Monday 29th of April 2024

‘सडक चौडा पार्न ठुलो चुनौती छ’

0 Shares

सप्तरी / जिल्लाका १८ स्थानीय तहमध्ये एक शम्भुनाथ नगरपालिका पूर्वपश्चिम लोकमार्ग र हुलाकी सडकको सुविधा प्राप्त छ । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उपप्रमुखमा निर्वाचित अनिताकुमारी चौधरी कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । कावा प्रमुख चौधरीले गर्नुभएका काम र आगामी योजनाबारे गोरखापत्रका  समाचारदाता देवरामप्रसाद यादवले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

नगरपालिकाको कार्यवाहक प्रमुख भएर मुख्य के के काम गर्नुभयो ?

निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धता अनुसार काम गरिरहेका छौँ । नगरपालिकाभित्र अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेको थिएँ । सोही अनुसार यस वर्ष नै १५ शøयाको अस्पताल निर्माणका लागि टेन्डर आह्वान भएको छ । मुख्य सडक र अन्य भित्री सडकमा पनि बत्ती जडानलगायतको कामलाई अगाडि बढाएका छौँ ।

स्वास्थ्य सेवाका लागि के के काम भएको छ ?

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । वडा नं. ५ मोहनपुर, वडा नं. ८ भङ्गाहा र वडा नं. १० रामपुरजमुवामा बर्थिङ सेन्टर स्थापना गरेर प्रसूति सेवा दिइरहेको छ । नगरपालिकास्तरीय अस्पताल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ ।

यहाँका अधिकांश बासिन्दा कृषिमा निर्भर छन् । कृषि विकासका लागि के गर्दै हुनुहुन्छ ?

यहाँका कृषकले सिँचाइको अभाव झेलिरहेका छन् । आकासे वर्षा कम हुँदा अन्न उब्जनी हुँदैन । सिँचाइको समस्या समाधानका लागि खेत खेतमा विद्युत् पोल र ट्रान्सफर्मर जडानको काम भइरहेको छ । किसानलाई सिँचाइका लागि सहज र सुलभ ढङ्गले सेवा दिन हामी बृहत् छलफलमा छौँ । निःशुल्क विद्युत् उपलब्ध गराउने वा साझेदारीमा विद्युत् प्रदान गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ । नगरपालिकाको क्षमता अनुसार किसानलाई बढीभन्दा बढी सेवा दिनमा हामी चाहन्छौँ ।

हरेक वर्ष खेतीको समयमा मल अभाव हुने गरेको छ । मलखादको समस्या समाधान गर्न नगरपालिकाले के कस्ता पहल गरेको छ ?

मलखाद त देशभर नै अभाव छ । मलाई लाग्छ राज्यका लागि यो ठुलो चुनौती हो । नगरपालिकाले सरकारी अनुदानको मल ल्याउने र बिव्रmीवितरण गर्न सक्ने अवस्था अहिले छैन । यो पालिकालाई कृषि पेसामा आत्मनिर्भर बनाउन कृषकलाई बढी बजेट विनियोजन गर्ने गरेको हो । यहाँका किसानले जुनसुकै बाली लगाउँदा रासायनिक मलको अभाव आउने दिनमा हटेर जान्छ ।

विद्यालय शिक्षा सुधारका लागि के गरिरहनुभएको छ ?

पहिले जस्तो शिक्षकमा अनुशासनहीनता र विद्यालय नै नआई तलब खाने परिपाटीमा कमी आएको छ । अहिले शिक्षक विद्यालयमा नियमित आउने गरेका छन् । म आफैँ अनुगमनमा निस्किन्छु । पहिले त दिवा खाजामा पनि चरम भ्रष्टाचार हुँदो रहेछ । अहिले ती सबै विकृति रोकिएका छन् । नगरपालिकाभित्रका २५ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन्छ । शिक्षकको अभाव त देशव्यापी समस्या नै हो । यहाँ पनि छ नै तर अब हामी अहिलेसम्म १२ जना स्वयंसेवक शिक्षक नियुक्त गरेका छौँ । त्यसपछि शिक्षकको अभाव धेरै हदसम्म समाधान भएको छ ।

नगरपालिकाका जीर्ण र साँघुरा सडक सुधारका लागि के गर्दै हुनुहुन्छ ?

हामी निर्वाचित भएर आएपछि सङ्घ, प्रदेश र पालिकाको समेत बजेटबाट गत वर्ष तीन किलोमिटरभन्दा बढी सडक ढलान गरिसकेका छौँ । सडक साँघुरो हुने, कुनै मापदण्ड नहुने र सडकमै वस्तुभाउ बाँध्ने, घाँस, दाउरा, गोबर र अन्य सरसामग्री थुपार्ने मधेशको चलन नै हो । सडक चौडा पार्न ठुलो चुनौती छ तर पनि हामी सडक चौडा पार्ने कामको सुरुवात गरेका छौँ । चेतनाको कमीले गर्दा सडकमा फोहोर गर्ने गरेको छ  । चेतना अभिवृद्धि हुँदै गएपछि यी समस्या हट््ने छन् ।

सामाजिक न्यायतर्फ के काम भइरहेको छ ?

सामाजिक न्यायका लागि उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समिति प्रभावकारी देखिएको छ । न्यायिक समितिमा आइपुगेका मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउन सफल रहेको छ । सामाजिक माहोल बनाउन शान्तिपूर्ण रूपमा अघि बढ्दा नै भौतिक विकास सार्थक रूपमा अघि बढ्ने भएकाले यस क्षेत्रमा पनि अपेक्षाकृत राम्रै काम भएको छ । भौतिक विकास र सामाजिक न्याय भए मात्रै नमुना नगरपालिका बन्ने हाम्रो साझा धारणा रहेको छ ।

कर्मचारी र जनप्रतिनिधिबिच समन्वय कस्तो छ ?

धेरै जसो स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबिच खटपटका कुराहरू बेलाबखत सुन्छु । मैले नगरपालिकाको कामकाज सञ्चालन गरिरहँदा अहिलेसम्म त्यस्तो सम्झिनैपर्ने ठुला मनमुटाव र विवाद हामीबिच कहिल्यै आएको छैन । हालसम्म कर्मचारी र हामी जनप्रतिनिधि मिलेर काम गरिरहेका छौँ ।

स्थानीय सरकारको प्रमुख भएर काम गर्दा कस्ता कस्ता चुनौती सामना गर्नु परेको छ ?

मुख्य चुनौती भनेको राजनीतिक तवरबाट नागरिकलाई भ्रमित पार्ने काम भइरहेको हुन्छ । अहिले त राजनीतिलाई व्यापार बनाउने प्रवृत्ति बढेर गएको छ । नागरिकलाई भ्रमित पारेर गलत सन्देश प्रवाह गर्न खोजिन्छ । नेताले निजी स्वार्थका लागि अनावश्यक घुसपैठ गरिदिँदा काम गर्न अप्ठ्यारो पर्छ । मधेशमा काम गर्नेलाई राजनीतिक हिसाबले हातखुट्टा बाँधेर कामै गर्न नदिने र अरूलाई असफल पारेर आफू सत्तामा पुग्ने प्रपञ्च पनि हुन्छ । मैले यी सबै कुराको पर्बाह नगरी काम गरिरहेको छु । आमनागरिकले साथ दिएकै छन् । मेरो कार्यकालमा नगरपालिकालाई जिल्लाको एक नमुना नगरपालिकाका रूपमा विकास गरेरै छाड्छु ।

पाँच वर्षपछि कस्तो नगरको परिकल्पना गर्नुभएको छ ?

पाँच वर्षभित्र सबै योजना पूरा गर्ने हो भने नगरका अधिकांश ग्रामीण बाटोदेखि मुख्य सडक पक्की हुने छ । त्यसैगरी खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य काम पूरा गर्ने छौँ । नगरभित्र नगर अस्पताल सञ्चालनमा ल्याउने छौँ । नगरका विभिन्न भागमा रहेका शाखा सडकलाई लोकमार्गसँग जोड्ने काम गर्ने छौँ । वैदेशिक रोजगारीमा जाने युवालाई बिनासिप रोजगारीमा नजाने वातावरण बनाउँछौँ । युवा दक्ष भएर आफ्नै ठाउँमा रोजगारी गर्नलायक र लागुऔषधबाट मुक्त, योग्य नागरिक बनाएर नगरको विकासमा जोड्ने प्रयासमा छौँ । – गोरखापत्र अनलाइन

प्रतिक्रिया