गौशाला / छठको मुख्य पूजा गर्नका लागि गौशाला नगरपालिकाले घाट निर्माणका लागि तदारुकता देखाएको छ । गौशाला नगरपालिकाले दुई वटा जेसिभीलाई २४ औं घण्टा घाट निर्माणका लागि खटाईएको छ ।
गौशालाका मेयर डा. दिपेन्द्र महतोको अनुसार यहाँका १२ वटै वडामा घाट निर्माणको क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले २४ औं घण्टा निःशुल्क रुपमा जेसिवी उपलब्ध गराउदै आएको छ । महापूजा छठका लागि यहाँका मुख्य जलाशयको रुपमा रहेको निगौल ठाकुर पोखरी, मरहा नदी, मल्हनियाँ पोखरी, वान्हटोल पोखरी लगायतका स्थानमा रहेको घाटलाई यसअघि नै मर्मत सम्भार गरिसकेको मेयर डा. महतोले जानकारी दिएका छन् । मटिहानी नगरपालिकामा पनि पूजास्थल (घाट)लाई वन्दोवस्तका लागि नगरपालिकाले पहल गर्दै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् । उनका अनुसार यहाँका हरेक घाटलाई आफुले निरिक्षण गर्दै आवश्यक बन्दोवस्त गर्दै आएको मेयर मण्डलले धारणा राखेका छन् ।
चन्दा उठाएर घाट सजाउदै
गौशालामा अधिकांश स्थानमा चन्दा उठाएर भएपनि छठपूजाका लागि घाट सजाउदै आएको छ । पूजाको क्रममा सन्ध्या अर्धदेखि भोरका अध्र्य दिईने समयसम्म घाटमा नै वस्नुपर्ने भएकोले घाटलाई व्यवस्थित गर्नका लागि चन्दा उठाउदै आएको गौशाला नगरपालिका १ का सिकेन्द्र साहले बताए । उनका अनुसार यहाँ ठाँउ अनुसार १ हजार रुपैयाँदेखि ६ सय रुपैयाँसम्म चन्दा उठाएर सामुहिक रुपमा घाट सजाउँदै आएको छ । रातिको समयमा व्रतालुलाई घाटमा नै जाग्राम वस्नुपर्ने भएको रातिको समयमा टेन्ट, पण्डाल, विजुली वतीको बन्दोवस्त लगायत मनोरन्जनको व्यवस्थापनका लागि सो रकम खर्चिदै आएको साहले जानकारी दिए ।
छठको मुख्य पूजाको दिन (पूजास्थल) घाटलाई व्यवस्थित गर्नुको साथै रंगिविरंगी, झिलिमिली पारि आर्कषक बनाउनमा व्रतालुले कुनै कसर वाँकी नराख्ने भएको छ । आज छठको दोस्रो दिन व्रतालुले नहाय खाय विधी गर्दैछन् ।
हिजो पहिलो दिन चोखा भएका व्रतालु आज शुद्धि भई नहाय खाय विधी गर्दैछन् । त्यस्तै पर्वको तेस्रो दिन भोली खरना, चोथौ दिन आईतबार साँझ सझिया अध्र्य र अन्तिम दिन भोरका अध्र्य दिएर छठपर्व समापन गर्ने भएको छ ।