Wednesday 29th of May 2024

मिथिलाको नव वर्ष जूडशीतल

0 Shares

प्रा. ध्रुव राय

विक्रमसंवत् विश्वभरि नै हिन्दु वा सनातन धर्मावलम्बी श्रद्धा र उमंगसाथ मनाउँछन्। चाहे शकसंवत् होस् वा ईश्वीसंवत् होस्, विक्रमसंवत् सबैभन्दा वैज्ञानिक मानिन्छ।

विक्रमसंवत् पूर्वीय जगत्मा पहिले शकसंवत् प्रचलित थियो। शक राजाहरूद्वारा आमजनमाथि शोषण–दमन बढ्दै गएपछि राजा चन्द्र गुप्त विक्रमादित्यले शकहरूलाई परास्त गरे। त्यसपछि उनलाई शकारी (शकका दुश्मन) भन्न थालियो। उनै विक्रमादित्य राजाकै नाममा विक्रमसंवत् प्रचलित भयो। यो शकसंवत्भन्दा पछिल्लो र ईश्वी संवत्भन्दा झन्डै ५८ वर्षअगाडि प्रचलित देखिन्छ।

हिन्दु संस्कृतिमा यो सम्पूर्ण देवकर्म, पितृकर्म र मांगलिक कर्मको मूल हो र वैज्ञानिक पनि हो। यो त विक्रमसंवत्को ऐतिहासिक रेखांकन मात्र हो। वास्तविकता त के रहेको छ भने यो सनातन हो। यसको प्रारम्भ वैशाख मासको मेष संक्रान्तिबाट हुन्छ। ज्योतिषशास्त्रका अनुसार सूर्यका १२ वटा राशिहरूको चक्र मेष राशिबाट नै थालिन्छ। त्यसैले यसलाई मेषार्क भनिन्छ। अर्थात्, मेष भनेको सूर्यको एउटा राशि र अर्क भनेको सूर्य हो। यसरी वैशाखको मेष संक्रान्ति राशि चक्रको उठान बिन्दु भएकाले पनि यसै वैशाख १ गतेदेखि नयाँ विक्रमसंवत् प्रारम्भ हुन्छ।

जूडशीतल नेपाललगायत अन्य भूभागमा वैशाख १ गतेदेखि नव वर्षको थालनी हुन्छ भने अति प्राचीन एवं समृद्ध संस्कृतिको धनी मिथिला क्षेत्रमा वैशाख २ गतेदेखि नववर्ष प्रारम्भ हुन्छ। यसैलाई ‘जूडशीतल’ नामकरण गरिएको पाइन्छ। यो दुई दिने पर्व हो। वैशाख १ गतेका दिनलाई ‘सतुआनी वा सतुआइन’ भनिन्छ किनभने उक्त दिन मिथिलावासी हिउँदेवालीको रूपमा भिœयाइएको नयाँ अन्न चनाको सत्तु खान्छन्। भोलिपल्ट २ गतेका दिन जूडशीतल मनाइन्छ।

यस लोकपर्वले जनमानसलाई अनेकानेक शुभसन्देश दिन्छ। विशेषगरी आजको खस्कँदो पारिवारिक परिवेशमा यसले आफ्ना पितृहरूलाई श्रद्धासाथ स्मरण गरी उनीहरूबाट आशीर्वाद लिने प्रेरणा दिन्छ। आफ्ना पितृहरूको स्वर्गको कामना गरी दिवंगत आत्मालाई तृप्ति होस् भनेर माटो वा धातुको घट (घैंटो) मा जल परिपूर्ण गरी १ गतेका दिन त्यस घटलाई कुलदेवी वा देवतासमक्ष राखिन्छ। त्यस जलपात्रलाई ‘वारिपूर्ण घट’ भनिन्छ। ‘वारि’ भनेको जल हो। भोलिपल्ट त्यसमा राखिएको जललाई श्रेष्ठजनबाट सन्तान वा प्रियजनको शिरमा छ्यापिन्छ।

‘जूडशीतल’ मैथिली भाषाको शब्द हो। यसमा ‘जूड’ भनेको पानीद्वारा तृप्त (सन्तुष्ट) गरी शीतलता प्रदान गर्नु हो। यस पर्वमा जनमानसलाई मात्र होइन, बरु पशुपक्षी र वनस्पतिलाई समेत जलार्पण गरिन्छ। यसरी जैविक प्रणाली (इकोसिस्टम) र वातावरणसित पनि जूडशीलतको सम्बन्ध रहेको प्रतीत हुन्छ। यतिमात्र होइन, पहिलेको समयमा जलको मुख्य स्रोत रहेको कुवाको पनि जीर्णोद्धार गरिन्छ।

जूडशीतल पर्वको एउटा विशेषता शरीरमा हिलो दल्नु पनि हो। आयुर्वेदमा पनि ‘पंकस्नान’ (हिलोमा स्नान) को चर्चा छ। गर्मी याममा शरीरमा शुद्ध हिलो लेपन गर्दा चर्मरोग निको हुने वर्णन छ। मिथिला क्षेत्रका गाउँघरका सारा जनसमुदाय सबै किसिमका भेदभाव बिर्सी एकआपसमा हिलो–पानी छ्याप्ने गर्छन्। यसमा चुलालाई विश्राम होस् भनेर एक दिन पहिले पकाइएका बासी परिकारहरू खाने चलन छ। आजको सन्दर्भमा मिथिलाको गरिमा र पहिचानलाई बढाउने यस पर्वलाई मनाउने परम्परा अक्षुष्ण राख्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया