Friday 14th of June 2024

खाद्यान्न बालीमा लाग्ने कीराको पहिचान र व्यवस्थापन कसरी ?

0 Shares

काठमाडौँ / धान र मकै नेपालको मुख्य खाद्यान्न बाली हो । यी बालीमा विभिन्न खाले किराले क्षति पुर्‍याउँछन् । धानमा गवारो, खैरो फड्के किरा लाग्छन् भने मकै बालीमा अमेरिकन फौजी किरा र खुम्रे किराले हानि पुर्‍याउने केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

धानको गवारो कीराको पहिचान र रोकथाम 

धान बालीमा चार प्रजातिको गवारोले आक्रमण गर्ने वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले बताएका छन् । उनका अनुसार पहेँलो गवारो, सेतो गवारो, धर्के गवारो र गुलाबी गवारो हुन् । यहाँ विशेष गरी पहेँलो गवारोको चर्चा गरिएको छ । यी गवारोले धानको नर्सरी, गाँज लाग्ने, फूल फुल्ने र बाला लाग्ने अवस्थामा क्षति पुर्‍याउने उनले बताए ।

वरिष्ठ वैज्ञानिक डा.अर्यालले वयस्क पहेँलो गवारोको शरीर पराले रङको हुने बताए । उनका अनुसार लार्भाको रङ फिक्का पहेँलो, शरीर चिल्लो र टाउको हल्का पहेँलो हुन्छ । यस्तै, यदि बाला आउने बेलासम्म दुई फूलको समूह र त्यसपछि फूलको एउटा समूह प्रति २० गाँज देखा परेमा व्यवस्थापनको विधि अपनाउनुपर्ने अर्यालले सुझाए । त्यसै गरी तीन पोथी पुतली र वा दश मृत गुवो प्रति दुई वर्ग मिटर भेटिएमा नियन्त्रण गर्नुपर्ने उनले बताए । गवारोले धानको गुवोमा प्वाल पारेर भित्र पसेर नरम भाग खाने गर्दछन् । बिरुवाको कलिलो अवस्थामा यस कीराले आक्रमण गरेमा मृत गुवो देखिन्छन् र बिरुवाको फूल फुल्ने अवस्थामा आक्रमण गरेमा भुसमात्र भएको सेतो बाला देखिने अर्यालले बताए । गाँज तथा डाँठहरुमा मसिना प्वाल देखिन्छन् । यदि क्षति भएको धानको गाँजलाई तानेमा सजिलै फुत्त बाहिर निस्कन्छ र च्यातेर हेरेमा त्यसभित्र जीवित लार्भा र प्युपा देख्न सकिने उनको भनाई छ  ।

अर्यालले नर्सरीमा र धान रोपाइँको बेलामा पुतलीले पारेका फुल नष्ट गर्नुपर्ने सुझाए । पातको टुप्पोमा पारेका फुल नष्ट गर्न पातको टुप्पो काटेर रोप्नुपर्ने उनले सुझाए । गवारो किराहरुका प्राकृतिक शत्रुहरु जस्तै बारुला समूहका किराहरू, सिकारी खपटेहरु, माइरिड र फोरिड पतेरोहरु, लामो सिङ भएका फट्याङ्ग्रा तथा माकुरा जस्ता जीवहरुको संरक्षण गर्नुसमेत उनको सुझाव छ । यी किराहरुको क्षतिबाट छुटकारा पाउन छिटो पाक्ने र गवारो अवरोधक जातका बाली लगाउनु पर्ने अर्यालले बताए । एकल परजीवी किरा ट्राइकोग्रामा ५० हजारदेखि १ लाखप्रति हेक्टरको दरले एक हप्ताको अन्तरमा ६ पटक छोडेमा यस किराको नियन्त्रण गर्न सकिने अर्यालले बताए । उनका अनुसार गवारो किराको हकमा सामान्यतया विषादीको प्रयोग गर्न आवश्यक नपरेपनि कार्टाप हाईड्रोक्लोराइड ४% जी. आर. १ के.जी. वा फिप्रोनिल ०.३% जी. आर. प्रति रोपनी १.२५ केजी प्रयोग गर्नुपर्दछ ।

धान बालीमा लाग्ने खैरो फड्के कीराको पहिचान र रोकथाम

तराईमा धानको प्रमुख शत्रुका रुपमा खैरो फड्के किरालाई चिनिने वरिष्ठ बाली संरक्षक अधिकृत राजिवदास राजभण्डारीले बताए । बढी आद्रता, खेतमा पानी, उष्ण वातावरण, पृथक रोपाइँ समय भएको क्षेत्र, अत्यधिक युरिया मलको प्रयोगले गर्दा सो किराको वृद्धिदर बढाउने वातावरण सिर्जना गर्ने राजभण्डारीले बताए ।

उनका अनुसार फड्के किराको वयस्क तथा बच्चा खैरो रङका हुन्छन् । वयस्क पोथी फड्केमा दुई किसिमका पखेटा विकसित हुन्छन् ।  बच्चा (निम्फ) वयस्क जस्तै हुन्छन् तर पखेटा पूर्ण विकसित नहुने राजभण्डारीले बताए । उनका अनुसार बत्तीको पासोबाट किराको उपस्थितिबारे केही अनुगमन गर्न सकिन्छ । यदि धान बालीमा खैरो फड्केको एक बच्चा वा वयस्क गाँजको प्रति सराभन्दा बढी भएमा र मित्रजीवको संख्या कमी भएमा व्यवस्थापनका उपायहरु तत्काल अपनाउनुपर्ने उनले सुझाए । वयस्क तथा बच्चा दुवैले पातको फेदबाट रस चुसेर क्षति गर्ने उनले बताए ।

उनका अनुसार सुरु अवस्थामा यसको आक्रमणबाट गाँज कम आउने र बोट होचो हुन्छन्  । सामान्यतया सुरुमा तल्ला पातहरु र पछि माथिल्ला पात पहेँला भएर जान्छन् । अन्तमा पूरै धानका बोटहरु चक्ला–चक्ला गरी सुकेर मर्छन्, जसलाई होपर बर्न भनिने उनले उल्लेख गरे । धेरै लागेको ठाउँमा काँचुली फेरेका सेताखोस्टा पानीमा तैरिएको देखिने राजभण्डरीले उल्लेख गरे । उनले गाउँमा फरक–फरक समयमा धानको रोपाइँ नगर्न सुझाएका छन् । रासायनिक मलको सन्तुलित मात्रामा सिफारिस दरमा प्रयोग गर्ने, बाक्लो रोपाइँ नगर्ने, धानको बेर्ना २० सेन्टीमिटरको फरकमा रोप्न सुझाएका छन् । विषादीको अनावश्यक रुपमा प्रयोग नगर्ने, खैरो फड्के सहन सक्नेजात मकवानपुर १ वा मन्सुली जात लगाउने, किराको समस्या देखिएको बेला खेतको पानी ३ देखि ४ दिनको लागि निकास गर्ने, खेतमा पानी पुनः राखी फेरि निकास गरी चार पाँच दिन खेत सुक्खा राख्ने गरी सिँचाइको व्यवस्था गर्नुपर्ने उनले बताए । यस्तै, नीमजन्य विषादी ०.३% २ देखि ३ एम.एल. वा एसीफेट ७५% एस.पी. २ ग्राम वा वुप्रोफेजिन २५% एस.सी. १.५ एम.एल. वा फिप्रोनिल ५% ई.सी. २ एम.एल. प्रति लिटर पानीमा वा इथोफेनप्रक्स १०% ई.सी. १.५ एम.एल. प्रति लिटर वा इमिडाक्लोप्रिड १७.८% एसएल १ एम एल ३ लिटर पानीमा वा डिनेटोफ्युरान २०% १ ग्राम ३ लिटर पानीमा वा थायामोक्जाम २५% डब्ल्यु.जी. १ ग्राम ५ लिटर पानीमा वा फ्लोनिकामिड ५०% डब्ल्युजी १ ग्राम ३ लिटर पानीमा मिसाइ धानको फेदमा पर्ने गरी छर्न उनले भनेका छन् । धानको बालामा दूध पसिसकेपछि विषादी छर्नुको केही अर्थ नरहने भएकाले बालामा दूध पसिसकेपछि विषादी नछर्नसमेत उल्लेख गरेका छन् ।

अमेरिकन फौजी कीराको पहिचान र रोकथाम 

अमेरिकन फौजी किरा मकै बालीमा लाग्ने रात्रिचर पुतली वर्गको किरा हो । उत्तर अमेरिकामा यो किरा गृष्म ऋतुको अन्त्य र शरद ऋतुको सुरुवात मै दक्षिण एवं उष्ण हावापानीको क्षेत्रबाट प्रवेश गरी फौजीजस्तै झुण्डमा रहने भएकाले यसलाई अमेरिकन फौजी किरा भनिएको वरिष्ठ बाली संरक्षण अधिकृत राजभण्डरीले बताए । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रको रैथाने यो किराले मकै लगायत विभिन्न ३ सय ५३ प्रजातिका बिरुवामा नोक्सान पु¥याउँने उनले उल्लेख गरे ।

राजभण्डारीका अनुसार वयष्क पुतलीहरु खरानी मिश्रित खैरो रङका हुन्छ भने भाले पुतलीको अघिल्लो पखेटाहरुको टुप्पोतिर ठुलो सेतो धब्बा हुन्छ र बिचतिर अण्डाकार हल्का खैरो रङको धब्बा देखिन्छ । वयस्क लार्भाको निधारमा दुई वटा आँखाको बिच भागमा अँग्रेजी अक्षरको उल्टो ‘वाइ’ जस्तो चिह्न, पेटको आठौँ खण्डमा वर्गाकार रुपमा रहेका ४ वटा काला थोप्ला र ढाडमा समानान्तर रुपमा रहेका तीन वटा हल्का पहेँलो रङका धर्का प्रस्ट देखिने उनले जनाए । अण्डाबाट निस्कने बित्तिकै सानो लार्भाले पातको बाहिरी सतहमा मात्र कोत्रेर सिसाको झ्याल जस्तो आकृति बनाइ क्षति पु¥याउने उल्लेख गरे । लार्भाहरू बढ्दै जाँदा पातमा पीनको टाउको जत्रो प्वाल पार्ने र पछि मकैको गुवोभित्र पस्दै खान थाल्दछन् र गुवोमा आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा देखिने उनले उल्लेख गरे । अत्यधिक आक्रमण भएको अवस्थामा पातहरु छियाछिया भएको देखिने र बिरुवा हुर्किँदै जाँदा मकैको धान चमरा, जुँगा र घोगामा समेत नोक्सान गर्न सक्ने राजभाण्डरीले बताए ।

विकर्षणको रुपमा डेस्मोडियम घाँस मकैको बिच–बिचमा र नेपियर घाँस छेउ–छाउमा लगाएर किरालाई आकर्षित गरी नेपियरमा मात्र विषादी प्रयोगद्वारा मार्न सकिने राजभण्डारीले बताए ।  निरीक्षणको क्रममा अण्डा तथा लार्भा संकलन गरी नष्ट र तिनीहरूको संख्या कम गर्न सकिन्छ । मकै रोप्नुअघि इमिडाक्लोप्रिड ४८% एफ.एस. विषादी प्रतिकिलो ४ मि.लि. का दरले बिउ उपचार गरेर रोप्दा सुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ । लार्भाका साना अवस्थामा जैविक विषादी ब्यासिलस थुरिन्जेन्सिस (बी.टी.) २ ग्राम प्रतिलिटर वा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पी.पी.एम ५ मि.लि. पानीमा मिसाएर छर्न सुझाए । लार्भाका अवस्था बढ्दै गई पात तथा गुवोमा क्षतिको लक्षण देखा परेमा स्पाइनेटोराम ११.७ एस.सी. १ मि.लि. प्रति २ लिटर पानीका दरले वा इमामेक्टिन बेन्जोएट ५% एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा क्लोरएन्ट्रानिलीप्रोल १८.५% एस.सी. १ मि.लि. प्रति २.५ लिटर पानीका दरले वा स्पाइनोस्याड ४५% एस.सी. १ मि.लि. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्न समेत राजभण्डारीले उल्लेख गरे ।

मकै बालीमा लाग्ने खुम्रे कीरा पहिचान र रोकथाम

नेपालको पहाडी जिल्लामा प्रमुख समस्याको रुपमा रहेको खुम्रे किरा माटो मुनि बसेर बाली बिरुवाको जरा खाने र खपटे बिरुवाको पातमा प्वाल पारेर क्षति गर्ने बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले बताए । उनका अनुसार यो किराको आक्रमणबाट उत्पादन ९० प्रतिशतसम्म घट्छ । खुम्रे किराको वयस्क खपटे गाढा खैरो वा कालो शरीर भएको हुन्छ भने लार्भा बोसो रङको सेतो शरीर भएको हुने उनले बताए । घिमिरेका अनुसार जङ्गल नजिकको बारीमा सो कीराको प्रकोप बढी हुने भएकाले वयस्क अवस्थाको खुम्रे किरा सल्लाको रुख, झाडी तथा घाँसे मैदानमा बस्छन् र नजिकैको मकै बालीमा यस खुम्रे किराको आक्रमण बढी हुन्छ । डाँठ तथा जरामा स्पष्ट क्षति देखिन्छ भने बोटहरू ओइलिएका देखिने बताए । पात, कोपिला तथा फूलहरूमा चपाई खाएका लक्षणसमेत देखिने घिमिरेको भनाई छ ।

लार्भाको संख्या घटाउन माटोमा चिस्यानको व्यवस्था गर्नुको साथै खेतबारीमा रहेका झारपात तथा अवशेषहरु नष्ट गरी खेतबारी सफा राख्न घिमिरेले सुझाए । प्राकृतिक शत्रु चराबाट लार्भाको संख्या घटाउन गर्मीको समयमा गहिरो खनजोत गर्ने र हप्ता दिनसम्म खाली राख्ने बताए । यस्तै, पाकेको गोबर मल वा कम्पोस्ट मलमात्र प्रयोग गर्ने, जमिन तयारीको समयमा केतुकीका मसिना टुक्रा १० केजीको दरले वा चिउरीको पीना २० केजीको दरले प्रति रोपनी प्रयोग गर्ने, मेटारिजियम एनिसोप्ली जैविक विषादी २ ग्राम प्रति के.जी. राम्रोसँग पाकेको कम्पोस्ट मलमा मिसाएर जग्गा तयारीको बेला वा मकै छर्ने समयमा लाइनमा छर्ने लगायत उनको सुझाव छ । त्यति गरेमा नियन्त्रण नभएका स्टेनेरिया नेमाटोडको प्रयोग पनि गर्न सकिने उनले सुझाए । यस्तै, यस किराको प्रकोप भएको स्थानहरुमा क्लोरोपाइरिफस १०% जी विषादी १ के.जी. प्रति रोपनीका दरले मकै छर्नुभन्दा अघि वा क्लोरोपाईरिफस २०% ईसी २ मि.लि. प्रति लिटर पानीमा मिसाइ बिरुवा रोपेको वरिपरि माटो भिज्ने गरी छर्न र क्लोरएन्ट्रानिलिप्रोल ०.४ % गेडा २५० ग्राम प्रति रोपनीका दरले जग्गा तयारीमा छर्न उनले सल्लाह दिए ।

प्रतिक्रिया