन्छ ।

रघुनाथपुरका स्थानीय शैलेन्द्र यादवले टोलटोलमै विद्यालय खुलेको भए पनि मधेशको साक्षरता प्रतिशत कम रहेको बताउनुभयो । जिल्लामा १८ वटा स्थानीय तह छन् तर कुनै पनि स्थानीय तह साक्षर अभियान तथा कार्यक्रम सञ्चालन गर्न गम्भीर देखिएका छैनन् । जिल्ला तथा स्थानीय तहमा निरक्षरको सङ्ख्या कति छ भन्ने तथ्याङ्क पनि स्थानीय निकायसँग छैन ।

जिल्लामा मिथिला नगरपालिकाले मात्र निरक्षर तथा विद्यालयबाहिर रहेका बालबालिकाको विवरण सङ्कलन गरेको छ । त्यसबाहेक कुनै पनि स्थानीय तहले विवरण सङ्कलन गरेको पाइँदैन । तथ्याङ्क अनुसार मिथिला नगरपालिकामा आठ हजार ८७२ जना निरक्षर छन् । मिथिला नगरपालिकाको शिक्षा शाखाले निरक्षरको पहिचान गर्न गरेको सर्वेक्षणबाट उक्त तथ्याङ्क देखिएको हो । – गोरखापत्र अनलाइन

प्रतिक्रिया