Thursday 20th of June 2024

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, कुट्ने शिक्षक प्रहरी हिरासतमा

0 Shares

वीरगन्जको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिकाको वडा नंबर १९ मा रहेको गोल्डेन गल्ब बोर्डिङ्ग स्कुलका शिक्षक शशी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो

शिक्षक यादवको कुटपिटबाट गोल्डेन गल्ब स्कुलको कक्षा ३ मा अध्ययनरत विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको आँखा र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएको भन्दै शिक्षक यादवले पाइपले कुटपिट गरेको घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएको भन्दै चौथो घण्टीमा पाइपले जोड जोडले हान्नु भयो ।”

शिक्षक यादवको कुटपिटबाट दिउँसो १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएको घाइते विद्यार्थीका काका मुकेश साहले बताए । त्यसपछि घाइते विद्यार्थीको उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजुरी दिने बताए ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीको नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक (असई) रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पोष्ट बिन्दवासिनीको नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेको असई गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया