Saturday 20th of July 2024

मनोकांक्षा पूरा गर्ने पर्व छठ

0 Shares

सुनिता महतो

एकता, समानता अनि भेदभाव रहितको पर्व हो छठ। मिथिलाञ्चलको घर–घरमा मनाइने यस पर्व धार्मिक विधिमा आधारित हुन्छ। पाँच दिनसम्म घर–घरमा मनाइने महापर्व छठ यस क्षेत्रकै सबैभन्दा कठोर अनि ठूलो पर्वका रूपमा परिचित छ। आदित्यदेव अर्थात् भगवान् सूर्यको पूजा गर्ने यस पर्वले एकता अनि सद्भावको सन्देश सम्प्रेषण गरेको हुन्छ। एकसाथ सूर्यलाई अर्घ दिइने यसपर्वले मानवलाई पूर्णतया एकताको सुत्रमा बाँधेको हुन्छ। संसारको एकमात्र यस्तो पर्व हो छठ जसमा सबैले एकसाथ सामूहिक रूपमा अस्ताउँदो अनि उदाउँदो सूर्यलाई पुज्ने गर्छन्।

मनोकांक्षा पूरा गर्ने पर्व छठ

एकसाथ सामूहिक रूपमा पुजिने यसपर्वमा विशेषता प्रकृतिलाई पुज्नू हो। प्रकृति पक्कै पनि कुनै धर्म वा समुदायमा सीमित छैन। यसले जहिले नि एकरूपता अनि समानताको अर्थ झल्किने परिभाषा दिएको हुन्छ। छठपर्व क्रमिक रूपमा विस्तारीकरण भइरहेका छन्। धार्मिक आस्था तथा छठीमाईप्रतिको विश्वासले यो पर्व अहिले हरेक सुमदाय अनि धर्म मान्ने व्यक्तिसमक्ष रूपान्तरित भइरहेका छन्। कुनै समय हिन्दू समुदायले मात्र मनाउँदै आएको पर्व क्रमिक रूपमा गैरहिन्दू समुदायको आकर्षणको केन्द्रबिन्दु बनिसकेका छन्। जसले हामीलाई सद्भाव अनि प्रकृतिप्रेमीको सन्देश दिने गर्छ।

हिन्दू धार्मिक पुराणहरूमा छठपर्वको महत्त्वलाई विशेष रूपमा उल्लेखित छ। प्राचीनकालमा देवताहरूलाई संकट पर्दा सूर्यलाई आह्वान गरेको घटना अहिले सूर्यको पूजाका रूपमा परिणत भएको छ। भनिन्छ, सूर्यलाई आह्वान गर्दा तत्कालै भक्तजनको मनोकांक्षा पूर्ण गरेका थिए। सत्ययुगमा सती अनुसूर्यया होस् या भगवान् इन्द्र, चाहे द्वापरयुगमा पाण्डव होस् वा द्रौपदी उनीहरूको पुकारलाई भगवान् सूर्यले सुनी उद्धार गरेकै कारण भक्तजनमा छठपर्वको आस्था बढ्दै छन्। भनिन्छ, छठीमाईसमक्ष अहिले पनि सच्चा मनले भाकल गर्दा भक्तजनको मनोकांक्षा पूर्ण हुन्छ। सोहीअनुरूप यो पर्व कठोर भए पनि धार्मिक आस्था अनि श्रद्धामा आधारित भई छठपर्व विस्तारीकरणतर्फ बढ्दै छ।

धार्मिक आस्थालाई निरन्तरता दिँदै हरेक वर्षको कार्तिक शुक्ल षष्ठी तिथि र चैत महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन सूर्यलाई आह्वान गरिँदै नियमनिष्ठापूर्वक छठ पर्व मनाइने गरिन्छ। एकैसाथ, एकै ठाउँमा भेदभावरहित अनि समानताको प्रतीकका रूपमा मनाउँदै आएको छठपर्वले मानव जीवनमा महाकल्याण गर्दै आएको छ। पछिल्लो समय यस पर्वप्रति अन्य समुदाय अनि धर्म मान्ने व्यक्तिहरूको पनि झुकाव बढ्दै गएको छ। कुनै समयमा हिन्दू मधेसी समुदायमा सीमित रहेको यसपर्व क्रमिक रूपमा पहाडी अनि मुस्लिमलगायतका समुदायले पनि सूर्यको अर्घ दिँदै आएको पाइन्छ। जसले एउटा धार्मिक सद्भाव बढाएको छ।

सूर्य उपासना गर्दै छठ सुरु

एकताको प्रतीक हुनुका साथै छठ समानताको प्रतीक पनि हो। यसले भेदभावरहित वातावरण बनाउँछ। अन्य समयमा कायम रहेको सामाजिक द्वन्द्व (छुवाछूत, विवाद)लाई परास्त गर्दै छठ जस्तो कठोर पर्व मनाउने क्रममा समानताको बोध दर्शाउने गर्छ। पर्व मनाउने क्रममा एकसाथ जलाशयमा उभिएर अस्ताउँदो अनि उदाउँदो सूर्यलाई अर्घ दिँदै पूजा गर्ने गरिन्छ। यो संसारको एकमात्र यस्तो पर्व हो जुन एकैसाथ, एकै समयमा अनि सामूहिक रूपमा मनाउने गरिन्छ। मिथिलाञ्चलमा मनाइने हरेक पर्वले हामीलाई कुनै न कुनै शिक्षा अनि पाठ सिकाएकै हुन्छ। सोही क्रममा आदिदेव (सूर्य। दिननाथ) अनि छठीमाईलाई पुजिने छठपर्वले सामाजिक सद्भाव कायम राख्दै एकताको पाठ सिकाएको हुन्छ। न कोही धनी, न कोही गरिब, न कोही मधेसी, न कोही पहाडी अर्थात् कुनै पनि क्षेत्र नछुट्ट्याई एकै स्थानमा एक साथ अर्घसहित हात उठाइने छठपर्वको सन्देश हामी सबैले मनन गर्नुपर्ने जरुरी देखिन्छ।

जसरी सूर्यले एकरूपले ताप अनि उज्यालो दिन्छ, हावाले एकनासको चिसोपनको अनुभव दिलाइन्छ। जसमा विभेदको कुनै अंश कायम रहँदैन। हामीले ती प्रकृतिको उपहारलाई कदापी तोडमोड गरी भेदभाव कायम गर्न सक्दैनौं। हो, यही सन्देशलाई अनुशरण गर्नुपर्ने देखिन्छ। छठीमाई (छठीमईया)ले सिकाएको पाठ अनुशरण गर्ने हो भने हाम्रो जीवन पक्कै पनि सफलताको बाटोतर्फ लम्किन्छ।

यथाशक्ति, तामझामरहित मनाइने छठपर्वमा प्रसादका रूपमा व्रतालुले आफ्नै घरबारी उब्जिएको हरियो सागसब्जी, केरा, नरिवल, उखु, फलफूल, मीठाईका प्रकार अनि घरमै निर्मित ठेकुवा र भुसवा रहेका हुन्छ। अझ नहुने (आर्थिक रूपले कमजोर)हरूले छठपर्व मनाउन भिक्षासमेत माग्ने गरेका हुन्छन्। भिक्षाबाट आर्जित रकमबाट छठीमईयाका लागि प्रसादको जोहो गरेको पाइन्छ। भनिन्छ, माताले सबैको मनोकामना पूर्ण गरेकी हुन्छिन्। जलाशय नभएको ठाउँमा व्रतालुले इनारको छेउमा खाल्डो खनी पोखरीको आकार दिई सूर्यलाई अर्घ दिएका हुन्छन्।

एकता, सद्भाव अनि भेदभाव रहितको पाठ सिकाउने छठजस्तो महापर्वको सन्देश हामी सबैले अवलम्बन गर्नु जरुरी देखिन्छ। हामी सैयौं थँुगा फूलका नेपालीलाई एकताको सुुत्रमा बाँधिने छठ पर्वले सिकाएको सन्देश लागू गरी सामाजिक आस्थालाई कायम राख्ने किसिमको माहोल निर्माण गर्ने हो कि ?

प्रतिक्रिया