Wednesday 29th of May 2024

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

0 Shares

धीरेन्द्रप्रसाद साह
जनकपुर /
मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका(लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानअनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी सम्हाल्नु भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा संजयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, उर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय रहनु भएको छ ।

यसअघि २०८० चैत १० गते १४ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद रहेको थियो भने अहिले १३ सदस्यीय रहेको छ । लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक भएपछि सो पार्टीबाट मन्त्री बन्नु भएका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद पुनर्गठन गरिएको आँकलन गरिएको छ ।

प्रतिक्रिया