Friday 14th of June 2024

अन्धकारमा धकेलिदै सन्ततिको भविष्य

0 Shares
सबिता यादब / महाेत्तरी
हो,  हाम्रो सन्तान,हाम्रो भावि पुस्ताको भविष्य अन्धकार तिर धकेलिदैछ । कोहि लागुऔषधमा,कोहि गलत संगतले विभिन्न आपराधिक कृयाकलापमा लागेर उनीहरुको भविष्य अन्धकारमय हुदै गएको छ । कोहि झुठो प्रेमजालमा फसेर आफुलाई गलत बाटोमा डोर्याउदैछन । सहि समयमा सहि मार्गनिर्देशन नपाउदा र सहि गलतबारे सिकाई नहुदा हाम्रो सप्रेको सन्तान गलत बाटोमा हिड्दैछन । हो आज हामीलाई यस विषयमा चिन्तन गर्नै पर्छ । किशोर किशोरीहरुको समग्र विकासका लागि अनिवार्य सवै विद्यालयहरुमा प्राथमिक तह देखि नै नैतिक शिक्षा लगायतका विभिन्न विषयको वारेमा शिक्षा दिनु आवश्यक छ । हालको अवस्थामा देशभरीका धेरै किशोर किशोरीहरु विभिन्न आपराधिक घटनाहरुमा संलग्न भई आफ्नो भविष्यसित आफै खेलवाड गरिरहको अवस्था छ । यस्ता किसिमका घटनाहरु घटनुको मुख्य कारण भनेको सामाजिक,पारम्परिक,व्यवहारिक ज्ञान र शिक्षाको कमी हो छोटकरीमा भन्नुपर्दा किताव वाहिरको ज्ञानको कमी हो जस्तो मेरो बुझाई छ ।
हाम्रो सन्तान विग्रदै गर्दा उनी विग्रनुमा गलत संगत,विद्यालयको शिक्षामा कमजोरी र अभिभावकको आफ्नो सन्तान प्रतिको देखरेख र मार्ग निर्देशन र सामाजिक बनोट र समाजको व्यवहारले किशोर किशोरी गलत बाटोमा गईरहेको जन बुझाई रहेको छ । तर हामीले यि सवैलाई दोषी भनिरहदा कुनै मानिस बिरामी हुदा डाक्टरहरुलाई दोष दिनु जस्तै हो ।
तर पनि यसलाई पुर्णरुपले भने नकार्न सकिन्न । यि सवै कारण सहित थप कारणहरुले समेत हाम्रो सन्तान विग्रेको हो । यसमा कतै न कतै शिक्षाको कमी कमजोरीलाई प्रमुख कारणको रुपमा लिन सकिन्छ । विद्यालयहरुमा कितावमा भएका विषय वस्तु वाहेक नैतिकता,संस्कार,असल शिक्षा,सहि र गलतको फरक छुट्याउन सक्ने शिप,अपराध,लागुऔषध,साईवर क्राईम,सेक्स लगायतका विषयमा किशोर किशोरीलाई ज्ञान दिन सकिएको भए निश्चय पनि अहिले किशोर किशोरी सचेत भई यस्तो गल्ती र अन्य यस्ता कृयाकलाप न्युनिकरण गर्न सहयोग पुग्ने थियो ।
यस विषयमा अभिभावककै सन्दर्भमा भन्नुपर्दा संसारभरिका सवै अभिभावकहरु आफ्ना संतानलाई एउटा शिक्षित असल ईमान्दार नैतिकवान चरित्रवान र सफलताको शिखरमा पुर्याउने प्रयास गरिरहन्छन र आफ्नो छोराछोरीको उज्वल भविष्यको सपना नै बुनेका हुन्छन । तर कतै न कतै चुक वा वेवास्ता अभिभावकबाटै पनि भएकै हुन्छ ।
विद्यालयबाट हाम्रो छोरा छोरी घर फर्किदा र पछि पुनः खेल्न र घुम्न भनि घरबाट निस्कदा हामीले उनीहरु कहा ? कोसंग र किन कुन उदेश्यका साथ जादैछन भनेर सोधिखोजी गर्ने गरेका छैनौ । उनीहरु घुम्ने मानिसहरु कुन प्रवृतिका छन त्यो समेत हामीले पत्तो लाउदैनौ । त्यसले पनि हाम्रो सन्तान हाम्रो हातबाट निस्किरहेको हामीलाई पत्तो नै हुदैन ।
आज गाउघरमा दश देखि पन्ध्र वर्षका वच्चाहरु पहिले त त्यसै र पछि पैसा नै हालेर तास खेल्न सुरु गर्दा समेत हाम्रो ध्यान त्यहा पुगेको हुदैन । र पछि सोहि तासको लत बस्दै तिनै हाम्रो सन्तानले जुवा खेल्न थाल्छन । र त्यही खेल्ने बेलामा नसा समेत सेवन गर्छन । गुटखा,चुरोट,मदिरा र लागुऔषध सेवनको सुरुवात यहि स्थानबाट हुन्छ ।
विद्यालय शिक्षा सकेर उच्च शिक्षाकै लागि शहरी क्याम्पसहरुमा पढ्न जादा समेत हामीले क्याम्पस र उ वस्ने ठाउमा समेत उनको बानी व्यहोरा र पठन पाठनको अवस्था वारे सोधखोज गर्दैनौ । उनीहरु विद्यालय नियमित आउने न आउने वारे अभिभावकले जानकारी लिन थालेको भए निश्चय पनि बालबालिकाहरु अभिभावकले आफुहरुलाई हेर्दैछन भनेर गलत बाटोमा लाग्ने थिएनन ।
१२ वर्ष देखि १८ वर्षसम्मको उमेरमा किशोर किशोरीहरु आफ्नो अभिभावक वाहेक साथीसंगीहरुसंग रमाईलो गर्ने र घुममिल गर्न रुचाउने भएकोले यस उमेरलाइ टिन एज भनिन्छ । र यस अवधीमा किशोर किशोरीलाई सम्झाउन अतिआवश्यक हुन्छ । उनीहरुलाई यसै उमेरमा मार्गनिर्देशन गर्न सके उनको भविष्य विग्रनु भन्दा पनि सप्रदै जान्छ ।
यता यहि उमेरमा किशोर किशोरी आकर्षणमा परेर सिमा पार नै गर्ने गरेको प्रसस्त उदाहरणहरु समेत हाम्रै समाजमा छन । यसले पनि अभिभावकहरु थप सचेत हुनु आवश्यक छ । प्रेम गर्नु गलत निश्चय पनि होईन तर त्यसकोलागि परिपक्व र कानुनले निर्धारण गरेको उमेर हदलाई समेत खयाल गर्नु आवश्यक छ । वर्षेनी विद्यालयमै पढदा पढदै किशोर किशोरीहरु प्रेम गरेको भनेर घरबाट भाग्दै र पछि केहि समय पछि दुःख भयो भनेर त्यही प्रेमलाई असफल भनेर कि त त्यही प्रेमीसंग हिंसा सहदै वा छुटिटएर बस्दा त्यो प्रेम बोझिलो हुन जान्छ । र गलत उदाहरण समेत स्थापित हुन्छ ।
आफ्नो सन्तानले के गरिरहेका छन त्यो अभिभावकलाई पत्तो नै हुदैन । सहि गलत नै नसोचेर प्रेमकै नाममा शारिरिक सम्बन्ध बनाई गर्भ बोक्ने,गर्भपतन गराउने लगायतले पछि उनैलाई समस्या हुदा त्योसंगै अभिभावक समेत पिरोलिने भएकोले आफ्नो सन्तानलाई मित्रवत व्यवहार गरि उनीहरुको मानसिक स्वास्थ्यको आँकलन गर्दै समय समयमा उनीहरुलाई सहि र गलतको काउंसलिंग अभिभावकले अनिवार्य गराउनु पर्ने हुन्छ ।
सन्तानको जिज्ञासाहरु समाधान गर्नका लागि अभिभावक,शिक्षक,आमाबुवा जिम्मेवार व्यक्ति आदीबाट समयमै आवश्यक जानकारी दिइनु आवश्यक छ ।
प्रतिक्रिया