Tuesday 14th of January 2025

रंगभूमि मैदानमा सीतारामको आकृति

0 Shares

धनुषा / विवाहपञ्चमीको अवसरमा रंगभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ।

जनकपुरधामस्थित रंगभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए।

नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरूपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए। उनले भने, ‘धार्मिकस्थलका रूपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिहरूको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौं। अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौं।’

सो विषयमा नकारात्मक टीकाटिप्पणीभन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि उनले आग्रह गरे। निर्देशक तथा कलाकार शतिश गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए। यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड बनाइएको थियो। जनकपुरधाममा निर्माण गरिएको यस आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए।

प्रतिक्रिया