
महोत्तरी (गौशाला) : छठपर्वमा उपवास बसेका व्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु भएको छ। शनिबार साँझ छठ अन्तर्गतको खरना विधि मनाएका व्रतालुहरूको लामो उपवास सुरु भएको हो। यसबीचमा व्रतालुहरू निर्जल उपवासमा बसेका हुन्छन्। खरना विधि मनाइएर छठिमैयाको प्रसाद ग्रहण गरेका व्रतालुले अब सोमबार बिहान मात्र व्रत तोड्ने छन्। उदाउँदो सूर्य बिहानीपखको अर्घ अर्पण नगरुन्जेलसम्म व्रतालुहरू उपवासमा रहन्छन्।
शनिवार साँझ व्रतालु घरमा निष्ठापूर्वक तयार पारिएको दूध, चामल र सख्खरबाट तयार पारिएको खिर, लड्डु, फलफूल छठिमैयालाई अर्पण गरेपछि खरना मनाइएको हो। खरना मनाउनका लागि व्रतालु आज दिनभरि नै निर्जल उपवासमा थिए। अति नै निष्ठा एवम् श्रद्धापुर्वक मनाइने छठ अन्तर्गतको मुख्य पूजा भने आइतबार साँझ हुने भएको छ। जसका लागि व्रतालुहरू तीव्र तयारीमा जुटेका छन्। एक महिना अगाडिदेखि नै व्रतको तयारीमा जुटे तापनि पर्वको मुखमा आएर अझ सामानको जोहो तथा पूजास्थल (घाट) सजाउनमा व्यस्त देखिएका छन्।
आइतबार साँझ अस्ताउँदो सुर्यलाई अध्र्य दिई मुख्य पूजा गरिँदै
आइतबार दिनभरि नै निराहर उपवासमा रहेका व्रतालु साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिई मुख्य पूजा गरिने भएको छ। घरमा अति नै निष्ठापुर्वक तयार पारिएको ठकुवा भुसुवा, मिठाइका प्रकारहरू, नौवैद्य, फलफूल सामग्री, नरिवल, केरा लगायतका पूजा सामग्रीहरू शुद्धि गरी नजिकै रहेको जलाशयमा उभेर अर्घ दिइने गरिन्छ। त्यस्तै पूजा सामग्रीका रुपमा केराको घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरू ल्याएर राखिदिने चलन समेत रहेको छ।
छठको अन्तिम दिन सोमबार बिहानै अर्घस्वरुप पुनः सन्ध्या अर्घ झै एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ देखाएर व्रतको समापन गर्ने गरिन्छ। छठका लागि भक्तजनहरूले विभिन्न मनोकांक्षा पूर्ण होस् भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ। छठ विशुद्ध रुपमा एउटा धार्मिक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन।
प्रतिक्रिया